अव्यवस्थित सडकले बस्ती जोखिममा

अव्यवस्थित सडकले बस्ती जोखिममा

मकवानपुर : घरमाथिबाट मोटरबाटो खनेपछि राक्सिराङ गाउँपालिका–७ काङ्बाङस्थित माइली चेपाङले सम्झेकी थिइन्, ‘हाम्रो पनि सुखका दिन आए।’ उनको परिवारले सडक खन्न सहयोग पनि गरे। विकट बस्तीमा मोटरबाटो पुगेपछि उनको परिवारमा आएको खुसी एक वर्ष पनि टिकेन।

दर्कने पानी पर्दा पनि वर्षौसम्म स्थिर रहेको काङ्बाङ पाखो वर्षातको झरीसँगै बग्न थालेपछि त्यही सडक चेपाङ परिवारलाई धराप बन्यो। अघिल्लो वर्षात जसोतसो कटाएका उनीहरु यो वर्षको वर्षात सुरु भएसँगै पुरानो थातथलो छाड्न बाध्य भएका छन्। ‘वर्षातको पानीले भिजेको रातोमाटोमा चिप्लिए कतै नरोकी शंकर रेउती खोला दोभानमा पुगिन्छ’, माइली चेपाङले भनिन्, ‘कतिखेर पहिरो झर्ने हो थाहा छैन, सडक खन्दाको पहिरोले घरै बगाउने भएपछि हामी त बस्न सकेनौं।’

चार पाता जस्ताले छाएको टहरोमा बस्दै आएका उनको ६ जनाको परिवार करिब एक किलोमिरट पर खोरिया बारी कमाउँदै आएको जंगल नजिक बसाई सरेको छ। ‘सडकको रहर गरेर मात्र नहुने रैछ, सडक खनेर जताततै पहिरो जान थालेपछि घरबारी नै छाडेर हिँड्नुपर्‍र्यो’, माइलीका पति दलबहादुर चेपाङले दुःखेसो पोखे। करिब पाँच रोपनी ठाडो खोरिया बारीको उत्पादनले खान नपुग्ने भएपछि उनले ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका छन्।

हिउँदको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको भण्डाराबाट करिब चार घण्टाको मोटरयात्रामा पुगिने काङबाङ गाउँमा एक दर्जन परिवार सडकले निम्त्याएको पहिरोको जोखिममा छ। ‘गाउँमा सडक नलगे गाउँले रिसाएर हैरान, तर भिरालो जमिन भएकाले पहिरोको समस्या थपिएको छ’, ७ नम्बर वडा अध्यक्ष कुलबहादुर चेपाङले भने, ‘हामीले सकेसम्म कुनै घरलाई क्षति नहोस् भनेर सडक बिस्तारको काम गरिरहेका छौं।’

७ नम्बर वडामा मात्र चालु आर्थिक वर्षमा तीन वटा नयाँ सडकको ट्र्याक खोलिएको छ। भिरालो जमिनका कारण नयाँ सडकको ट्र्याक बगेर पहिरो जाने डरले स्थानीयहरु त्रसित छन्। ‘सडक आउनु नराम्रो कुरा त हैन, तर वर्षातको समयमा पहिरो आउँदा घरबारी बगाउने समस्या भने बढेको छ’ स्थानीय रामकुमार चेपाङले भने।

देशमै पहिरोको जोखिममा दोस्रो स्थानमा रहेको मकवानपुरको पश्चिमी क्षेत्रका गाउँहरु पहिरोबाट बढि प्रभावित छन्। त्यसमाथि गाउँभरी खोलिएको सडकको ट्र्याकले पहिरोको जोमिख थपेको हो। पश्चिमी मकवानपुरको साविक १२ गाविसमा यसअघि विभिन्न समयमा आएका बाढी पहिरोबाट विस्थापित भएकाहरु मनहरी–३ स्थित रमनटार र २ नम्बर वडास्थित डिपाडमा बस्दै आएका छन्।

बाढी पहिरोबाट विस्थापित भएका चार सय २७ परिवार २०६० सालमा यस क्षेत्रमा आएर बसेका थिए। ‘गाउँघरमा बाढी पहिरोको जोखिमसँगै विस्थापित हुनेको संख्या बढ्दै गएको छ’, बाढी पीडित बस्ती बचाउ संघर्ष समिति रमनटारका अध्यक्ष क्षेत्रबहादुर मोक्तानले भने, ‘अहिले यो संख्या बढेर एक हजार नाघेको छ।’ तत्कालिन भू–संरक्षण कार्यालय मकवानपुरले चार वर्षअघि जिल्लामा एकसय वर्गमिटरभन्दा ठूला एक हजार ७८ वटा पहिरो पहिचान गरेको थियो। अध्ययन अनुसार पाँच हेक्टर भन्दामाथि क्षेत्रफल भएका ४८ वटा पहिरो जोखिमपूर्ण छन्।

१) २०७५ भदौंको वर्षातमा सडकमुनी झुप्रो घरमा बस्दै आएका माइली चेपाङको परिवार।
२) सडकले चिरा चिरा पारेको राक्सिराङ ७ स्थित काङ्बाङ गाउँ। २०७६ असारमा वर्षात सुरु हुनु अघि नै माइली चेपाङको परिवार त्यहाँबाट विस्थापित भइसकेको छ। फोटो÷कृष्ण सारु मगर।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.