सप्तरंगी लोकस्टार
नेपाली लोकगीतका प्रतिभा खोजी गर्दै नेपालमा पहिलो पटक भएको ‘आईएमई नेपाल लोकस्टार’मा सातै प्रदेशका लोककला प्रदर्शित भए। धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर, इटहरी र काठमाडौँमा भएका अडिसनबाट १ सय ९ जना प्रतिस्पर्धी छानिएका थिए।
नेपाली लोकगीतका प्रतिभा खोजी गर्दै नेपालमा पहिलो पटक सुरु भएको छ, ‘आईएमई नेपाल लोकस्टार’। प्रतियोगिताका लागि सुदूरपश्चिमको धनगढीदेखि पूर्वको इटहरीसम्म अडिसन गरियो। सातै प्रदेशमा भएका अडिसनमा देउडा, मारुनी, कौरादेखि सेलो, सालैज्यु, मैथिली गीतसम्म गुञ्जिए। अडिसनमा आफ्नो लोककला देखाउन साना बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी भए। सात ठाउँमा भएका अडिसनबाट दर्शकले विभिन्न ठाउँ, जाति, संस्कृतिबारे मात्र होइन, त्यहाँका मौलिक लोकसंस्कृति पनि हेर्न र बुझ्न पाए। सात प्रदेशका मौलिक कला र लोकभाकाले नेपाल लोकस्टारलाई सप्तरंगी बनाए। एपीवान टेलिभिजनबाट प्रसारण हुने लोकस्टारमा सातै प्रदेशका अडिसन र मेगा अडिसन प्रसारण भइसकेका छन्।
लोकस्टारको पहिलो प्रतिस्पर्धीका रूपमा कैलालीका अस्मित साउद ‘आँखैमा लाउने कालो गाजल’ गाउँदै मञ्चमा देखापरे। धनगढी अडिसनमा आएका उनले निर्णायकहरूको मन जित्न सकेनन्। उनी पछिका प्रतिस्पर्धीले पनि सोचेजस्तो गाउन नसकेपछि सुरुमा निर्णायक जयनन्द लामा, सुनीता दुलाल, बीबी अनुरागी र रामजी खाँड निराश देखिए। तर, केही समयपछि प्रतिभाशाली प्रतिस्पर्धी मञ्चमा उत्रिए। निर्णायकको भाव पनि बद्लियो। त्यही अडिसनमा बाजुराका पविन्द्र सुनारले चारै दर्शकबाट पाँच÷पाँच तारा पाएर ‘गोल्डेन स्टार’ बने। गोल्डेन स्टार जित्ने प्रतियोगीले सीधै उत्कृष्ट २० मा जान पाउने व्यवस्था गरिएको छ।
धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर, इटहरी र काठमाडौँमा भएका अडिसनबाट जम्मा १ सय ९ जना प्रतिस्पर्धी छानिएका थिए। अडिसनपछि काठमाडौँमा भएको मेगा अडिसनमा १ सय ९ बाट जम्मा उत्कृष्ट २० छान्ने योजना थियो। त्यसमध्ये तीन जना त गोल्डेन स्टार सीधै उत्कृष्ट २० मा परिसकेका थिए। निर्णायकलाई बाँकी १७ जना छान्न निकै हम्मे–हम्मे प¥यो। उनीहरूले कतिपय राम्रा प्रतिभालाई फाल्न सकेनन् र अन्ततः २२ जना छानेर जम्मा २५ जना पु¥याए।
तीन गोल्डेन स्टार
