खुलेन तातोपानी नाका

खुलेन तातोपानी नाका

तातोपानी : नेपाल–चीन जोड्ने पहिलो व्यावसायिक नाका तातोपानी बन्द भएको चार महिनापछि औपचारिक रूपमा सञ्चालनमा आएको घोषणा गरिए पनि व्यवहारमा भने सञ्चालनमा आउन सकेको छैन।

दुवै देशका वाणिज्यमन्त्रीको उपस्थितिमा गत जेठ १५ गते सीमास्थित मितेरी पुलमा रिवन काटेर नाका सञ्चालनको घोषणा भए पनि व्यावहारिक रूपमा नाकाबाट व्यापार सञ्चालन हुन नसकेको हो। कार्यक्रमका दिन चीनबाट ल्याइएका ऊन नेपाल भित्त्याउने र दुई कन्टेनर हस्तकलाका सामान चीन पठाउने बाहेक थप कारोबार नभएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। लार्चामा अत्याधुनिक सुक्खा बन्दरगाह र मितेरी पुल तथा सीमा जोड्ने सडकको निर्माणपछि औपचारिक रूपमा नाका सञ्चालनको घोषणा गरिएको थियो।

नाका सञ्चालनको घोषणासँगै हौसिएका स्थानीय एक महिना बितिसक्दा पनि व्यावसायिक कारोबार सुरु नहुँदा फेरि निराश बनेका छन्। भव्य कार्यक्रम गरेर नाका सञ्चालनको घोषणा गरिए पनि व्यावसायिक कारोबार सञ्चालनमा नआउँदा अझै नाकाबाट व्यापार हुनेमा शंका उत्पन्न गराएको स्थानीय जाङ्बु शेर्पा बताउँछन्।

बन्दरगाहमा केही प्राविधिक काम मिलाउन बाँकी रहेको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले बताए। बिहीबार मात्र चिनियाँ ठेकेदारले नयाँ भवनको चाबी दिएकाले प्राविधिक काममा केही ढिला भएको हो। बस्नेतका अनुसार अबको तीन÷चार दिनमै भन्सारका सबै प्रणाली सुचारु हुनेछन्। ‘चीनबाट सामान आयो भने हाम्रो भन्सारमा कुनै समस्या छैन तर, उताबाट सामान नै नआई हामीले के काम गर्नु’, बस्नेतले भने, ‘हामी केही दिनबाटै कारोबार सञ्चालन गर्न सक्ने तयारीमा छौं।’

व्यवसायीहरू तातोपानी नाकाबाट सामान ल्याउन तयार भए पनि चीनतर्फ सामान स्टोर कहाँ गर्ने भन्ने यकीन नभएकाले अलमलमा परेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठ बताउँछन्। ‘खासा प्रवेश पास र स्टोरको व्यवस्था हुने हो भने तत्काल सामान अर्डर गर्न व्यवसायी तयार छन्’, अध्यक्ष श्रेष्ठले भने, ‘भन्सारको बाँकी काम पूरा गर्न र चिनियाँ पक्षसँग सामान स्टोर र अन्य सहजीकरणको काम सरकारी निकायले गरिहाल्नु पर्छ।’ बिना कार्ययोजना हतारमा औपचारिक घोषणा गरेर कारोबार सञ्चालनको वातावरण नबनाइँदा व्यवसायी अन्योलमा पारेको श्रेष्ठको भनाइ छ।

चीन सरकारको सहयोगमा २० करोड रुपैयाँ (८.६२ करोड युआन) को लागतमा सुविधा सम्पन्न सुक्खा बन्दरगाहको निर्माण पनि हालै सम्पन्न भएको हो। भूकम्पपछि बन्दरगाहसँगै ६ किलोमिटर सडक र मितेरी पुलको चीन सरकारले पुनर्निर्माण गरेको थियो। बाह्रबिसेदेखि लार्चासम्मको सडक डिभिजन कार्यालय दोलखाले मर्मत गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.