पाँच दिनपछि खुल्यो जोगवनी नाका
विराटनगर : जोगवनी नाका पाँच दिनपछि सञ्चालनमा आएको छ। भारतीय पक्षले बाढीका कारण मिरगञ्ज पुल कमजोर भएको भन्दै नेपालतर्फ हुने आयातमा अवरोध गरेसँगै नाका ठप्प थियो।
जोगवनीबाट ४ किलोमिटर टाढा रहेको पुल हुँदै गत शनिबारदेखि मालवाहक सवारी साधन नेपाल भित्रन पाएका थिएनन्। वर्षासँगैको बाढीले पुललाई असर गरेको भन्दै भारतीय पक्षले मालबाहक सवारी साधानलाई रोक लगाएपछि भारत तथा तेस्रो मुलुकबाट विराटनगर भन्सारमा हुने आयात ठप्प भएको थियो।
नाका सुचारु भएसँगै भन्सारको काम नियमित भएको विराटनगर भन्सारका अधिकृत एवं सूचना अधिकारी मनिराम पौडेलले बताए। ‘मिरगञ्ज पुल हुँदै भारतीय प्रशासनले शनिबारबाट माल लोड भएका एउटा पनि गाडी छिर्न दिएका थिएनन्,’ उनले भने, ‘बुधबारदेखि भारतीय पक्षले मालबहाक सवारी साधन सञ्चालनको अनुमति दिएको छ।’ पौडेलका अनुसार ४० मेट्रिक टनसम्मको भार रहेका मालबहाक सवारी साधन मात्रै सञ्चालनको अनुमति भारतीय प्रशासनले दिएको छ।
गाडी सञ्चालनमा रोक लगाइएपछि विराटनगर भन्सारको राजस्व असुली प्रभावित बनेको थियो। नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले दुवै देशका सरकारले प्राथमिकता दिएर पुललाई नियमित चल्ने वातावरण बनाउनु पर्ने बताए। राउतले पुलमा हुने अवरोधका कारण औद्योगिक कच्चा पदार्थ बोकेका गाडी बीचमै थन्किंदा समस्या हुने गरेको बताए।
भारतबाट जोगवनी नाका हुँदै दैनिक तीन सय ५० बढी मालवाहक सवारी साधन नेपाल भित्रिने गरेका छन्। जसबाट दैनिक करिब १५ करोड रुपैयाँ बढी राजस्व संकलन हुने गरेको विराटनगर भन्सारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !