बस र भ्यान ठोक्किएर दुर्घटना, एकको मृत्यु, २४ घाइते
विराटनगर : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिविर डाँडामा बस र पिकअप भेन ठोक्किएर दुर्घटना भएको छ। प्रहरीकाअनुसार दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
बिहीबार बिहान ९ बजेर १० मिनेट जाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिएका छन् । मृतक पुरुष र घाइते हुनेको हालसम्म परिचय खुल्न सकेको छैन । बसले किचिरहेको अवस्थामा एक जनाको शव निकालेर पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगिएको डीएसपी अधिकारीले बताए ।
दुर्घटनास्थल र त्यहाँ भेला भएका स्थानीय।
अधिकारीकाअनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस र दक्षिणबाट राजमार्गमा निस्कँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअप भेन ठोक्किंदा दुर्घटना भएको हो । बस मोरङको रमाइलोबाट काँकडभिट्टातर्फ गइरहेको थियो । प्रहरीले तत्काल घटनास्थलमा पुगी घाइतेहरुलाई उद्धार गरेर पथरी अस्पतालमा उपचारका लागि भर्ना गरेको डीएसपी अधिकारीले जानकारी दिए।
पथरीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण र न्युरो लगायतका अस्पताल पठाइएको उनको भनाइ छ ।
दुर्घटनामा बस र भ्यानमा क्षति पुगेको छ । सडकमा पल्टिएको बस र भेनलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले उठाएको थियो ।

दुर्घटनामा परेर क्षति पुगेको बसको भित्री भाग
प्रतिक्रिया दिनुहोस !