कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
विराटनगर : विराटनगर महानगरपालिका ४ बरगाछीमा शनिबार राति बा २० च ७४० नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
को ३५ प ५६३४ नम्बरको मोटरसाइकलका चालक विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय शंकरकुमार मिश्रको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। मिश्र विराटनगरका टेम्पो चालक हुन्।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाइकललाई एउटै दिशाबाट आउँदै गरेको कारले राति १०:४५ बजे ठक्कर दिएको थियो। ठक्कर दिएपछि चालकसहितको मोटरसाइकल उछिट्टिएर बरगाछीको बीच सडकमा रहेको आइल्याण्डमा बजारिएको थियो।
दुर्घटनामा गम्भीर घाइते मिश्रको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार रहेको कारलाई प्रहरीले विराटनगर–११ स्थित किरण लामाको घरबाट राति नियन्त्रणमा लिएको थियो।
प्रहरीले दुर्घटना भएका बेला कार लामाले नै हाँकेका थिए कि अरु नै चालक थिए भन्ने बारेमा खुलिनसकेको बताएको छ। लामा फरार रहेका कारण खोजी तीव्र पारिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !