हेल्मेट प्रहार गर्नेलाई वडाध्यक्ष आफैंले छुटाए
विराटनगर : आफूमाथि हेल्मेट प्रहार गर्ने दुई युवालाई विराटनगर महानगरपालिका–१५ का वडाध्यक्ष असलाम आलम आफैँले छुटाएका छन्। प्रजातन्त्र मार्गको भित्री सडक विस्तार र नाला निर्माणका क्रममा विवाद भएपछि शनिबार उनीमाथि स्थानीय सन्तोष र विजय साहले हेल्मेट प्रहार गरेका थिए।
प्रहरीले लगत्तै एकै घरका दाजु भाइ उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। अरुको भन्दा आफूहरुको जग्गा सडकमा धेरै पारिदिएको भन्दै साह दाजुभाइ वडा अध्यक्ष आलमप्रति रुष्ट बनेका थिए।
हेल्मेट प्रहार गर्ने दुवै जनालाई वडा अध्यक्षकै आग्रहमा आगामी दिनमा कुनै पनि घटना नगर्ने सर्तमा छाडिएको इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर इन्द्रबहादुर रानाले जानकारी दिए। ‘वडा अध्यक्षमाथि कुटपिट भए पनि कुटपिट गर्नेविरुद्ध जाहेरी नपरेपछि कारवाही अघि बढाउन सकिएन,’ उनले भने, ‘सामान्य विवाद रहेको भन्दै दुई पक्षबीच मिलापत्र भएका कारण कुटपिटमा संलग्नलाई छाडिएको हो।’
प्रतिक्रिया दिनुहोस !