आगलागीबाट घर र पसल जल्दा ८० लाखको क्षति
विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका-८ मंगलबारेस्थित बैद्यनाथ गुप्ताको घरमा बिहीबार बिहान भएको आगलागीबाट ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले बिहान २ बजेबाट आगलागी सुरु भएको जानकारी दिए।
उनका अनुसार आगलागीमा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सामान, लत्ताकपडा, भाँडावर्तन, नगद, सुन, चाँदी, गरगहना र सोही घरमा सञ्चालन गर्दै आएको होलसेल किराना पसल समेत जलेर नष्ट भएको हो।
घरसहित सबै सामान पूर्णरुपमा ध्वस्त हुँदा ८० लाख बराबरको क्षति भएको डीएसपी अधिकारीले बताए। आगो बिहान साढे ४ बजे झापाको दमक र मोरङको सुन्दरहैंचा नगरपालिकाबाट पुगेका दमकल, नेपाल र शसस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।अधिकारीले आगलागीको कारण भने खुल्न नसकेको बताए।
प्रतिक्रिया दिनुहोस !
४