चार दिनदेखि भन्सार ठप्प

चार दिनदेखि भन्सार ठप्प

विराटनगर : विराटनगर भन्सार नाका चार दिनदेखि ठप्प रहेको छ। भारत प्रवेश गर्ने जोगवनी नाका हुँदै हुने आयात निर्यात प्रभावित बन्ने गरी नाका ठप्प भएको हो।

मालबाहक सवारी साधनलाई आवतजावतमै रोक लगाउँदै मंगलबारदेखि जोगवनी नाकामा हड्ताल गरेपछि त्यसको प्रभाव विराटनगर भन्सार कार्यालयको राजस्व संकलनमा परेको छ। बिहीबार साँझसम्म पनि नाका सुचारु हुन सकेको छैन। नेपाल प्रवेश गर्न नपाउँदा सयौं मालबाहक सवारी साधन भारतीय भूमिमै रोकिएका छन्। बजारको सडक स्तरोन्नति गर्नु पर्ने माग राख्दै जोगवनीका बासिन्दा हड्तालमा उत्रिएपछि असर नाकामा परेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मनिराम पौडेलले बताए।

जोगवनीवासीले यातायात र बजार बन्द गराउँदै मालवाहक सवारी साधन पनि चल्न दिएनन्। जोगवनी बजार पूर्ण रूपमा बन्द हुँदा किनमेलका लागि पुगेका नेपाली ग्राहक रित्तो हात घर फर्कन बाध्य छन्।

भारतको मिरगञ्जदेखि जोगवनीसम्मको ४ किलोमिटर सडक भत्किएर दोहोरो सवारी साधन आवतजावत गर्न नसक्ने बनेको छ। साँघुरो सडक भत्किएर सवारी साधन नै गुड्न नसक्ने भएको भन्दै जोगवनीका स्थानीय आन्दोलित बनेपछि समस्या उत्पन्न भएको जानकारी पौडेलले दिए। उनका अनुसार बिहीबार साँझ स्थानीय प्रशासन र आन्दोलनमा उत्रिएका जोगवनीवासीबीच सडक मर्मत सम्भार गर्ने सहमति भएको जानकारी आएको छ। ‘सडक फराकिलो बनाउने र सडकको स्तरोन्नति गर्ने सहमति भएको बुझिएको छ,’ उनले भने, ‘सडक पूर्ण रूपमा नबनेसम्म एक पटकमा २० वटा मालबाहक सवारी साधन मात्रै नेपाल पठाउने अर्को सहमति पनि भएछ।’

भारतीय एकीकृत भन्सार जाँच चौकीबाट विराटनगर भन्सार कार्यालयका लागि छुटेर विराटनगर भन्सारको यार्डमा आइपुगेपछि मात्रै अर्को लटका मालबाहक सवारी साधन पठाइने जनाइएको छ। पौडेलले शुक्रबारबाट भन्सार नाका सञ्चालनमा सहज हुने अपेक्षा गरिएको बताए।

तीन दिनसम्म नाका ठप्प हुँदा विराटनगर भन्सार कार्यालयको राजस्व संकलनमा ठूलै प्रभाव परेको छ। यो नाका हुँदै भारत तथा तेस्रो मुलुकबाट दैनिक तीन सयभन्दा बढी मालबाहक सवारी साधन नेपाल भित्रने गरेका छन्। भन्सारका सूचना अधिकारी पौडेलका अनुसार भन्सारलाई तीन दिनमा ४५ करोड रुपैयाँ बढी घाटा लागेको छ। ‘दैनिक १५ करोड रूपैयाँ भन्दा बढी राजश्व संकलन हुँदै आएको थियो,’ उनले भने, ‘तीन दिन बन्द हुँदा ४५ करोड बढी नोक्सान भएको छ।’ भन्सार नाकामा हुने बन्द र हड्तालले ठूलै रकम राजस्व गुमाउनु पर्ने अवस्था आउने पौडेलले बताए।

विषादी जाँचपासले रोकिए तरकारी र फलफूल जीवनाशक विषादी जाँचपासका कारण तरकारी र फलफूल बोकेका सवारी साधन भन्सार नाकामै रोकिएको छन्।

विषादी परीक्षण हुन नसक्दा भारत तथा तेस्रो मुलुकबाट आएका तरकारी र फलफूल नेपाल भित्राउन नसकिएको हो। विराटनगरमा विषादी परीक्षण गर्ने निकाय नहुँदा आयातकर्ताले परीक्षण गराउन पाएका छैनन्। विषादी परीक्षण नगरिकन भित्राउन नपाइने व्यवस्था गरिएको भए पनि परीक्षण केन्द्र भने विराटनगरमा छैन।

विराटनगर भन्सारका प्रवक्ता पौडेलले परीक्षणपछि तरकारी र फलफूल उपभोग गर्न योग्य रहेको पाइएपछि मात्रै आयात गर्न मिल्ने बताए। उनका अनुसार विषादी परीक्षण गरेर ल्याएको प्रमाण पेश गरेपछि मात्रै भन्सारबाट तरकारी र फलफूल बोकेका साधनको जाँचपास हुन्छ। ‘नयाँ व्यवस्था लागू भएपछि एक साता अघिबाटै आयात पूर्ण रूपमा ठप्प छ’, पौडेलले भने, ‘तर यसको परीक्षण गर्ने व्यवस्था विराटनगरमा मिलाइएको छैन।’

परीक्षणका लागि झापाको बिर्तामोडमा रहेको विषादी मापन प्रयोगशालामा आयातकर्ताले पठाउने गरेको र त्यहाँबाट प्रक्रिया पूरा भएर आउँदा समय लागेको उनको भनाइ छ। आयात प्रतिस्थापन र नेपाली उत्पादन बढाउने उद्देश्यले सरकारले तरकारी तथा फलफूल आयातमा कडाइ गरेको जनाइएको छ। बजेट भाषणमार्फत नै नेपाल भित्रिने तरकारी तथा फलफूल परीक्षण गरी खानयोग्य रहेको प्रतिवेदन आएपछिमात्र आयात गर्ने व्यवस्था सरकारले गरेको छ।

भन्सार नाकामा रोकिएका फलफूल र तरकारीको नमूना परीक्षण हुन नसकेपछि एवं प्रक्रिया झन्झटिलो बनेपछि व्यापारी भने निराश बनेका छन्। विराटनगरमा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयका अरुण घिमिरेले विषादी परीक्षण आफ्नो क्षेत्रभित्र नपर्ने र यस सम्बन्धमा माथिबाट कुनै निर्देशन पनि नआएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.