आत्मनिर्भरताले घट्छ महिला हिंसा

आत्मनिर्भरताले घट्छ महिला हिंसा

मेरो पतिले पिटे पनि सहनुपर्छ किनकि मैले उनैको कमाइ खाएर बाँच्नुपर्छ। घरेलु हिंसाबारेमा बाहिर कसैलाई भन्नुहुन्न किनकि मेरा बालबालिका छन्। उनीहरूलाई हुर्काउन परिवारको सहयोग चाहिन्छ। बिहे गरिहालियो। आफ्नो कमाइ केही छैन अनि पति र परिवारले जेजस्तो व्यवहार गरे पनि सहनुको विकल्प देखिँदैन। जे चाहिए पनि घरपरिवारकै शरण पर्न परेपछि महिलामाथि हिंसा घट्नुको सट्टा बढ्दै जान्छ। वास्तवमा यस्ता पीडा नेपाली ग्रामीण समाजका महिलाले भोगिरहेका छन्।

आज पनि हाम्रो समाजमा छोरीलाई बिहे गरेर पढाउँदा दुलाहा पक्षकालाई ‘मारे पाप पाले पुण्य’ आजबाट हाम्री छोरी तपाईंकी भइनँ भन्ने चलन छ। एक्काइसौं शताब्दीको आधुनिक समाज किन बुझ्दैन– आफ्नो छोरी कसैको निजी सम्पत्ति होइन। छोरीको अस्तित्व राम्रो ज्वाइँ पाउने नभई ऊ आफू नै राम्रो मान्छे, ठूलो मान्छे बन्नुपर्छ भन्ने सोच किन आउँदैन अभिभावकमा ? महिला भनेका आफू नै हुन्, आफ्नो चाहना र इच्छालाई एउटा धनी पति पाएर उसैको अन्डरमा जे भन्यो त्यही मानेर बस्नुभन्दा आफू नै आत्मनिर्भर बन्ने बाटो किन रोज्न सक्दैनौं ?

धन र सम्पत्तिको मालिककी पत्नी भएर कहिलेसम्म हामीले बन्धकी जीवन जिइरहने ? एकपटक गम्भीर भएर सोचौं त, हामीले आँट गर्‍यौं, हिम्मत गर्‍यौं भने के गर्न सक्दैनौं र ? यहाँ त सोचाइमै कमजोरी छ। संस्कार र चिन्तनमै कमजोरी छ। पुरुषहरू जन्मजात सबै कुरामा बलिया र महिला सबै कुरामा कमजोर हुन्छन् भन्ने गलत सोचको सिकार कहिलेसम्म हुने ? कोरा भाषण र सिद्धान्तले मात्र महिलालाई माथि उचाल्न सक्ला त ?       

आज महिला आयआर्जनको बाटोमा लाग्ने क्रम बढ्दो छ। निजामती सेवामा महिलाको संख्या २३ प्रतिशतबाट उकालो लागेको अवस्था छ। त्यस्तै अन्य सेवामा पनि महिला आकर्षित हुन थालेका छन्। मुलुकभरि छरिएर रहेका लगभग ३४ हजार पाँच सय सहकारी संस्थामा आबद्ध ६३ लाख सदस्यमध्ये आधाभन्दा बढी महिला सदस्य छन्। त्यस्तैगरी बैंकिङ क्षेत्र, शैक्षिक क्षेत्र, चलचित्र क्षेत्र, संस्थानहरू, औद्योगिक क्षेत्रलगायत अन्य सबै व्यावसायिक क्षेत्रमा महिलाले रोजगार पाउने अवसर बढेको छ।

रोजगारले महिलालाई आत्मनिर्भर बनाउँछ। आत्मनिर्भरताले आत्मसुरक्षा र आत्मसम्मानको अवस्था सिर्जना हुन्छ। जब आफू नै आफ्नो जीवनको मालिक बनिन्छ तब कोही पनि कुनै प्रकारको हिंसा सहेर बस्नुपर्ने अवस्था हुँदैन। परनिर्भरताले जन्माएका हिंसा हटाउने एक मात्र प्रमुख उपाय भनेको आत्मनिर्भर हुनु हो। आजभोलि हाम्रो समाजमा महिला क्रमशः आत्मनिर्भर बन्ने बाटोमा अगाडि बढिरहेको अवस्थामा क्रमशः हिंसाका घटना हुन थालेका छन्। पहिला गुपचुप पारिने हिंसा आज सार्वजनिक बहस हुन थालेका छन्।

महिलाहरू शिक्षित हुने क्रम बढ्दो छ। आत्मनिर्भरताका लागि चाहिने पहिलो सर्त भनेको शिक्षा हो। जब राम्रो उच्च शिक्षा, व्यावसायिक शिक्षा हासिल गरेमा यसले रोजगारको अवसर सिर्जना गर्छ। रोजगार पाएका महिला आफूले आफ्नो जीवन कसरी राम्रो र सहज बनाउने भन्नेबारेमा ज्ञान हुन्छ। आफू र आफ्ना बालबालिकालाई पाल्ने आर्थिक हैसियत भएकाहरू कुनै पनि किसिमका हिंसा सहन बाध्य बन्दैनन्। परिवार भनेको माया–ममताका लागि हो। जब घरपरिवारबाटै हिंसा हुन्छ भने परिवारको के अर्थ ? पति, सासू–ससुरा, नन्द–देवर अन्य सबै सम्बन्ध भनेका राम्रो हुने समयका लागि हो, सबैमा समझदारी भएको खण्डसम्म हो। जब एउटाले माया–ममता गरिरहने र अर्कोले त्यही माया–ममतामा टेकेर हिंसा गर्न खोज्छ भने त्यस्तो सम्बन्धलाई परिवार हो भनेर ओत्नुपर्ने जरुरी हुँदैन। सम्बन्ध तोडेर आफ्नो स्वतन्त्र जीवन जिउने बाटोमा लाग्नु उत्तम हुन्छ।

आज महिला आत्मनिर्भर बन्ने बाटोमा क्रमशः अगाडि बढिरहेका छन् एकातिर भने अर्कोतिर आत्मनिर्भरतासँगै पारपाचुके गर्नेहरूको संख्या बढ्न थालेको छ। एकातिर आफ्नो कामको बोझ र अर्कोतिर घरपरिवारको पहिलाको जस्तै पुरुषप्रधान सोच र चिन्तनको सिकार भएर बाँच्नुभन्दा बरु पारपाचुके गरेदेखि आनन्द भन्ने सोचले पनि पारापाचुके गर्नेको संख्या बढ्नुको एउटा कारण हो। सृष्टिको सुन्दर उपहार एउटा बच्चाका लागि उसको बाबा र आमा दुवैको काख आवश्यक हुन्छ। सहने हदसम्म कसैलाई पनि आफ्नो पतिसँग सम्बन्ध–विच्छेद गर्न मन लाग्दैन। जब एउटा पतिको माया–ममताबाट कुनै गन्ध नै आउँदैन र त्यहाँ केवल हिंसा मात्र हुन्छ भने त्यो अवस्थामा आत्मनिर्भर महिलाले आफ्नो लोग्नेसँग सम्बन्ध–विच्छेद गरेर पनि सफल जीवन जिउन सक्छन् तर आफ्नो आर्थिक हैसियत केही छैन। बालबच्चा छन् भने जतिसुकै हिंसा सहनुपरे तापनि तिनै छोराछोरी हुर्काउनका लागि, पालनपोषण र शिक्षादीक्षाका लागि चुप लागेर शरण पर्न बाध्य हुन्छन्।

काम कुनै आफैंमा ठूलो र सानो हुँदैन। त्यस्तै सम्बन्ध पनि राम्रो र नराम्रो, नजिकको र टाढाको बनाउने भनेको व्यवहारले हो। रगत र सम्बन्धको नाता भन्दैमा उसले नराम्रो व्यवहार र हिंसा गर्छ भने त्यो सम्बन्धलाई नजिकको मान्नु र आफ्नो ठान्नु निरर्थक हुन्छ। जसले जति माया गर्छ उसलाई उति नै माया गर्ने हो, भरोसा गर्ने हो र भर पर्ने हो। यहाँ त सम्बन्धका नाममा एउटाले आफू रित्तिएर माया गर्ने र अर्कोले सकेजति हिंसा गर्ने प्रवृत्ति आज पनि व्यापक छ। मायाको आशाले जोडिएका सम्बन्धमा हिंसा उत्पन्न हुन्छ भने त्यो सम्बन्ध राखिराख्नुभन्दा तोड्नु नै सबै किसिमबाट उत्तम हुन्छ।

यहाँ सबै पुरुषले हिंसा गर्छन् भन्न खोजेको होइन। महिला सबै असल छन् भनेको पनि होइन। हाम्रो नेपाली समाज अहिलेसम्म आइपुग्दा पुरुषहरूको तुलनामा महिला बढी हिंसामा पर्ने गरेको तथ्य भने सत्य हो। हरेक पुरुषलाई आफ्नी पत्नीलाई आफ्नो वशमा राख्न मन लाग्छ। आफूभन्दा पत्नी अगाडि बढेको रुचाउने पुरुष बिरलै भेटिन्छन्। आम महिलामा पनि आफूभन्दा आफ्नो पतिले धेरै पढेको, राम्रो जागिर खाएको, समाजमा गन्यमान्य भएको मन पर्छ। पतिकै प्रगति र उन्नतिका लागि आफ्नो जीवनको ऊर्जाशील समय खेर फालिरहन्छन्। वास्तवमा आफू भनेको आफू नै हो। यो कुरा हरेक महिलाले बुझ्न जरुरी छ। आफूले मेहनत गरेर आफ्नो जीवनको मूल्य बढाउने हो। पतिको जीवनको मूल्य त पति आफूले नै बढाइहाल्छन्। यो बुझ्न जरुरी छ। हामी महिला अरू सबैलाई माया र सत्कार गर्छौं तर आफूले आफूलाई नै माया र आदर गर्न बिर्सन्छौं। अरूको मानसम्मान, इज्जत र प्रतिष्ठामा काम गर्दागर्दै आफ्नो जीवनको मूल्य नै रित्तो बनाइरहेका छौं।

जेसुकै कुरा होस्, रित्तो भएपछि सबैको हेलाँ भइन्छ। आफू रित्तिएर हुर्काएका छोराछोरीले समेत पछि गएर आफ्नी आमा नपढेकी, कुनै कमाइ नगर्ने भनेर हेलाँ गर्छन् भने पतिको त कुरा नै नगरौं। आफूमा ज्ञान, सीप, क्षमता बढाउनु भनेको आफ्नो जीवनको मूल्य बढाउनु हो। जीवनको मूल्य बढेपछि सबैको आदर र सम्मानयोग्य बन्न सकिन्छ। यसले आफूमा आत्मबल वृद्धि हुन्छ। कुनै पनि प्रकारका हिंसा सहन बाध्य बन्न पर्दैन। यसले जताततै आत्मनिर्भरताको बाटो खुला बनाइदिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.