विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि तालिम
बैतडी : विपद्को समयमा खोज तथा उद्धार गर्ने जनशक्ति तयार गर्ने उद्धेश्यले बैतडीमा तालिम दिइएको छ। बाढी पहिरोको समयमा समुदायस्तरमा प्रथम उद्धारकर्ता तयार गर्ने उद्देश्यले तीनदिने सामुदायिक खोज तथा उद्धार र आपतकालीन स्वास्थ्य तालिम दिइएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले बताए। उनले भने, 'विपद् कतिखेर आउँछ कसैलाई थाहा हुँदैन।विपद् जोखिम न्यूनीकरणका लागि स्थानीयस्तरमा दक्ष जनशक्ति बनाउन तालिम दिइएको हो।'
रेडक्रसले युनिसेफको सहयोगमा सञ्चालन गरिरहेको बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत दशरथचन्द नगरपालिकाका प्रत्येक वडाका दुईजनालाई तालिम दिएको पाण्डेले बताए। उनले भने, 'बैतडीमा पहिरोको जोखिम छ। पहिरो आएको बेला कसरी बच्न सकिन्छ। उद्धार कसरी गर्न सकिन्छ भन्ने विषयमा स्थानीय नागरिकलाई जानकारी गराएका छौं।'
तालिममा सामुदायिक खोज उद्धारसँग सम्बन्धित विषय सूचना तथा सञ्चार, जोखिम नक्सांकन, खोज तथा उद्धारको अवधारणा, विपद व्यवस्थापन, भुकम्पीय प्रतिकार्य, बाढी तथा पहिरो प्रतीकार्य, आगलागीको प्रतिकार्य, खोज तथा उद्धारका विधि, महामारी, झाडापखला, श्वासप्रश्वासजन्य रोग, किटजन्य रोगलगायतका विषयसम्बन्धी तालिम दिइएको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम व्यवस्थापक अनिल महर्जनले बताए ।
तालिमले विपद्को जोखिम न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !