पुनः तात्यो क्रिकेट रंगशाला निर्माणको माहोल

पुनः तात्यो क्रिकेट रंगशाला निर्माणको माहोल

चितवन : गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामले फेरि तीव्रता पाउन थालेको छ। दुई महिनादेखि रोकिएको रंगशाला निर्माणको अभियानले पुन : गति लिएको हो।

रंगशाला निर्माणका लागि भएका गतिविधिले जिल्लामा माहोल तातिएको छ। रंगशाला निर्माणका लागि लगातार सहयोग हस्तान्तरण हुन थालेको हो। निर्माण अभियन्ता धुर्मुस सुन्तली फाउन्डेसनले काम रोकेपछि वातावरण सहज बनाउन जिल्लास्तरबाटै पहल थालिएको थियो।

रंगशाला निर्माणका लागि जिल्लामा रहेका सरोकारवालाको सहभागितामा समिति गठन तीव्र पारिएको छ। राजनीतिक दल, जनप्रतिनिधि, निजामती कर्मचारी, उद्योगी व्यवसायी समेटिएको ७२ सदस्यीय समिति गठन गरिएको छ। त्यसैबाट सात जना सदस्य रहेको सचिवालय समिति बनाइएको छ। जिल्लाभरिका सबै तह तप्काका व्यक्तिलाई समेटेर पाँच हजार एक सदस्यीय समिति गठन गरिएको छ।

स्थानीय तहमा छुट्टाछुट्टै समिति गठन गरिएको छ। बिहीबारसम्म रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिएको छ। रंगशाला निर्माणका लागि जिल्लाबासीलाई जागरुक बनाउन खोजिएको उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताए। ‘अहिले जिल्ला तातेको छ। चितवनबाटै माहोल तताउन सके यसको तरंग देशभर फैलाउन सकिन्छ भन्नेमा ढुक्क छौ’, उनले भने, ‘सबैलाई समन्वय गरेर सहयोग जुटाउन दौडधुप तीव्र पारिएको छ।’

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि अहिलेसम्म ६ करोड ५० लाख घोषणा भए पनि त्यो रकम उठेको छैन। घोषित सहयोग रकम संकलनका लागि पनि पहल थालिएको छ। समितिले निर्माणको वातावरण सहज बनाउने भन्दै आश्वासन दिएपछि फाउन्डेसन काममा फर्किएको हो। रंगशालाको बार भत्काएपछि माहोल बिग्रिएको थियो। जेठ १५ गते भएको घटनापछि काम रोकेको फाउन्डेसनले मंगलबारबाट काम पुन : सुचारु गरेको छ। स्थानीय जनताको उत्साह र माहोल देखेर काममा फर्किएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए। उनले जिल्ला तातिए मात्रै सबै तातिने भन्दै केही समय बिथोलिएको वातावरण सकारात्मक रूपमा अगाडि बढेको बताए।

यो सातामात्रै रंगशाला निर्माणका लागि झन्डै ८२ लाख सहयोग संकलन भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन उद्योग वाणिज्य संघ चितवनले बिहीबार ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको छ। संघले घोषणा गरेको एक करोड रुपैयाँमध्ये पहिलो चरणमा उक्त रकम प्रदान गरेको हो।

त्यस्तै चितवन क्रिकेट संघले दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको छ। पूर्वेली समाज चितवनले आयोजना गरेको कार्यक्रममा २३ लाखभन्दा बढी रकम संकलन भएको छ। उक्त कार्यक्रममा उवासंघका केन्द्रीय सदस्य तिलचन्द्र भट्टराईले १० लाख रुपैयाँ सहयोग गरेका थिए। भरतपुर महानगरपालिकाले आफ्ना वडा स्तरमा अभियानका लागि आह्वान गरेको छ।

असोजसम्म डीपीआरको काम सकेर निर्माणको काम थालिने तयारी भएको फाउन्डेसनले जनाएको छ। २०७५ माघ १३ गते रंगशाला निर्माणको घोषणा सम्झौता भएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.