जोगवनी नाकामा भारतीयको अवरोध, विराटनगर भन्सार ठप्प

जोगवनी नाकामा भारतीयको अवरोध, विराटनगर भन्सार ठप्प

विराटनगर : बाढीका कारण मिरगञ्ज पुल कमजोर भएको बहना बनाउँदै भारतीय पक्षले  जोगवनी नाकाबाट नेपालतर्फ हुने आयातमा अवरोध गरेको छ। जोगवनीबाट ४ किलोमिटर टाढा रहेको पुल हुँदै गत शनिबारदेखि मालबहाक सवारी साधन नेपाल भित्रन पाएका छैनन्। 

जोगवनी नाकाबाट हुने आयातमा यो पुलको विकल्प अर्को छैन। निरन्तरको वर्षासँगैको बाढीले पुललाई ठूलो असर गरेको बहाना बनाएर भारतीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि भन्दै मिरगञ्ज पुलबाट नेपालतर्फ आउने कुनै पनि मालबहाक सवारी साधन प्रवेश गर्न नदिएको हो। 

मालबहाक सवारी साधन आवतजावत हुन नसक्दा विराटनगर भन्सार ठप्प जस्तै बनेको छ। मिरगञ्ज पुल कटिसकेका र भारतीय आईसीपीमा रहेका एक÷दुईवटा मालबहाक सवारी साधन मात्रै फाट्टफुट्ट नेपाल प्रवेश गरिरहेको विराटनगर भन्सारका अधिकृत एवं सूचना अधिकारी मनिराम पौडेलले बताए। 

‘मिरगञ्ज पुल हुँदै भारतीय प्रशासनले शनिबारबाट माल लोड भएका एउटा पनि गाडी छिर्न दिएको छैन,’ उनले भने, ‘अर्को आदेश नभएसम्मका लागि भनेर रोक लगाएको छ।’ 

बढी भार भएका गाडीका कारण बाढीले कमजोर बनेको पुलमा क्षति पुग्न सक्ने दाबी भारतीय पक्षको रहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ। भारतीय पक्षले पुलमा ठूला सवारी साधन आवतजावतमा रोक लगाएर शनिबारदेखि भन्सार नाका ठप्प हुँदा विराटनगर भन्सारको राजस्व असुली प्रभावित बनेको पौडेलले बताए। 

‘भारतले मालबहाक सवारी साधनलाई रोक लगाएपछि तनाव थपिएको छ,’उनले भने,‘पुलबाट गाडी आवतजावत गर्ने वातावरण मिलाइदिन भारतीय पक्षसँग हामीले आग्रह गरिरहेका छौं।’ 
उनले भारतले पुलमा पूर्ण रुपमा रोक लगाएपछि भारत तथा तेस्रो मुलुकबाट हुने आयात र नेपालबाट हुने निर्यात पूर्ण रुपमा प्रभावित बनेको जानकारी दिए । 

भारतीय अवरोधका कारण खाली गाडी समेत पठाउन नपाइएको पौडेलले बताए। नेपाल र भारत सरकारको प्राथमिकतामा यो पुल नपर्दा सधैं जसो दुःख र कष्ट भोग्न उद्योगी व्यवसायी बाध्य हुनु परेको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले बताए। 

‘पटक–पटक सम्बन्धित निकायलाई पुलको विकल्पबारे ध्यानाकर्षण गराउँदासमेत ती निकायले वास्ता गरेनन्,’उनले भने,‘अहिले आएर औद्योगिक कच्चा पदार्थ तथा अन्य उपभोग्य वस्तु बोकेका सवारी साधन भारतीय भूमिमै रोकिएका छन् ।’ 

राउतले यो वा त्यो बहानामा भारतले अवरोध गरिरहने भएका कारण मिरगञ्ज पुलको विकल्प तत्काल खोजिनु पर्नेमा जोड दिए। राउतले पटक–पटक यहि पुलमा हुने अवरोधका कारण प्रदेश १ का धेरै उद्योग संकटग्रस्त बनेर बन्द हुने अवस्थामा पुगेको बताए। 

‘नेपाल सरकारले तत्काल समस्याको दीगो समाधानका लागि पहल गर्नु पर्ने देखिन्छ,’ उनले भने, ‘यस विषयमा नेपाल र भारत दुवै सरकार गम्भीर भएको पाएन।’ 

राउतका अनुसार भारतीय पक्षले पुलमा अवरोध गरिदिन साथ आयात पूर्ण रुपमा बन्द हुन्छ। यसको विकल्पका रुपमा सुनसरीको भण्टाबारी नाका प्रयोग गर्नु पर्ने अवस्था आयो भने त्यसो भन्दा दुर्भाग्यपूर्ण अरु केही नहुने उद्योगी व्यवसायीको गुनासो छ। भण्टाबारीबाट आयात गर्दा निक्कै ठूलो समस्या बेहोर्नु पर्ने र ढुवानी भाडा पनि महँगो पर्ने राउतले बताए।

‘दुई वर्ष अघि पनि मिरगञ्ज पुलमा समस्या भएर भारतीय पक्षले रोक लगाउँदा  भण्टाबारी नाका प्रयोग गरिएको थियो,’ उनले भने, ‘त्यो नाकाबाट समय र ढुवानी खर्च बढी लाग्छ ।’

त्यसले उत्पादन लागत समेत बढ्ने र त्यसले उपभोक्ता तथा उद्योगी, व्यवसायीलाई भार थपिने राउतको भनाइ छ। २०७४ सालको भीषण बाढीले क्षति पुगेको सो पुलबाट पछिल्लो समय ४० मेट्रिक टन सम्मका सवारी साधन मात्रै भित्रन दिने गरिएको थियो। त्यसभन्दा बढी तौलसहित मालसमानको सवारीसाधन सुनसरीको भण्टावारी हुँदै भित्रने गरेका थिए।  वर्षा कम भएर पानीको बहाव कम भएपछि भारतीय पक्षले मालबहाक सवारी साधन सहज रुपमा आउन दिने अपेक्षा गरिएको सूचना अधिकारी पौडेलले बताए। 

भारतबाट जोगवनी नाका हुँदै दैनिक तीन सय ५० बढी मालवहाक सवारी साधन नेपाल भित्रिने गरेका छन् । जसबाट दैनिक करिब १५ करोड रुपैयाँ बढी राजस्व संकलन हुने गरेको भन्सारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.