हजार दिने आमालाई वडाको ‘कोसेली’
बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका १० को कार्यालयले वडाभरीका हजार दिने आमालाई वडाको कोसेली वितरण गरेको छ। हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि आमालाई कोसेली वितरण गरिएको वडा सचिव गणेशदत्त भट्टले बताए।
वडाभरीका ५० जना आमालाई कोसेली स्वरुप अण्डा, एक पाकेट आयोडिन युक्त नुन र सरसफाइका सामग्री वितरण गरिएको उनले बताए। उनले भने, ‘वडा कार्यालयले हजार दिनका आमा र बच्चाको स्वास्थ्यका विषयमा परिवारका सदस्यले ध्यान दिउन भनेर हामीले यो कार्यक्रम राखेका हौं। सुनौलो हजार दिनका आमाको स्वास्थ्यका बारेमा सबैले ध्यान दिनु आवश्यक छ।’
वडा कार्यालयले पोषक तत्वसहितको कोसेली दिएपछि खुसी लागेको दशरथचन्द नगरपालिका १० की हजार दिने आमा राजमती विष्टले बताइन्। उनले भनिन्, ‘वडा कार्यालयले दिएको कोसेलीले हाम्रो घरपरिवारका सदस्यले पनि हजार दिनको अवधिमा आमा र बच्चाको ख्याल गर्नुपर्ने रहेछ भन्ने कुरा थाहा पाउँछन्।’
प्रतिक्रिया दिनुहोस !