बाढी-पहिरोमा परेर प्रदेश १ मा ९ जनाको मृत्यु , ७ जना बेपत्ताको
विराटनगर : लगातारको वर्षासँगै आएको बाढी र पहिरोमा परेर प्रदेश १ मा नौ जनाको मृत्यु भएको छ। बिहीबारदेखि शनिबार मध्यान्हसम्म नौ जनाको मृत्यु हुनुका साथै सात जना बेपत्ता भएका छन्।
बाढी र पहिरोले सबैभन्दा बढी पहाडी जिल्लाहरु भोजपुर र खोटाङमा मानवीय क्षति पुगेको छ। बाढी र पहिरोमा परेर बेपत्ता भएकालाई जीवितै भेट्ने सम्भावना कम रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोर दाहालले बताए।
शनिबार बिहान मात्रै भोजपुरको रामप्रसादराई गाउँपालिका–५ मा एकै परिवारका तीन जनालाई पहिरोले बगाएर बेपत्ता बनाएको छ। बिहान ९ बजे पहिरोले भान्छा घर बगाउँदा घरसँगै ३५ वर्षीय मनकुमारी राई, छोराहरु १७ वर्षीय शिवकुमार र १५ वर्षीय शक्तिकुमार बेपत्ता भएको एसएसपी दाहालले बताए।
घटनाका बारेमा जानकारी पाउनासाथ बेपत्ताको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको उनको भनाइ छ। भोजपुरकै रामप्रसादराई –७ का ६६ वर्षीय जगतबहादुर राईको आफ्नै घरले किचेर बिहिबार मृत्यु भयो। ट्याम्केमयुङ गाउँपालिका–९ का १४ वर्षीय बालक जनक विकको शौच गर्ने समयमा शौचालयले किचेर शुक्रबार मृत्यु भएको थियो।
त्यस्तै खोटाङमा शुक्रबार पहिरोसँगै लडेको घरले किचेर दुई नाबालक छोरासहित आमाको मृत्यु भएको छ। खोटेहयाङ गाउँपालिका–२ की २८ वर्षीय रेखा राई, छोरा ४ वर्षीय रोमन र ७ महिनाका रोहनको घरले किचेर मृत्यु भएको एसएसपी दाहालले बताए।
ओखलढुंगाको चिसुङखुगडी गाउँपालिका–४ का ८५ वर्षीय पासाङ पुटी शेर्पाको शुक्रबार खोलाले बगाएर मृत्यु भएको छ। इलामको चुलाचुली गाउँपालिका–१ बस्ने ५० वर्षीय अञ्चल लावती खोलाले बगाएर मृत्यु भएको छ। झापाको दमक नगरपालिका–१० की ६ वर्षीय बालिका एलिजा न्यौपानेको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै उदयपुर घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–५ बस्ने ३५ वर्षीय सागर थापाको खोलामा आएको बाढीले बगाएर शनिबार बिहान मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
शुक्रबारसम्म खोलाले बगाएर चार जना बेपत्ता भएका थिए। पाँचथरको मिक्लाजुङ गाउँपालिका– ४ का ९ वर्षीय बालक दिवन राई खोलाले बगाएर बेपत्ता भएको एसएसपी दाहालले बताए। उनका अनुसार झापाको भद्रपुर नगरपालिका–९ का ४५ वर्षीय सफल हज्दा खोलाले बगाएर बेपत्ता भएको प्रहरीका छन्।
सुनसरीको बराहाक्षेत्र नगरपालिका–१ का १० वर्षीय अर्पन राई खोलाले बगाएर बेपत्ता भएका छन्। मोरङको कानेपोखरी गाउँपालिका–२ मा अन्दाजी ३० वर्षीय पुरुष बिहीबारबाट खोलाले बगाएर बेपत्ता भए पनि उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ। एसएसपी दाहालले बेपत्ता भएकाहरुको खोजी जारी राखिए पनि फेला पार्न नसकिएको बताए।
प्रतिक्रिया दिनुहोस !