विद्यालयमा मदिरा भोज
![विद्यालयमा मदिरा भोज](https://annapurnapost.prixacdn.net/media/albums/madira-bhoj-school_20190718072118_6WIoc5XJUI.jpg)
चितवन : विद्यालयमा मदिरा भोज। त्यो पनि प्रधानाध्यापकको नेतृत्वमा। रत्ननगर नगरपलिका–९ स्थित कपोरखोरी माविका प्रधानाध्यपक विष्णु कट्टेल, सह–प्रधानाध्यापक कृष्णविलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवननिर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाल मदिरा भोजमा रमाइरहेको अवस्थामा पक्राउ परे। रातको समयमा विद्यालय परिसरमा मदिरा भोज गरिरहेको अवस्थामा उनीहरु रंगे हात पक्राउ परेका हुन्।
बगाले शिक्षक अभिभावक संघका अध्यक्ष पनि हुन्। कर्मचारीसहित प्रधानाध्यपक मदिराले मातेको अवस्थामा फेला परेर स्थानीयले प्रहरीलाई बुझाएका हुन्। विद्यालयको कोठाभरी चुरोटका बट्टा, मदिराका बोतल छरिएका थिए। ‘राती बत्ति बलेको देखेर चोर आयो कि भनेर हेर्न जाँदा मदिरामा मस्त भएको अवस्थामा फेला पारेका हौं’, व्यवस्थापन समितिकी सदस्य उर्मिला पासवानले भनिन्, ‘जिम्मेवार मान्छेबाटै यस्तो हविगत हुनु लज्जाको विषय हो।’
विद्यालयमा नयाँ भवन निर्माणको लागी जग खनिएको थियो। भवन निर्माणको काम भइरहँदा उनीहरुले विद्यालय परिसरमै भोज गरेका हुन्। मंगलवार राति ९ विद्यालयमा बत्ति बलेको देखेपछि चोरी हुन सक्ने आशंकाले पुगेका स्थानीयले मदिरा भोज देखेपछि प्रहरीलाई खबर गरेका थिए। असार मसान्तको हिसाब फस्र्योटपछि उनीहरु मदिरा पार्टीमा रमाइरहेका थिए।
इलाका प्रहरी कार्यालयले उनीहरुलाई नगरपालिकाको जिम्मा लगाएको छ। शिक्षा नियमावलीअनुसार कारवाही गर्न नगरपालिका पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले बताए। ‘स्थानीयको सक्रियतामा मदिरा सेवन गरीरहेको अवस्थामा विद्यालय परिसरबाटै पक्राउ गरिएको हो’, कोइरालाले भने, ‘शिक्षासँग सम्बन्धित भएकाले शिक्षा ऐनअनुसार अनुसन्धान र कारवाही गर्न जिम्मा लगाएका हौं।’
नगरपालिकाका शिक्षा शाखा प्रमुख बद्रि शर्माले स्थानीय शिक्षा ऐनअनुसार कारवाही हुने बताए। ‘पहिले स्पष्टीकरण सोध्छौं’, शर्माले भने, ‘स्थानीय शिक्षा ऐन आकर्षित हुने गरी नगरप्रमुखसँग छलफलपछि अगाडी बढ्नेछौं।’ पक्राउ परेकाले भने विद्यालयमा चोरी हुन थालेकाले आफुहरु कुर्न बसेको तर्क गरेका छन्। ‘चोरी हुने खतरा भएकाले हामी कुर्न बसेका हौं’, लेखापाल बालकृष्ण पौडेलले भने। उनले आफुहरुले मदिरा सेवन नगरेको दावी पनि गरे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)