पम्फा भन्छिन् : पैसा खाने कर्मचारीको नाम छ कारवाही गर्नुहुन्छ ?
काठमाडौं : कर्मचारी प्रशासनले जनतालाई अनावश्यक दुःख दिने गरेको भन्दै सांसदले असन्तुष्टि जनाएका छन् । समिति बैठकमा सांसदले जनतालाई सहज सेवा दिनका लागि अनुशासनमा कडाई गर्नुपर्ने बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्दै सांसदले यस्तो बताएका हुन् ।
‘हाकिमले आएको फाइललाई कति दिनभित्र हस्ताक्षर गर्ने हो, त्यो राखौँ’, सांसद पम्फा भुसालले भनिन्, ‘हामी गएका बेला हाम्रा काम त भटाभट हुन्छ । तर जनताको काम हुँदैन । अब हाकिमले तीन दिनभित्र आफ्नोमा आएको हुने वा नहुने कारणसहित दिने व्यवस्था मिलाऔँ।’
भुसालले घुस नखाई कर्मचारीले कामै नगर्ने भन्दै दुखेसो गरिन् । ‘अहिले मेरो जिल्ला (ललितपुर)को मालपोतमा जानुभयो भने आनाको एक लाख नखाई जग्गा पास गर्दैन।
जिल्लामा ढुंगागिट्टी खानी छ । त्यहाँ आउने जिम्मेवार प्रशासकले महिनावरी लिएर खान्छन्’, भुसालले भनिन्, ‘म कहाँ रिर्पोट आउँछ क–कस्ले खान्छन्, कारवाही गर्न सक्नुहुन्छ ? म कहाँ उजुरी लिएर आउँछन् । उनीहरुको नाम र नम्बर छ ।’ यस्ता गतिविधि रोक्न विधेयकमै व्यवस्था गरेर जानुपर्ने उनले बताइन् ।
प्रक्रिया मिले पनि कर्मचारीले सेवाग्राहीको काम गर्न आलटाल गरे कारवाही गर्नुपर्ने सांसद रामसहाय प्रसाद यादवले बताए । ‘कर्मचारीका कारण काम नहुँदा सेवाग्राहीले क्षति भोग्नुपर्यो भने त्यसको क्षतिपूर्ति त्यो कर्मचारीले व्यहोर्नुपर्ने व्यवस्था गर्नुपर्छ’, सांसद शर्माले भनिन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लाबलबाबु पण्डितले प्रशासन क्षेत्रमा सुधारको आवश्यक रहेको बताए । उनले कर्मचारीलाई ‘ड्युटी आवर’मान अर्को काम गर्न नदिने गरी अघि बढ्ने बताए । ‘प्रशासनलाई जनमुखी र कार्यमुखी बनाउन हामी लगौँ’, उनले भने, ‘यसमा म र मन्त्रालय तयार छ ।’
प्रतिक्रिया दिनुहोस !