कास्मिर लगिँदै गरेका १० जनाको उद्धार, तीनजना पक्राउ
विराटनगर : आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारतको जम्मु–कास्मिरमा लगिँदै गरेका १० जनाको नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।
सुनसरीको घुस्की नाकाबाट दुई युवती र आठ युवकको उद्धार गरिएको हो । मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले सुनसरी प्रहरीसँग समन्वय गरेर भारत कटाउनै लाग्दा उनीहरुको बिहीबार साँझ उद्धार गरेको बताएको छ ।
उर्लाबारी नगरपालिका–४ घर भएका सबैलाई शनिबार अभिभावकको जिम्मा लगाएर पठाइएको छ । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार ओभर टाइमसहित मासिक भारतीय १७ हजार रुपैयाँ कमाइने भन्दै सबैलाई जम्मु–कास्मिर लैजान लागिएको पुष्टि भएको हो ।
अवैध रुपमा विदेश लैजाने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी–४ का ४८ वर्षीय पुड्का उराव, उनकी श्रीमती ४५ वर्षीया फूलकुमारी उराव र सुनसरीको हरिनगरा–७ का ४० वर्षीय अफिज अन्सारी पक्राउ परेका हुन् ।
पक्राउ परेकामध्ये उराव दम्पत्तिले गाउँघरबाट सोझा मानिसलाई काममा लगाइदिने भन्दै अन्सारीको सम्पर्कमा पु¥याउने धन्धा नै गरेको खुलासा भएको छ । उराव दम्पत्ति र अन्सारी पक्राउ परे पनि अन्सारीका अर्का सहयोगी भने फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुलाई भने शुक्रबार मानव बेचबिखन मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले कास्मिर लगेर काम लगाइदिने भन्दै मानव बेचविखन गर्न लागेको खुलासा भएको छ । यसअघि नै कास्मिरबाट ज्यान जोगाएर आएकाहरुले पनि त्यहाँको दर्दनाक अवस्था बारे प्रहरीलाई भनेका थिए ।
प्रतिक्रिया दिनुहोस !