ट्रक दुर्घटनामा एकैघरका तीन सहित ५ घाइते
बैतडी : बैतडीमा मालबाहक ट्रक दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। महाकाली राजमार्ग बैतडीको दोगडाकेदार गाउँपालिका ५ मौरेखोला दोलीमा ना ४ ख ५६८३ नम्बरको ट्रक दुर्घटनामा परेको हो।
ट्रक सडकबाट करीब एकसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।
दुर्घटनामा परेर चालक पाटन नगरपालिका ९ का ४३ वर्षीय राजेन्द्र महरा, पाटन नगरपालिका ६ का ५५ बर्षीय रामसिंह केसी, डिलाशैनी गाउँपालिका ३ पङसेराका २८ बर्षीय धनसिंह ओड, उनकी श्रीमति २१ वर्षीया पार्वती ओड र उनका छोरा २ वर्षीय रोहित ओड घाइते भएका प्रहरी निरीक्षक पातलीले बताए।
घाइतेमध्ये रोहितको टाउकोमा चोट लागेको छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरीले जनाएको छ। दुर्घटना शनिबार दिउँसो साढे तीन बजेतिर भएको हो। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !