बिरामीको मृत्युपछि अस्पताल तोडफोड
विराटनगर : विराटनगरको नोवेल शिक्षण अस्पतालमा घुँडाको शल्यक्रिया गरिएका सुनसरीको दुहवी नगरपालिका–६ का ५० वर्षीय अनिलकुमार साहको आइतबार मृत्यु भएपछि उनका परिवार आन्दोलित बनेका छन्। शनिबार शल्यक्रिया गरिएका उनलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेपछि उपचारमा लापरबाही भएको भन्दै घटनाको विरोधमा आफन्त र दुहवीका स्थानीयले अस्पतालमा प्रदर्शन गरेका छन्।
दुहवी बजार बन्द गराएर आफन्त र स्थानीयले नोवेलमा नाराबाजी गर्दै प्रदर्शन सुरु गरेपछि अवस्था असामान्य बनेको थियो। सुरक्षा व्यवस्था मिलाउन र कुनै पनि घटना हुन नदिन भन्दै अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपरेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए।
उपचारमा चिकित्सकले लापरबाही गरेको भन्दै शव जिम्मा लिन अस्वीकार गरेर विरोधमा उत्रिएकाहरुले चिकित्कसलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन्। घरबाट मोटसाइकल निकाल्ने क्रममा गत बिहीबार साहको घुँडामा चोट लागेको थियो।
भाइ प्रदीप साहकाअनुसार त्यही दिन उनी नोवेलमा उपचार गराएर घर फर्किएका थिए। साह शुक्रबार फलोअपका लागि आएका थिए। त्यस क्रममा शल्यक्रिया गर्नुपर्ने भन्दै अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. धिरज सिंह नेत्रृत्वको चिकित्सक टोलीले घुँडाको शल्यक्रिया गरिदिएको थियो।
घुँडाको चोट बढ्दै गएपछि चिकित्सकले नै शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको भाइ प्रदिपले बताए। शल्यक्रियापछि परिवारका सदस्यलाई बिरामी भेट्नसमेत नदिइएको र एकै चोटी मृत्यु भएको भनेर जानकारी मात्रै गराइएको उनको गुनासो छ। उनले भने, ‘घुँडाको शल्यक्रिया गर्दा मान्छे नै मर्नु भनेको चिकित्सकको लापरबाहीबाहेक केही हुनै सक्दैन।’
मृत्युको खबरसँगै आक्रोशित बनेका स्थानीय र आफन्तले भने दुहवी बजार बन्द गराएर यातायात ठप्प पार्ने प्रयास गरे। उनीहरुले दिनभर बजार र पसल खुल्न दिएनन्। प्रदीपले समस्या सुल्झाउन भनेर अस्पताल प्रशासन र पीडित पक्षबीच आह्वान गरिएको वार्ता आइतबार साँझ बिना निस्कर्ष टुंगिएको बताए। शर्माको अनुपस्थितीमा वार्ता असफल भएको जनाउँदै उनले माग पूरा गर्न चासो नदिए सोमबार बजार, यातायातका साथै सुनसरी–मोरङ औद्योगिक करिडोर ठप्प पार्ने चेतावनी दिए। शर्मासँग भने सम्पर्क हुन सकेन।
अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले उपचारका क्रममा मृत्यु भएको घटनालाई चिकित्सकको लापरबाहीसँग जोड्न नहुने बताए। ‘चिकित्सकले साहको मृत्यु ‘हर्ट अट्याक’बाट भएको भनेर अस्पताललाई जानकारी दिएका छन्,’ उनले भने। शल्यक्रियापछि वार्डमा सार्ने क्रममा यस्तो घटना भएको दाहालले बताए। बिरामीलाई बचाउन तत्काल आईसीयूमा राखेर धेरै प्रयास गरे पनि बचाउन नसकिएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !