जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बैतडी : बैतडीको पाटनमा एघारौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। कृष्ण मावि पाटनको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा पाटन नगरपालिकाको २ टीम, मेलौली नगरपालिकाको २ टीम र सिगास गाउँपालिकाको २ टीम सहभागी छन्।
प्रतियोगितामा महिला÷पुरुष भलिबल र महिला-पुरुष कबड्डी प्रतियोगिता सञ्चालन भइरहेको छ। यस्तै, एथलेटिक्सअन्तर्गत सय मिटरको महिला पुरुष दौड, दुई सय मिटरको महिला पुरुष दौड, चार सय मिटरको महिला पुरुष दौड, ८ सय मिटरको महिला पुरुष दौड, १५ सय मिटरको महिला पुरुष दौड, ३ हजार मिटरको महिला पुरुष दौड हुने भलिबलका प्रशिक्षक हरिसिंह भण्डारीले जानकारी दिए।
यस्तै, महिला र पुरुषको रिले दौडका साथै महिला र पुरुषको सटपुट, ज्याबिलङ थ्रो, लङजम्प, त्रिफलजम्प र हाइजम्प प्रतियोगिता भइरहेको उनले बताए। पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेर पनि दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका र डिलाशैनी गाउँपालिकाले जिल्लास्तरीय प्रतियोगितामा भाग लिएका छैनन् भने दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकाले पालिकास्तरीय प्रतियोगिता नै सञ्चालन गरेका छैनन् ।
पालिकाहरुले जिल्लास्तरीय प्रतियोगितामा भाग लिनका लागि चासो नदेखाएपछि खेलाडीले भने असन्तुष्टी जनाएका छन्। प्रतियोगिताको उद्दघाटन गर्दै बैतडी क्षेत्र नम्बर (क)का प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्टले खेलकुद क्षेत्रको विकासका लागि आफूले पहल गर्ने बताए। यस्तै जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तहहरुले पहल गर्नुपर्ने बताए।
खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन भएको र यो प्रतियोगिताबाट छनौट भएका खेलाडीले क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए।
प्रतिक्रिया दिनुहोस !