नालीमा डुबेर दुईको मृत्यु
विराटनगर : मोरङका अलगअलग स्थानमा नालीमा डुबेर शुक्रबार दुई जनाको मृत्यु भएको छ। मिक्लाजुङ गाउँपालिका–७ का ६५ वर्षीय रणबहादुर लुङ्गेली मगरको घरबाट एक किलोमिटर पर रहेको नालीमा डुबेर मृत्यु भएको हो।
मोरङ प्रहरीका डीएसपी राजकुमार खिउजुका अनुसार मादक पदार्थ सेवन गरेर बाटोमा हिँडिरहेका मगर बाटो छेउमै रहेको नालीमा खसेका थिए। गम्भीर घाइते भएका मगरको मंगलबारे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाले नालीबाट बाहिर निकालेर अस्पताल पुर्याएका थिए। अत्याधिक मादक पदार्थ सेवन गरेका कारण उनी पानी बगिरहेको नालीबाट उठ्न नसकेको प्रहरीको भनाइ छ।
यस्तै बेलबारी नगरपालिका–४ काकुमका ४८ वर्षीय पर्शुराम राईको नालीमा डुबेर मृत्यु भएको छ। बेलबारी–८ नारायण चोकस्थित नालीमा उनलाई मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए।
नालीमा डुबेर मृत्यु भएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको छ।
प्रतिक्रिया दिनुहोस !