करको दायरा हटाउन माग गर्दै सिरहाका कानुन व्यवसायीले थाले आन्दोलन
![करको दायरा हटाउन माग गर्दै सिरहाका कानुन व्यवसायीले थाले आन्दोलन](https://annapurnapost.prixacdn.net/media/albums/Siraha_20190610114417_oS7WsDt943.jpg)
सिरहा : आफूहरुलाई अनिवार्य मुल्य अभिवृद्धि करको दायरामा ल्याएको विरोधमा सिरहा जिल्ला अदालतमा कार्यरत कानुन व्यवसायीहरुले आन्दोलन गरेका छन् ।
करको दायराको व्यवस्था हटाउनुपर्ने भन्दै उनीहरुले शुक्रबारदेखि तीन दिनसम्म अदालतको बेञ्च बहिष्कार गरेका छन् । नेपाल बार एसोसिएशन जिल्ला अदालत बार एकाइ सिरहाको बिहीबार साँझ बसेको बैठकमा आर्थिक वर्ष २०७६÷७७ देखि कानुनी परामर्श सेवालाई अनिवार्य मुल्य अभिभृद्धि कर (भ्याट) को दायरामा राख्ने निर्णय भएको थियो ।
तर यहाँका कानुन व्यवसायीले यस्तो व्यवस्थालाई खारेज गर्नुपर्ने माग गर्दै तीन दिनका लागि अदालतको बेञ्च बहिष्कार गर्ने चेतावनी दिएका हुन् । सिरहा बारका अध्यक्ष अधिवक्ता रामस्वरुप चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कानुनी सेवालाई सरल, सहज र सुलभ बनाउनुपर्ने वर्तमान अवस्थामा कानुनी परामर्श सेवालाई अनिवार्य मुल्य अभिबृद्धि करको दायरामा राख्दा यसले जटिलता र महंगी बढाउने उल्लेख गर्दै उक्त व्यवस्थालाई खारेज गर्न दवावस्वरुप सिरहा जिल्ला अदालतको बेञ्च बहिष्कार गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)