प्राधिकरणको लापरवाही : मक्किएको विद्युत् पोलको करेन्टले बालकको ज्यान गयो
विराटनगर : मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण बुधबार दिउसो करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
करेन्ट लागेर १२ वर्षीय प्रमोद ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए । उनका अनुसार बिहान ८ बजे विद्युत विस्तार गरिएको पुरानो काठको पोल एक्कासी ढलेर बालकको घर छेउमा पुगेको थियो ।
विद्युत प्रवाह भइरहेको नाङ्गो तारसहितको पोल ढले पनि करेन्ट लाग्छ भन्ने बुझ्न नसकेका कारण घरबाट बाटोतिर निस्कने क्रममा २३० भोल्टको करेन्ट प्रवाह भइरहेको तारमा टेक्दा बालकको दिउसो १२ः५० बजे घटनास्थलमै मृत्यु भएको कार्कीको भनाइ छ ।
उनका अनुसार बिहानै पोल ढले पनि स्थानीय बासिन्दाले विद्युत प्राधिकरण र प्रहरीलाई जानकारी नगराउँदा घटना भएको हो । घटना हुनुमा विद्युत प्राधिकरणसँगै स्थानीय बासिन्दाको पनि कमजोरी रहेको बताउँदै कार्कीले भने, ‘खवर पाउन सकेको भए बेलैमा सावधानी अपनाइने थियो ।’ शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रंगेलीमा राखिएको छ ।
बालकका बावु गुलावचन ऋषिदेवका अनुसार आँपगाछीमा काठको पोलबाट २० वर्षअघि विद्युत विस्तार गरिएको हो । पुरानो भएर मक्काइसक्दा पनि प्राधिकरणले काठका पोल नफेरेका कारण आफूले छोरो गुमाउनु परेको उनको पीडा छ । स्थानीयका अनुसार आँपगाछीमा मात्रै विद्युत विस्तार गरिएकामध्ये अरु १० वटा काठका पोल जीर्ण बनेको र जुनसुकै बेला पनि ढलेर थप क्षति बेहोर्नुपर्ने अवस्था आउनसक्छ ।
घटनापछि स्थानीय बासिन्दाले लापरवाही गरेको भन्दै विद्युत प्राधिकरणका विरुद्ध नारावाजी र प्रदर्शन पनि गरेका छन् । अवस्था अशान्त हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो ।स्थानीयले प्राधिरकणको लापरवाहीमाथि छानविन गर्नुपर्ने, दोषी कर्मचारीलाई कारवाही हुनुपर्ने, अगामी दिनमा यस्तो गल्ती दोहो¥याउन नहुने, कमजोर अवस्थामा रहेका पोल तत्काल परिवर्तन गर्नुपर्ने र पीडितलाई उचित क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् ।
विद्युत प्राधिकरण रंगेली शाखा प्रमुख सञ्जय गुप्ताले भने करेन्ट लागेर बालकको मृत्यु भएको घटनामा प्राधिकरणको कमजोरी रहेको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘वर्षौँदेखिको कुहिएको काठको पोल पानी परेका बेला ढलेर दुःखद् घटना हुन पुग्यो ।’ गुप्ताले प्राधिकरणका तर्फबाट बालकको किरिया खर्च वापत २५ हजार र पीडित परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !