वर्षा र हावाहुरीले मकैबालीमा ठूलो क्षति
बैतडी : वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न स्थानमा मकैबालीमा क्षति पुर्याएको छ। जिल्लाको सुर्नया गाउँपालिकाका अधिकांश वडामा हावाहुरीले मकैबालीमा ठूलो क्षति पुर्याएको हो।
सुर्नया गाउँपालिको वडा नम्बर ३, ४, ५, ६, ७ र ८ का अधिकांश स्थानमा मकैबाली नष्ट भएको स्थानीय बलबहादुर महराले बताए। वडा नम्बर ३ को बाँस, गोयली वडा नम्बर ४ को, चौर, जोगेनी, बिकुलीका अधिकांश किसानले लगाएको मकैबाली नष्ट भएको उनले बताए।
यस्तै वडा नम्बर ५ को हरिचनमा पनि हावाहुरीले मकैवाली ढालेको छ। सुर्नयाकै वडा नम्बर ६ का २० भन्दा बढी परिवारले लगाएको मकैबाली समेत हावाहुरीले ढालेर नष्ट गरेको स्थानीय बासिन्दाले बताएका छन्। रीग, कोखेत, कुनेटा, धुलीधार लगायत स्थानमा हावाहुरीले मकै ढालेको स्थानीय लवदेव धामीले जानकारी दिए।
सुर्नया गाउँपालिकाको वडा नम्बर ८ को सेलागाउँमा मकैबाली हावाहुरीले नष्ट गरेको स्थानीय गीता साउँदले बताइन्। उनले भनिन्, ‘मकैको घोगा लाग्ने बेलामा हावाहुरीले मकैबालीमा व्यापक क्षति पुर्याएको छ। यसले गर्दा गाउँलेहरु भोकमरी हुने चिन्तामा परेका छन्।’
बैतडीमा मकैबाली मुख्य खाद्यबालीको रुपमा रहेको छ। १४ हजार हेक्टर बढी जमीनमा मकैखेती हुँदै आएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। उनले भने, ‘यो वर्ष हावाहुरीले धेरै ठाउँमा मकैबालीमा क्षति पुर्याएको खबर प्राप्त भएको छ। यसले खाद्यान्न संकट निम्तिने खतरा छ।’
प्रतिक्रिया दिनुहोस !