सिन्धुलीको बुकामा भेटियो 'नक्कली बम'
सिन्धुली : विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित बुका पुलमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। प्रेसर कुकर बमको आशंका गरिएको भएपनि नक्कली प्रेसर कुकर बम भएको खुलेको छ।
सिन्धुलीको ठूलीटारस्थित बर्दबहादुर गणबाट गएको नेपाली सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गर्दा नक्कली प्रेसर कुकुर बम भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए।
विपी राजमार्ग अन्तर्गत सिन्धुली–बर्दीबास सडक खण्डमा पर्ने बुका पुलमा मंगलबार बिहानै रातो कपडामा बेरेर प्रेसर कुकर राखिएको थियो। तर, डिस्पोजका क्रममा पुरानो कुकर भित्र रातोमाटो र बालुवा हालिएको पाइएको सिंहले जनाए।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले हत्या गरेको भन्दै मंगलबार नेपाल बन्दको आह्वान गरेको छ।
बन्दको सिन्धुलीमा पनि प्रभाव देखिएको छ। वीपी राजमार्गमा सामान्य संख्यामा सवारी साधन संचालनमा आएका छन्। सदरमुकामका पसल सदा झैँ खुलेका छन्।