मुख्यमन्त्रीहरू आफूखुसी विदेश भ्रमणमा

मुख्यमन्त्रीहरू आफूखुसी विदेश भ्रमणमा

काठमाडौं : प्रदेशका मुख्यमन्त्रीहरू कूटनीतिक निकायलाई खबरै नगरी विदेश भ्रमणमा जान थालेका छन्। कोही मुख्यमन्त्री गैरआवासीय नेपालीको सम्मेलनमा भाग लिन त कोही भगिनी सम्बन्ध कायम गर्न भन्दै आफूखुसी विदेश भ्रमणमा निस्किएका हुन्। उनीहरूको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रमा बहस हुन थालेको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग दुईपक्षीय वार्ता गरिरहँदा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल गान्सुको लान्झाओ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल सछुवान (सिचुवान) मा थिए।

मुख्यमन्त्रीहरूले चिनियाँ अधिकारीसँग गरेको वार्ताबारे कूटनीतिक निकाय बेखबर छ। उनीहरूको भेटमा कूटनीतिक प्रतिनिधिको उपस्थिति पनि थिएन। बेइजिङस्थित दूतावासका अधिकारीले मुख्यमन्त्रीको भ्रमणबारे जानकारी भए पनि अन्य विषयमा अनभिज्ञता प्रकट गरे। उनीहरुको गतिविधि र भेटघाटलाई नेपाली दूतावासले ‘नोट’ गरेको छैन। साथै भगिनी सहर सम्बन्धमा साक्षी बस्न पनि दूतावासका अधिकारी गएका छैनन्।

सरकारले भ्रमणबारे जानकारी नराख्ने हो भने सबैले आफ्नै तरिकाले कूटनीति चलाए भइहाल्यो भन्दै परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले गम्भीर चासो देखाएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

बेइजिङस्थित नेपाली दूतावासका अधिकारीले प्रारम्भमा भ्रमणबारे जानकारी नभएको बताए। परराष्ट्र मन्त्रालयमा सम्पर्क गरेको केही घन्टापछि दूतावासका अधिकारीले आफंै सम्पर्क गरेर भने, ‘राजदूतलाई भ्रमणबारे जानकारी आएको रहेछ। हामी उहाँहरूसँग सम्पर्कमा छौं।’ भ्रमणबारे प्रदेश सरकारले नै हेर्ने र पछि परराष्ट्र अधिकारीलाई जानकारी दिने गरेको ती अधिकारीले बताए।

‘मुख्यमन्त्रीको भ्रमणमा हामी सम्पर्कमा हुन्छौं तर सबै सहकार्य र प्रक्रियामा सहभागी हुँदैनौं,’ बेइजिङस्थित दूतावासका प्रवक्ता हरिशचन्द्र घिमिरेले भने, ‘उहाँहरूले केके गर्नुभयो, उहाँहरूसँगै जानकारी लिएर अर्को दिन दिनेछु।’

उनले यस्ता भ्रमणबारे दूतावासभन्दा पनि परराष्ट्रको प्रदेश हेर्ने महाशाखा जानकार हुने बताए। मुख्यमन्त्रीको भ्रमणमा सहयोग गर्न दूतावास सम्पर्कमा रहेको पनि उनले जानकारी दिए।

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले बुधबार सछुवान र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गरे। उनले त्यहाँका गभर्नरलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि निमन्त्रणासमेत गरेका छन्। मुख्यमन्त्री पोख्रेलले छेन्दु-भैरहवाबीच सीधा हवाई उडानको प्रस्ताव राखेका थिए। तर, दूतावासलाई यस्ता एजेन्डाबारे जानकारी छैन।

‘हामीले कुरा राखे पनि राजनीतिज्ञले ढिम्किनै दिँदैनन्’, परराष्ट्रका एक अधिकारीले भने, ‘जे ल्याउनुहुन्छ, हवस् राम्रो छ भन्दिने हो। उहाँहरू जनप्रतिनिधि, हामी निजामती।’ यस्ता विषयमा प्रदेश र केन्द्र सरकारबीच समन्वय हुनुपर्ने अर्का अधिकारीले बताए।

दुई सहरबीच भगिनी सम्बन्धबारे परराष्ट्र सचिव शंकरदास बैरागीले भने, ‘भगिनी सहर मन्त्रिपरिषद्बाट पारित गरेपछि मात्र हुन्छ। अन्यथा गर्न मिल्दैन। सायद पारित भएको होला। हेर्नुपर्छ।’

यसअघि गत वैशाख ३० मा प्रदेश ३ ले पनि गान्सु प्रान्तसँग भगिनी सम्बन्ध जोडेको थियो। काठमाडौंमा भएको गान्सु-नेपाल आर्थिक तथा व्यापारिक सहयोग प्रवद्र्धन मेलामा दुई पक्षबीच सम्बन्ध गाँस्ने समझदारीपत्रमा हस्ताक्षर भए पनि परराष्ट्रलाई जानकारी थिएन। समझदारीपत्रमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गान्सु प्रान्तका गभर्नर ताङ रेन्जिएनले हस्ताक्षर गरेका थिए। नेपालमै भएको सम्झौतामा समेत परराष्ट्रको उपस्थिति थिएन।

भगिनी सम्बन्ध गाँसिएसँगै व्यापार र कृषि क्षेत्रको विस्तार, पर्यटन प्रवद्र्धन, सूचना प्रविधि, भौतिक पूर्वाधारमा सहयोग पुग्ने हुनाले सरकार लचिलो बनेको दूतावासका प्रवक्ता घिमिरेको भनाइ छ। यसअघि काठमाडौं महानगरले नै चीनका लान्झाउ, सियान, ल्हासा, सेन्जेन, छेन्दु लगायत सहरसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ।

गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा प्रदेश ३ का मुख्यमन्त्री पौडेल चीन भ्रमणमा रहको कार्यवाहक मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए। ‘भ्रमणमा केही महत्वपूर्ण सम्झौता हुनसक्छ,’ उनले भने, ‘त्यहाँ सहकार्यसम्बन्धी सम्झौता हुनेछन्।’

केन्द्रको सहमतिमै भ्रमण

नेपाल-चीनबीच मैत्रीपूर्ण सम्बन्ध विस्तारको उद्देश्यसहित प्रदेश नम्बर ५ का मुख्यमन्त्री पोखरेल चीन पुगेको कार्यवाहक मुख्यमन्त्री एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले बताए। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा सोमबार १८ जनाको टोलीको नेतृत्व गर्दै मुख्यमन्त्री पोख्रेल सछुवान पुगेका छन्। प्रदेश नम्बर ५ र सछुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गरेर दुई मुलुकको सम्बन्ध विस्तारका लागि केन्द्रको सहमतिमा मुख्यमन्त्रीको भ्रमण भएको मन्त्री केसीले बताए।

यसैबीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सोमबार साँझ अमेरिका गएका छन्। अमेरिकाको बाल्टिमोरमा तीनदिन चल्ने गैरआवासीय नेपालीले गर्ने राष्ट्रिय नेपाली सम्मेलनको प्रमुख अतिथिका रूपमा मुख्यमन्त्री राई त्यसतर्फ गएको कार्यवाहक मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए। उनको भ्रमण संघीय सरकारको स्वीकृतबमोजिम नै भएको कार्कीको भनाइ छ।

परराष्ट्र सचिव बैरागीले भ्रमणको जानकारी दूतावासलाई पनि पठाइने गरेको भए पनि औचित्यबारे राजनीति नेतृत्वले पनि ध्यान दिनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.