महाकाली किनारमा दाउरा निकाल्न जाँदा बालक बेपत्ता
बैतडी : महाकाली नदीमा बगेर बैतडीका एक बालक बेपत्ता भएका छन् । पञ्चेश्वर गाउँपालिका–२ बास्कुका जनक चन्दका छोरा १२ वर्षीय सन्दीप चन्द बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिएका छन् ।
प्रहरीकाअनुसार बुधबार बिहान सात बजे नदीले बगाएर ल्याएको दाउरा निकाल्नका लागि महाकाली नदी छेउमा पुगेका चन्दलाई बगाएको हो। बेपत्ता सन्दीपको खोजी कार्य भइरहेको हालसम्म फेला नपरेको प्रहरी निरीक्षक पातलीले बताए।
सन्दीप देवथला माविमा कक्षा ८ मा अध्ययनरत थिए। लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाब बढेको छ । मंगलबार रातिको वर्षाले पुरचौंडी नगरपालिका–१० गोरागाउँका बिरुवा पार्की र जन्तरा पार्कीको घर भत्किएको छ । घर भत्किँदा जन्तराको पिठ्युमा समान्य चोट रहेको प्रहरीले जनाएको छ । घर भत्किँदा करीब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !