भारतर्फ चाँदी तस्करी बढ्यो

भारतर्फ चाँदी तस्करी बढ्यो

विराटनगर : विभिन्न मुलुकबाट अवैध बाटो हुँदै नेपाल भित्रने चाँदी खुला सीमानाको फाइदा उठाउँदै भारत तस्करी हुने गरेको अनुसन्धानले देखाएको छ। नेपालमा भन्दा मूल्य बढी भएका कारण चाँदीको भारततर्फ तस्करी भइरहेको पाइएको हो। तस्करीमा संलग्नले पछिल्लो समय पूर्वी नाकाको प्रयोग गर्न थालेको पनि पुष्टि भएको छ।

विराटनगरको जोगवनी नाका हुँदै भारत कटाउन लागिएको अवस्थामा ठूलो परिणामको चाँदी प्रहरीले गत सोमबार साँझ बरामद गरेको थियो। विराटनगर महानगरपालिका-१२ रोडशेष चोकबाट करिब ६० किलो चाँदी बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।

चाँदी बरामद गरिएको स्थानबाट जोगवनी नाका लगभग ५ किलोमिटर मात्रै दक्षिणमा छ। श्रेष्ठका अनुसार बीआर ११ एके १७९१ नम्बरको भारतीय कारमा हालेर लैजाँदै गर्दा चाँदीसहित भारतको बिहार राज्यस्थित अररिया जिल्ला जोगवनी-१६ का २४ वर्षीय गौरवकुमार साह पक्राउ परेका हुन्। कार चालक साह गाडीमा एक्लै थिए। प्रहरीले चाँदीको मालिक पनि साह आफैं भएको बताए। 

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार प्रहरी कन्ट्रोल रुममा निलो रङको कारमा चाँदी तस्करी गरेर भारत लगिँदै गरेको सूचना आएपछि चेकजाँच कडा बनाएर कारलाई 'फलो' गर्न थालिएको थियो।

त्यस क्रममा कार रोकेर चेकजाँच गर्दा चालक बस्ने सिटमुनी लुकाईछिपाई राखेको प्लाष्टिक र कार्टुनमा पोका-पोका पारेर टेपले बाँधेको अवस्थामा ५९ किलो ९ सय ३४ ग्राम चाँदी बरामद भएको उनले बताए। १९ किलो भन्दामाथिका तीनवटा अलग-अलग पोका फेला परेको उनको भनाइ छ।  

एसपी अधिकारीले नेपाली बजार मूल्य अनुसार ३६ लाख ९९ हजार रुपैयाँ भन्दा बढीको चाँदी बरामद भएको जानकारी दिए। चाँदीसहित पक्राउ परेका भारतीय नागरिकलाई भने प्रहरीले मंगलबार नै आवश्यक अनुसन्धान गरेर कारबाही अघि बढाउनका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ। 

'नेपालबाट भारततर्फ चाँदी लैजान पाइँदैन। प्रतिबन्धित वस्तु लुकाइछिपाइ लगेको पाइयो,' एसपी अधिकारीले भने, 'पक्राउ परेका व्यक्ति आफै चाँदी तस्करीमा संलग्न रहेको पाइयो।अनुसन्धाबाट उनलाई भरियाका रुपमा मात्रै लिन सकिने अवस्था रहेन र उनी नै चाँदीमा मालिक हुन् भन्ने निस्कर्ष निकालिएको छ।'

उनले बहुमूल्य धातु तस्करीमा संलग्न गिरोहको खोजीका लागि चाँदी तस्करी गर्दै गर्दा पक्राउ परेका साहको अरु 'कनेक्सन' पनि खोतल्न थालिएको जानकारी दिए। प्राप्त प्रमाण र केही सुराकका आधारमा सुन चाँदी तस्करीमा संलग्न अन्यको खोजी थालिएको प्रहरीको भनाइ छ। एसपी अधिकारीले बरामद चाँदी कुन मुलुकबाट नेपाल भित्रिएको हो भन्ने बारेमा भने खुल्न बाँकी रहेको जनाए। 

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट नाका कटाएर चाँदी भारत पुर्‍याउँदा प्रति तोला एक सय रुपैयाँ भन्दा बढी नाफा हुने देखियो। एक किलो चाँदीमा ८६ तोला हुन्छ। विराटनगरमा अहिले चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँ छ। 'भारत पुर्‍याउँदा प्रति तोला सय रुपैयाँभन्दा बढी नाफा हुने भएकाले चाँदी तस्करी गरेको प्रारम्भिक अनुसन्धानबाट देखियो,' एक अनुसन्धान अधिकृतले भने।  

भारतमा गरगहनाको धेरै खपत हुने हुँदा मूल्य पनि बढी पर्ने भएकाले सुन, चाँदीलगायत बहुमूल्य धातु विभिन्न मुलुकबाट अवैध रुपमा नेपाल भित्राएर भारततर्फ तस्करी हुने गरेको प्रहरीको निस्कर्ष छ।'बहुमूल्य धातु नेपाल हुँदै भारततर्फ हुने गरेको तस्करीका बारेमा धेरै लामो अनुसन्धान आवश्यक देखियो,' एसपी अधिकारीले भने, 'यसको तस्करी रोक्न विशेष सक्रियता बढाउँदै प्रहरीले विशेष र मिहीन ढंगबाट अनुसन्धान गरेर केही समय भित्रमा सबै वास्तविकता बाहिर ल्याउने छ।'
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.