योगमायाको गन्तव्य

योगमायाको गन्तव्य

प्रकृति पूजामा समर्पित हाम्रो धर्म, संस्कृति भएर होला। कालीगण्डकीका तीरका चिल्ला ढुंगा शालिग्राम भगवान् भएका छन्। भरिया र बटुवाले चढाएका फूलपाती, ढुंगा र ध्वजाले कालान्तरमा प्रत्यक देउराली दन्त्यकथाका देवस्थल बनेका छन्। तर योगमायाको वियोगको कथाले भने उन्नाईसौं शताब्दीको महिलानेत्रीको संघर्ष र मुक्तिको आलो गाथा गाएको छ। योगमायाको जन्म १९२५ सालमा नेपाले डाँडा गाविसको सिम्ले भन्ने ठाउँमा भएको थियो। सात वर्षको उमेरमा भोजपुर जिल्लाको भुल्के घोघ्लेमा मनोरथ कोइरालासँग बिहे भयो, तर दुई वर्ष नबित्दै पतिको निधन भयो। समाज र घरपरिवारले अलच्छिनी र पोई टोकुवी भनेर हेलाँ गर्न थाले। जसोतसो १४ वर्ष बिताएर योगमाया एक रात एक्लै भागिन्। तीन दिन लगाएर वनको बाटो माइतीघर गइन्। ब्राह्मणकी छोरी तीन दिनसम्म बाहिर रहेकी भनेर माइतीले स्वीकार गर्न मानेन भने घर फर्कन योगमायाले मानिनन्। यस्तै अस्वीकृत अवस्थामा झन्डै दुई वर्ष माइतीमा बिताइन्।

अन्ततः योगमाया, कँडेल थरका युवकको परिवारको साथमा आसाम फूलबारीको खेतीपातीमा लागिन्। त्यही कँडेल युवकसँग विवाह गरिन्। १९५६ सालमा कँडेलको निधन हुँदा त्यतापट्टिकी छोरी बाटुलीलाई छोडेर फेरि डोटेल थरका जैसीसँग यिनको बिहे भयो। १९६६ को भदौमा छोरी नैनकलाको जन्म भयो। त्यसबेला योगमाया फूलबारीमा हुने प्रत्येक रुद्री र पुराणमा नियमित रूपमा सामेल हुन्थिन्। एक दिन पतिपत्नी दुवैको उपस्थितिमा पण्डितले ‘परस्त्री वा परपुरुषगमन गर्नाले रौरविय नर्कको यातना भोग्नुपर्छ, तर अज्ञानवश त्यस्तो अपराध गरेको रहेछ र ज्ञान प्राप्त भएपछि त्याग्यो भने त्यसको प्रायश्चित हुन्छ’ भनी सम्झाए। त्यसपछि घर गएर सल्लाह गरी दुवैले छुट्टिने निर्णयमा पुगे भन्ने निष्कर्ष संस्कृतिविद् जनकलाल शर्माको छ।

तर त्यति मात्र त्यसको कारण नहुन सक्छ। उनमा आएको वैराग्य र जन्मभूमिको भक्तिले योगमायालाई नेपाल फर्काएको प्रमाण उनका कार्यकलापले सिद्ध गरेका छन्। उनी सर्वप्रथम बद्रीनाथको तीर्थाटनमा गइन्। त्यहाँ भेटिएका साधुहरूको सल्लाहमा यिनले स्वर्गद्वारी महाप्रभू अभयानन्द द्वितीयबाट दीक्षा लिएकी थिइन्। शिवभक्त योगमाया हरिभजनमा अरू जोसमनी सन्तजस्तै लिन थिइन्। उनले भोजपुरको मझुवाबेंसीको आफ्नो कुटीलाई भजनकीर्तनमय बनाइन् भने पं प्रेमनारायणलाई भजन गाउन काठमाडौं पठाएर ‘हरे राम प्रभु’ को नामले प्रसिद्ध बनाए। त्यसका अलावा विद्रोहको चेत र नेतृत्वको क्षमता भएकाले नै योगमायाका सन्त कविता ‘हजुरवाणी’ का रूपमा जनजिब्रोमा रमाउन थाले।

योगमायाको देहत्याग क्रान्ति र विद्रोहको पक्षमा हुँदाहुँदै पनि बलिदानको गन्तव्य गतिहीन भएको छ।

आदि सन्तकवि दिलदासबाट प्रभावित योगवाणीमा जातपात, ब्राह्मणवाद र कर्मकाण्डको विरोध पाइन्छ। ब्रह्मज्ञान प्राप्ति र मुक्तिको चिन्तनबाट माथि उठेर योगमायाले साधु, साहु, तीर्थयात्री, पण्डित र ज्योतिषीको समेत विकृतिमाथि प्रहार गरेको साक्षी उनीद्वारा रचित ‘श्री सर्वार्थ योगवाणी’ लाई मान्न सकिन्छ। छोरी नैनकलालाई आठ वर्ष हुँदा योगमायाले सुनाएका २३४ श्लोकहरू १४ वर्षपछि नैनकलाले १९८८ मा पं प्रेमनारायणलाई हुबहु टिपाएको पुस्तकमा ऊल्लेख छ।

योगमाया राणाहरूको राजनीतिक निरकुंशता, एकतन्त्री शासन र न्यायिक विसंगतिको विरुद्ध थिइन्। ‘सत्य धर्मको’ भिक्षा मागी जुद्धशमशेरकहाँ दलबलसहित पुगेकी योगमायालाई जुद्धशमशेरले पशुपतिको बज्रघरमा भेटेर माग पूरा गर्ने आश्वासन पनि दिए। तर वचन पूरा भएन। प्रतिरोध खातिर १९९५ सालमा अग्निसमाधिको योजना बनाए पनि यो आन्दोलनलाई राणाहरूले कठोरतापूर्वक दबाएका थिए। योगवाणीमा महाराजमाथि यसरी आक्रोश पोखिन‘महाराज छन् दरबारमा हेर्न आउँदैनन्, दुःखीजनले नियानिसाफ सीधा पाउँदैनन्।’

त्यसपछि १९९८ साल असार २२ गते शनिबार जलसमाधिमा जानेहरूले ‘राणा शासन नाश होस्’ भनी नारा लगाएका थिए। योगमायाका साथमा ६६ जना पुरुष, महिला तथा बालबालिका त्यसमा पनि अन्य दुई महिलाले समाधि लिएपछि जम्मा ६८ पुगेको थियो। योगमाया मूलतः धार्मिक प्रवृत्तिकी महिला हुन्। ७३ वर्षको उमेरमा देहत्याग गरेकी योगमायाले सामूहिक जलसमाधिबाट विश्वलाई नै चकित पार्‍यो। सती र दासप्रथाको विरोध र विधवा विवाहको अग्रणी भएर योगमाया महिला अधिकारकर्मीको रूपमा स्थापित भइन्। उनले गाउँघरमा ठूला र साना पाथी चलाउने, अन्न पचिसा लाउने गरिबमारा नीतिको विरोधमा पनि चर्को संघर्ष गरिन्। यिनको विद्रोहसंग्रामबाट प्रभावित भएर अमेरिकी समाजशास्त्री बारबरा निम्री अजिज र बेलायती प्राध्यापक माइकल हटले स्थलगत खोज र सोध गरेर विद्रोही महिला अधिकारकर्मीको ठहर गरेपछि मात्र नेपाली विद्वान्हरूका आँखा खुलेका छन्।

महाकवि देवकोटाका बारेमा पनि राँची अस्पतालका डा. रबर्ट र शान्त भवनका डा. मिलरले देवकोटा गलत देशमा जन्मेकाले उनको कवित्वले अल्पायु वरण गरेको भनेपछि मात्र देवकोटालाई आधुनिक नेपालले हाईहाई गरेको थियो। योगमायाका बारेमा पनि पुस्तक लेखिए। नाटक खेलिए। नीलम कार्कीले ‘योगमाया’ उपन्यास रचेर गत वर्षको मदन पुरस्कार हात पारिन्। पाँचवटाभन्दा बढी फाउन्डेसन खुलेका छन्। यद्यपि योगमायाको जन्ममिमि, उनका कविताको अधिकारिकता, आदिकविको प्रामाणिकताको खोजी बाँकी नै छ। आँसु कविता देखेर उनको ध्यान तपस्याका अलौकिक किम्वदन्तीको पनि उत्खनन गरेर वैज्ञानिक पुष्टि गर्न पाए भविष्यको पुस्ताले प्रश्न उठाउन पाउने थिएन।       

योगमायाको देहत्याग क्रान्ति र विद्रोहको पक्षमा हुँदाहुँदै पनि वैराग्यको भावबाट निर्देशित देखिन्छ। योगमायाको विचारमा कठोर तपस्या गरेर शुद्ध बनाउने अवस्थामा पाप रुमलिन सक्छ। पाप अझै बढ्न सक्छ। मुक्तिको ढोका खुलेकाले सबैजना जलसमाधिमा जान तयार हुनुपर्छ भन्ने उनको निष्कर्ष थियो। मुक्ति आन्दोलनको अन्तर्यको शोध हुनु त कता हो कता योगमायाको तपस्या क्षेत्र रहेको मझुवाबेंसी, उफ्रौलीटार र गौडिनीलाई पर्यटकीय धार्मिकस्थल बनाउने प्रयत्न पनि सरकारले गरेको छैन। बरु प्रतिष्ठानले विषयान्तर गरेर निरक्षर विभूतिलाई विदुषीमा रूपान्तरण गरेर आयुर्वेदिक विश्वविद्यालयको स्थापना गर्ने निर्णय गराएको थियो। यसवापत तत्कालीन शिक्षामन्त्रीलाई मरणोपरान्त थैली भेट गरेको समाचारले पुष्टि गरेको छ। सो विश्वविद्यालयको स्थापना पनि निर्माणस्थलको तीनतिरको तानातानले ओदान भएको छ। हुँदाहुँदा विश्वविद्यालय नेपालको दोस्रो संस्कृत विश्वविद्यालय दिङ्लामा खोल्ने बालगुरु षडानन्दको नाममा रहनुपर्ने जनमत प्रबल रूपमा उठेको छ। यसरी योगमायाको बलिदानको गन्तव्य गतिहीन भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.