नेपाल स्टारले पहिलो सिजनमा तीन जना प्रतिस्पर्धीलाई ‘गोल्डेन स्टार’ दिएर सीधै टप २०मा छान्यो। प्रतियोगितामा सबैभन्दा पहिलो गोल्डेन स्टार बाजुराका पविन्द्र सुनारले पाए। धनगढी अडिसनमा सहभागी उनले ‘हिमाल हिउँ परी गयो’ बोलको देउडा गाएका थिए। त्यसै गरी, बुटवल अडिसनमा सहभागी रोल्पाका शनि विकले पनि गोल्डेन स्टार पाए। उनले निर्णायकसामु ‘तिरिरी मुरली बज्यो वनैमा’ गाएर मन्त्रमुग्ध पारे।
इटहरी अडिसनमा गाउन आइपुगेका रामेछापमा रामकुमार नेपालीलाई पनि निर्णायकले पाँच÷पाँच तारा दिए। ‘हिउँखोलीको हिउँको पानी’ गाएर निर्णायकको मन जितेका उनी गोल्डेन स्टार पाएर सीधै टप ट्वान्टीमा पुगे।
मेगा अडिसनबाट छानिनेहरू
सातै प्रदेशका अडिसनबाट छानिएका १ सय ९ जनाले मेगा अडिसन दिने अवसर पाएका थिए। पहिलो अडिसनबाट छानिएका प्रतिस्पर्धीले आफ्नो क्षमताले भ्याएसम्म मेगा अडिसनमा प्रस्तुति दिए। तर, उनीहरूमध्ये रविराज साह, सुषमाकुमारी झा, सुशील आचार्य, चेतन गोतामे, रेशम निर्दोष, मोहन केसी, रेश दूतराज, दया सुवेदी, विशाखा शाही, राजन मगर, रविन्द्र परियार, प्रभुराज पाण्डे, विनोद दनुवार, खगेन्द्र विक, दीपिका मगर, मुना अर्याल, जीतेश थापा, अर्जुन मिश्र, राजु गुरुङ, भीम नेपाली, दीपेन्द्र राई र दिवस लिम्बूले मात्र अघि बढ्ने अवसर पाए। १ सय ९ बाट २२ जना छान्न निकै गाह्रो भयो निर्णायकलाई। त्यसैले छान्नुअघि नै मुख्य निर्णायक वरिष्ठ गायक जयनन्द लामाले सहभागी सबैलाई सान्त्वना दिए।
गुरुको निर्णायक सुनीता
पोखरा अडिसनमा प्रतियोगिताकी निर्णायक सुनीता दुलालका गुरु सिरहाका रमेशकुमार महतो पनि सहभागी थिए। उनले हार्मोनियम बजाउँदै मैथिली गीत गाएका थिए। आफ्ना गुरुले गाउँदा सुनीता निकै नर्भस देखिन्थिन्। उनले गुरुलाई अरू निर्णायकले भन्दा बढी पाँचै स्टार दिइन्। उनी अडिसनमा सफल भए। उनले मञ्चबाटै खुशी व्यक्त गरे। उनले भने, ‘आज आफूलाई भाग्यमानी ठान्छु। किनभने, मैले पढाएको विद्यार्थी आज मेरै जज हुनुभएको छ।’ तर उत्कृष्ट २५ मा उनी देखिएनन्।
ज्येष्ठ र बालक बाहिरिए
नेपाल लोकस्टारको अडिसनमा केही ज्येष्ठ नागरिक र बालबालिकाले पनि राम्रो सम्भावना देखाएका थिए। इटहरी अडिसनमा भोजपुरका ६२ वर्षीय नैनसिंह शंकर पनि सहभागी थिए। उनले ‘कति राम्रो बत्तीसै दन्त’ गीत गाए। विभिन्न प्रतियोगिता जितिसकेका उनले अडिसनमा पनि जीत नै हात पारे। तर, मेगा अडिसनमा उनी सफल हुन सकेनन्।
जनकपुर अडिसनको मञ्चमा पनि ज्येष्ठ उमेरका सुवास विरपुरिया देखापरे। उनको गायन निर्णायकले पनि मन पराए र मेगा अडिसनको बाटो खोलिदिए। तर, मेगा अडिसनबाट उनी अघि बढ्न सकेनन्।
काठमाडौँकी सात वर्षीया रुक्सना श्रेष्ठको गायनले पनि निर्णायकको मन जित्यो। कक्षा १ मा पढ्ने उनको गायिका बन्ने सपना रहेछ। त्यही सपना पछ्याउँदै नेपाल लोकस्टारको अडिसनमा आइपुगेकी उनले ‘सुपारी जाईको माला’ गाएर पहिलो खुड्किलो पार गरिन्। मेगा अडिसनमा ‘गलबन्दी’ बोलको गीत प्रस्तुत गरिन्। तर, निर्णायकको मन जित्न सकिनन्।
इटहरी अडिसनमा धरानका बालक अरुण बराइलीले मारुनी गाएर निर्णायकको मन र मत जिते। उनले क्यारिकेचर पनि गरे। मेगा अडिसनसम्म पुगेका उनी त्यहाँबाट बाहिरिए। इटहरी अडिसनमै मोरङको गोविन्दपुरकी श्रेया विमली पनि सहभागी थिइन्। तीन कक्षामा पढ्ने श्रेयाको नेपाल लोकस्टार जितेर धेरै कुरा गर्ने सोच थियो। उनले भनेकी थिइन्, ‘५० लाख जितेर सडक बालबालिकालाई मद्दत गर्छु, बुबालाई एउटा पर्स, आमालाई पोते किनिदिन्छु, बहिनीलाई दुई वटा जामा अनि मलाई पेन्सिल, इरेजर किन्छु।’ तर, उनको यात्रा पनि मेगा अडिसनबाट अघि बढ्न सकेन।
पोखरा अडिसनमा दैलेखका तीन वादी बालक गाउन आइपुगेका थिए। आफन्त गुमाएपछि सडकमा गाउँदै–माग्दै हिँड्ने उनीहरूलाई मनकारी संस्थाले पोखरामा ल्याएर पढाउँदै रहेछ। उनीहरूको सपना गायक बन्ने रहेछ। उनीहरूले एकै साथ गाए र सफलता पनि पाए। तर, मेगा अडिसनमा उनीहरू छनोट हुन सकेनन्।
गायकका सन्तान
पहिलो लोकस्टारमा चर्चित गायकका सन्तानले पनि सहभागिता जनाए। काठमाडौँ अडिसनमा सिन्धुलीकी मनीषा घोरासाइनेले तारादेवीले गाएको ‘साँघुरी गढी नि हो त्यो धारापानी’ गाएर निर्णायकको मन जितिन्। चर्चित लोकगायक नवराज घोरासाइनेकी छोरी मनीषाको प्रस्तुति दमदार थियो। गायक नवराज पनि स्टेजमै पुगेर आफ्नो चर्चित गीत ‘घुम्तीनिर लेट भयो’ गाएर माहौल रमाइलो बनाए। तर, उत्कृष्ट २५ मा मनीषा पर्न सकिनन्।
काठमाडौँ अडिसनमा आफ्नो कला र गलाको परीक्षा दिन सिन्धुपाल्चोकबाट शोभा खाती पनि आइपुगेकी थिइन्। चर्चित गायक स्वर्गीय लालबहादुर खातीकी नातिनी शोभाले आफ्नै हजुरबुबाको गीत गाइन्, ‘ढुंगेबगर माया ढुंगेबगर’। नातिनीलाई गायिका बनाउने हजुरबुबाको सपना रहेको उनले अडिसनमा बताएकी थिइन्। संगीतको औपचारिक ज्ञान नभए पनि उनको गायनले निर्णायकलाई खुशी बनायो। पहिलो अडिसनमा सफल भए पनि उत्कृष्ट २५ मा भने पर्न सकिनन्।
मुख्न निर्णायक जयनन्द लामाले निर्णय सुनाउनुअघि सान्त्वना दिँदै भनेका थिए, ‘आज ज–जसको नाम आएन, उहाँहरूले म गएँ, खत्तम भएँ भन्ने नसम्झिनुस्। यस्ता अडिसन फेरि पनि आउँछन्।’