वीरगन्ज महानगरको बजेट साढे ४ अर्ब
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि ४ अर्ब ४८ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ। सोमबारदेखि सुरु पाँचौं नगरसभा अधिवेशनमा महानगरपालिकाका मेयर विजयकुमार सरावगीले ४ अर्ब ४८ करोड १३ लाख ४८ हजार ८ सय ७९ रुपैयाँ बजेट प्रस्तुत गरेका हुन्।
बजेटमा चालुतर्फ १ अर्ब ३८ करोड २४ लाख ३७ हजार, पुँजीगततर्फ ३ अर्ब ३ करोड ८९ लाख ११ हजार र वित्तीय व्यवस्थातर्फ ६ करोड रकम खर्च हुने अनुमान गरेको छ।
यसैगरी आगामी आर्थिक वर्षमा कुल खर्चमध्ये सबैभन्दा बढी पूर्वाधार विकास क्षेत्रमा २ अर्व ९४ करोड २८ लाख ५८ हजार खर्च हुने अनुमान रहेको महानगरपालिकाले जनाएको छ। यस्तै आर्थिक विकास क्षेत्रमा २ करोड ३४ लाख ७० हजार, सामाजिक विकास क्षेत्रमा ७१ करोड ८२ लाख ७२ हजार र कार्यालय सञ्चलनतर्फ ७६ करोड ३४ लाख ६८ हजार खर्च हुने अनुमान छ।
महानगरपालिकाले आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनामा ग्रामीण सहरी विकास परियोजना तथा मझौला सहर एकीकृत सहरी वातवरणीय सुधार आयोजनाका लागि २ अर्ब २८ करोड ४२ लाख २१ हजार, वडा स्तरीय योजनाका लागि १९ करोड ७० लाख, समपूरक कोषमा २३ करोड १२ लाख ८ हजार र लक्षित कार्यक्रमका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ।
यसैगरी तराई–मधेस समृद्घि कार्यक्रममा १ करोड ४० लाख, सडक बोर्ड कार्यक्रममा १ करोड ५० लाख, बहुक्षेत्रीय पोषण कार्यक्रममा २० लाख, सामाजिका सुरक्षा भत्तामा २० करोड, उज्यालो वीरगञ्ज कार्यक्रमका लागि ३ करोड, शैक्षिक विकासतर्फ ५२ करोड ४१ लाख ६४ हजार र स्वास्थ्यतर्फ १० करोड ७५ लाख २७ हजार र जनसहभागितामा आधारित कार्यक्रमतर्फ ४ करोडको बजेट व्यवस्था मिलाइएको नगर प्रमुख सरावगीले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।
महानगरपालिकाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको अनुमानित खर्चको स्रोत मध्ये संघीय सरकारको वित्तीय समानीकरणबाट ४४ करोड १४ लाख, राजस्व बाँडफाँटबाट . २६ करोड ७४ लाख र सशर्त अनुदानबाट ६१ करोड २३ लाख प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरणमा. १ करोड १५ लाख ७३ हजार, सशर्त अनुदानतर्फ ३ करोड, राजस्व बाँडफाँटतर्फ सवारी साधनबाट ३ करोड १४ लाख ४ हजार प्राप्त हुने अनुमान गरिएको छ।
आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनका लागि वीरगन्ज महानगरपालिकाले सडक पूर्वाधारहरुको विकास तथा स्तरोन्नती, आधारभूत तथा माध्यमिक शिक्षा र सोको गुणस्तर सुधार, आधारभूत स्वास्थ्य, खोप र पोषण, स्वच्छ खानेपानी, ढल तथा सरसफाई, कृषि, सिंचाई, पशुपालन र पर्यटन, युवा तथा खेलकुदको विकास, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सुशासन र सेवा प्रवाह, अधुरा आयोजनाहरुको कार्यान्वयन, उज्यालो वीरगंज अभियान, हरित वीरगंज अभियान, प्लाष्टिक तथा ध्वनी प्रदुषण मुक्त वीरगंजलाई प्राथामिकता दिएको छ।
प्रतिक्रिया दिनुहोस !