वडा केन्द्रमा विद्युत विस्तार
बैतडी : जिल्लाको पाटन नगरपालिका-९ को केन्द्र टकरेमा विद्युत विस्तार भएको छ। वडा कार्यालयको समन्वय तथा नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रको सहयोगमा वडा केन्द्र टकरेमा विद्युत विस्तार भएको वडाध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए।
दुई वर्षअघि वडा समितिको पहिलो बैठकले वडालाई अध्याँरोमुक्त वडा बनाउने घोषणा गरेअनुसार वडाका प्रत्येक टोलमा विद्युत विस्तारको काम भइरहेको उनले बताए। उनले भने, 'वडा केन्द्रमा विद्युत नहुँदा कार्यालय सञ्चालनमा समस्या थियो। वडा कार्यालयको भवन निर्माण कार्य पनि सम्पन्न भएको छ। अब विद्युत सेवा पनि विस्तार भएपछि वडाकेन्द्रबाटै सेवा दिने तयारी गरेका छौं।'
वडा केन्द्रमा भवन र विद्युत नहुँदा पाटन नगरपालिका- ८ मा पर्ने खोड्पे बजारमा भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्नु परेको छ। अब भवन निर्माण र विद्युत विस्तार भएपछि केही दिनभित्रै वडा केन्द्रबाट सेवा प्रदान गरिने वडाध्यक्ष भण्डारीले बताए।
उनले भने, 'हामीले दुई वर्षअघि वडा समितिको पहिलो बैठकबाट उज्यालो वडा बनाउने प्रतिबद्धता गरेका थियौं । सोही अनुरुप वडाका टोल टोलमा विद्युत विस्तार गरेका हौं।' पाटन नगरपालिका- ९ को किचार, कोटीगडा, ककस्याली, तल्लोककस्याली र दबडानी टोलमा गत वर्ष नै विद्युत विस्तार भएको थियो भने कर्तेकोट, धारापानी र टकरेमा यो वर्ष विद्युत सेवा विस्तार भएको हो। २५ केभीको ट्रान्सफर्मर राखेर वडामा विद्युत विस्तार गरिएको छ।वडा नम्बर ९ मा स्वास्थ्य संस्था स्थापना गरी सेवा पनि सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस !