प्रदेश–१ : बाढीपहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, चार बेपत्ता
विराटनगर : प्रदेश–१मा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या शनिबार दिउँसोसम्म १२ पुगेको छ। प्रहरीका अनुसार अझै चारजना बेपत्ता हुनेको छन्।
मृत्यु हुने मध्ये सबै भन्दा धैरै भोजपुरका पाँच जना छन्। शनिबार बिहान मात्रै भोजपुरको रामप्रसादराई गाउँपालिका–५ मा एकै परिवारका तीन जनाको पहिरोमा परेर मृत्यु भएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोर दाहालले बताए।
पहिरोले बगाएको भान्छा घरले किचेर ३५ वर्षे मनकुमारी राई, छोराहरु १७ वर्षीय शिवकुमार र १५ वर्षीय शक्तिकुमार बेपत्ता भएको एसएसपी दाहालको भनाइ छ। उनले घटनास्थलबाट तीनै जनाको शव बाहिर निकालिसकिएको जनाए।
भोजपुरकै रामप्रसादराई–७ का ६६ वर्षे जगतबहादुर राईको आफ्नै घरले किचेर बिहीबार मृत्यु भएको थियो। भोजपुरकै ट्याम्केमयुङ गाउँपालिका–९ का १४ वर्षे बालक जनक विकको शौच गर्ने गर्नेमा शौचालयले किचेर शुक्रबार मृत्यु भयो।
त्यस्तै खोटाङमा शुक्रबार पहिरोसँगै लडेको घरले किचेर दुई नाबालक छोरासहित आमाको मृत्यु भएको छ। खोटेहयाङ गाउँपालिका–२ की २८ वर्षे रेखा राई, छोरा ४ वर्षे रोमन र ७ महिनाका रोहनको घरले किचेर मृत्यु भएको एसएसपी दाहालले बताए।
ओखलढुंगाको चिसुङखुगडी गाउँपालिका–४ का ८५ वर्षीय पासाङ पुटी शेर्पाको शुक्रबार खोलाले बगाएर मृत्यु भएको छ। इलामको चुलाचुली गाउँपालिका–१ बस्ने ५० वर्षीय अञ्चल लावती खोलाले बगाएर मृत्यु भएको छ। झापाको दमक नगरपालिका–१० की ६ वर्षे बालिका एलिजा न्यौपानेको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै उदयपुर घरभई सुनसरीको इटहरी उपमहानगरपालिका–५ बस्ने ३५ वर्षीय सागर थापाको खोलामा आएको बाढीले बगाएर शनिबार बिहान मृत्यु भएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
कार्यालयका अनुसार खोजतलास जारी राखिए पनि खोलाले बगाएर बेपत्ता भएका चार जनाको अवस्था भने अझै अज्ञात छ। एसएसपी दाहालले उनीहरुलाई जीवितै भेट्ने सम्भावना कम रहेको बताए। पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का ९ वर्षे बालक दिवन राई खोलाले बगाएर बेपत्ता भएका थिए।
झापाको भद्रपुर नगरपालिका–९ का ४५ वर्षे सफल हज्दा खोलाले बगाएर बेपत्ता भएको प्रहरीका छन्। सुनसरीको बराहाक्षेत्र नगरपालिका–१ का १० वर्षे अर्पन राई खोलाले बगाएर बेपत्ता भएका छन्। मोरङको कानेपोखरी गाउँपालिका–२ मा अन्दाजी ३० वर्षे पुरुष बिहीबारबाट खोलाले बगाएर बेपत्ता भए पनि उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !