सिन्धुलीमा ६५ प्रतिशत खेतमा अझै राेपाइँ हुन सकेन
सिन्धुली : असार महिना सकिन लाग्दा सिन्धुलीमा ६५ प्रतिशत खेत बाँझै छ । आकाशे पानीको पर्खाइमा बस्दा जम्मा ३५ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो ।
जिल्लामा १६ हजार ४ सय ८२ हेक्टर क्षेत्रफल धान रोपाइँ गरिने गरिएको भए पनि यस वर्ष बिहीबारसम्म जम्मा ३५ प्रतिशतमात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकालले बताए । ‘जिल्लामा हालसम्म ३५ प्रतिशत मात्र रोपाइँ भएको छ । कुल धान खेती गर्ने गरिएको क्षेत्रफललाई हेर्दा अझै ६५ प्रतिशत खेत बाँझै छ’, उनले भने । जिल्लामा गत वर्ष यही समयमा ६० प्रतिशत रोपाइँ सकिएको कार्यालयको तथ्याङ्क छ ।
जिल्लाको कुल धान खेती हुने जमिनमध्ये ६० प्रतिशत जमिन आकाशे पानीको भरमा रहेको केन्द्रका प्रमुख ढकालले बताए । ‘यस वर्ष आकाशबाट प्रयाप्त वर्षा भएको छैन । आकाशे पानीको भर पर्नेहरु आकाश हेरेर बस्नु परेको छ’, उनले भने, ‘खोला तथा खोल्सीमा पानीको मुहाना अझै पलाएको छैन् । जिल्लामा यस वर्ष सत प्रतिशत धान रोपाइँ हुने सम्भावना टरहेको छ ।’
सिन्धुलीमा अघिल्ला वर्षमा असार अन्तिमसम्ममा ९० प्रतिशत रोपाइँ सकिन्थ्यो । यहाँको मौसम अनुसार कमला खोंच र मरिण क्षेत्रमा साउनको पहिलो सातासम्म धान छिटफुट रोप्ने गरिए पनि अन्य क्षेत्रमा भने असार भित्रै सकिने गरिएको थियो । तर, यस वर्ष सुनकोसी, गोलन्जोर र फिक्कल गाउँपालिकामा पानी अभाव हुँदा कृषकले धानको ब्याड नै समयमा राख्न नपाएको केन्द्रले जनाएको छ ।