बाढीमा 'ठूली' गुमाएका दिलीपको दुःख : 'अभिभावक गुमे जस्तै भयो'
बर्दिबास : दिनको तीनपटक गरेर १७ लिटर दूध दिन्थ्यो। दूध बेचेर महिनाको करिब ३१ हजार आम्दानी हुन्थ्यो। महोत्तरीको बर्दिबास—३ पाटुका पशुपालक किसान दिलीपराज थापाले दुहुना गाई पालेर दंग थिए।
७० हजारमा किनिएको गाई शुक्रबार राति मर्यो। गाई मरेपछि किसान चिन्तामा छन्। गोठमा भएका अन्य गाईभैंसी झोक्राएका छन्।
अविरल वर्षाले चारैतिर बाढीमात्र छ। वर्षाको समयमा दुलोमा पानी परेर गोठमा पुगेको सर्पको टोकाईबाट उनको गाई मर्यो। उनले गोठमा पालेका गाईलाई छोरोछोरी जस्तै स्याहारेका थिए। बिहान बेलुका नुहाइदिन्थे। हरिया घाँसपात खोजेर ल्याएर दिन्थे।
‘गाईलाई ठूली भनेर बोलाउँथे। हेर्ने बित्तिकै बाँ बाँ गरेर कराउथे,’ किसान दिलीपराजले भने, ‘हातमा केही खानेकुरा लिएर जान्थें। हात चाटन पाउँदा नै गाई खुसी हुन्थ्यो।’ गाई मरेर गोठ शून्य लागेको उनले सुनाए।
ग्रामीण भेगका किसान गाईभैंसी पालेर जीवन चलाउँछन्। एउटा गाई वा भैंसी गोठमा भए बिहानबेलुकाको छाक मज्जाले टर्छ।
रुकमिडी पशुपालन कृषि फर्म खोलेर किसान थापाले गाईभैंसी पाल्दै आएका थिए। फर्ममा गाईभैंसी गरी ७ वटा दुहुना थिए। फर्ममा धेरै दूध दिने भएर त्यो गाईको नाम किसानले ‘ठूली’ राखेका थिए। उनले सबै वस्तुका बिमा भने गरेका थिए।
‘गाई मरेको देख्दा मेरो एउटा परिवारको अभिभावक गुमे जस्तै भयो,’ थापाले भने, ‘ठूलीले फर्मको नेतृत्व गरेकी थिई।’ मरेको गाईको हिन्दुधर्म अनुसार व्यवस्थान गर्ने उनले जनाए।
थापाले फर्ममा पालेका गाईभैंसीबाट मासिक दुई हजार ५५० लिटर दूध उत्पादन हुँदै गरेको बताए। दूध बिक्री गरेर उनले मासिक डेढ लाख रुपैयाँ आम्दानी गरिरहेका छन्।
'ठूली गाई मर्दा आम्दानीमात्र घटेन, परिवारको सदस्य पनि घट्यो', उनले दुःख मनाउ गरे। ठूली गाईलाई टोक्ने सर्प पनि गाईले कुल्चेर मरेको छ।
प्रतिक्रिया दिनुहोस !