पकेट क्षेत्रमै आँप महँगो
सिरहा : आँप उत्पादनमा पकेट क्षेत्र मानिने सिरहामा यस वर्ष आँपको मूल्य आकासिएको छ। अघिल्ला वर्ष जस्तो यसवर्ष आँप फलेको छैन। गाउँगाउँका आँप बगैंचा रित्तौ छन्। आँपको उत्पादन घटेसँगै मूल्य ह्वातै बढेको छ।
आँप नफलेपछि किसान मारमा परेका छन्। यसवर्ष जिल्लाका मुख्य बजार लहान, गोलबजार, मिर्चैया, चोहर्वा र सिरहासहितका स्थानमा सिजनको सुरुमै मालदह, बमबई आँप प्रतिकिलो सय रुपैयाँभन्दा बढीमा खरिद–बिक्री हुने गरेको छ। सुरुमै आँप महँगो भएकाले अन्तिम समयसम्म बढ्नसक्ने स्थानीय व्यापारी बताउँछन्। आँपको उत्पादनमा कमी आएका कारण बढी मूल्यमा बेच्नु परेको व्यापारीको भनाइ छ। ‘थोरै फलेकाले गाउँ–गाउँमा आँप खोज्न जानुपर्छ’, एक व्यापारीले भने,‘बजारसम्म आँप पु¥याउन लागत बढी लाग्ने गर्दा महँगोमा बेच्नुपरेको छ।’
मौसमी असरका कारण यो वर्ष सिरहामा आँप निकै कम उत्पादन भएको छ। गत वर्ष रूखमा लटरम्म आँप फलेर लाखौंको आँप बिक्री गरेका किसान यो वर्ष निराश भएको लहान नगरपालिका २४ झुटकी गाउँका आँप किसान कमल यादव सुनाउँछन्। कमलले आफ्नो दुई बिघा जग्गामा आँपखेती गरेका छन्। ‘सिँचाइ असुविधा हुँदा अन्य बाली छाडेर आँप लगाए’, उनले भने,‘यस वर्ष त आँप फलेकै छैन्।’ गत वर्ष उनको बगैंचामा फालाफाल आँप फलेको थियो। सस्तोमै बेचे पनि ७५ हजार आम्दानी भएको उनले बताए। यसवर्ष आफ्नै घरमा खानसमेत नपुगेको उनले सुनाए।
‘यसपालि आँपमा मजुरा(फूल) नै कम लागेको थियो’, वस्तीपुरका सफिजा मियाँले भने,‘त्यो पनि हावाहुरीले झा¥यो।’ किसानलाई आँपलाई कसरी हावाहुरी, रोगबाट बचाउनेबारे जनचेतना अभाव रहेको उनले बताए। भगवान भरोसे आँपखेती हुने गरेको उनी सुनाउँछन्। आँप प्रत्येक वर्ष नभएर वर्ष बिराएर फल्ने फलका रूपमा हेर्ने गरिएको उनको भनाइ छ।
‘गतवर्ष आँप बढी उत्पादन हुँदा सस्तोमा बिक्री भयो, यस वर्ष कम फल्दा बढी मूल्यमा बिक्री हुँदैछ’, अर्का किसान हरिचन साहले भने,‘बढी फलेको आँपलाई राख्ने ठाउँ सित भण्डार भइदिए किसानलाई राहत हुन्थ्यो।’ आँपमा लाग्ने रोग नियन्त्रण गर्ने उपाय किसानसँग नहुँदा उत्पादन गर्न समस्या भएको बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)