तारानाथलाई धर्मराज पुरस्कार
काठमाडौं : जनकविकेशरी धर्मराज थापा र उनकी पत्नीको नाममा स्थापित यस वर्षको ‘धर्मराज-सावित्री थापा लोकसाहित्य-संस्कृति पुरस्कार’ डा. तारानाथ शर्मालाई प्रदान गरिएको छ। नेपाल प्रज्ञा-प्रतिष्ठानको सभाकक्षमा जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले डा. शर्मालाई पुरस्कार प्रदान गरे। पुरस्कारको राशि ५० हजार रुपैयाँ छ। डा. शर्माले भने, ‘सत्यमोहनजीसँग कुम जोडी बस्ने सौभाग्य सधैं जुर्दैन। जनकविकेशरीको नाममा स्थापित पुरस्कार सत्यमोहनजीको हातबाट थाप्न पाउँदा मेरो लेखन यात्रा अझ बढ्नेछ।’
पुरस्कृत व्यक्तित्वबारे बोल्दै प्रा. राजेन्द्र सुवेदीले डा. शर्मा नेपाली निबन्धको युगपुरुष भएको अभिव्यक्ति दिए। जनकविकेशरीको जन्मोत्सवका अवसरमा गरिएको कार्यक्रममा उनको बारेमा उनकी छोरी गायिका ज्ञानु राणा, प्राडा अभि सुवेदी, नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ, गायक कुमार बस्नेतले समेत विचार राखे। प्राडा सुवेदीले भने, ‘जनकवि केआई सिंहका भक्त थिए। उनले महेन्द्रको सवाईसमेत लेखे पनि नेपाल देशलाई जहिल्यै पनि राजाभन्दा माथि पारेर लेखे।’
सोही कार्यक्रममा भारतको मणिपुरमा नेपाली विषय पढाउने भवानी अधिकारी र कृतिमणि खतिवडा, बर्मामा नेपाली विषय पढाउने कुसुम गौतम र ओमबहादुर बगाले थापालाई पनि सम्मान गरिएको थियो।
जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए।