आकाशको उडान

आकाशको उडान

काठमाडौं : ‘सेक्सिएस्ट म्यान अफ द वर्ल्ड’ को सूचीमा परेका नायक आकाश श्रेष्ठलाई यतिबेला भ्याइनभ्याइ छ। युवा पुस्तामाझ लोकप्रिय आकाश फिल्म र म्युजिक भिडियो दुवैमा सक्रिय छन्।

हालै एक म्युजिक भिडियोको सुटिङमा थिए उनी। नाच्न व्यस्त आकाशको निधारबाट गर्मीले चिट्चिट् पसिना निस्किरहेथ्यो। उनी बारम्बार पफ्ले अनुहारको पसिना पुछ्थे।

मध्याह्नको १२ बजेको पारिलो घामले गर्मी बढाएको थियो। नृत्य निर्देशकले आकाशलाई बारम्बार डान्स स्टेप सिकाए तर आकाश टेकमाथि टेक खाइरहेका थिए।

बारम्बार सुट गर्दा पनि आकाशको नृत्य ‘ओके’ हुन सकेन। त्यसपछि ती नृत्य निर्देशकले भने ‘आकाशलाई इनर्जी ड्रिंक पिलाउ त कोही।’ थकित मुद्रामा देखिएका आकाशको मुहारमा कुनै कान्ति थिएन। आफ्नो थकित अनुहार नदेखियोस् भनेरै होला उनले सुटिङ अवधिभर चस्मासमेत खोलेनन्।

हालै मात्रै पोखरामा ‘पोइ पर्‍यो काले’को सुटिङ सकाएर उनी काठमाडौं फर्केका थिए। कामको ‘ओभरलोड’ले धपेडी थियो। त्यसैले, काठमाडौं आउनेबित्तिकै उनी अस्पताल पनि गए। जस्तोसुकै अवस्थामा पनि व्यस्त रहनुपर्ने बाध्यताबारे आकाश भन्छन्, ‘काम गर्न छोडे कामले सराप्छ। त्यसैले, म काम गर्ने कुनै मौका गुमाउँदिन। तर हेल्थले साथ दिएन।’

काम धेरै भएकोले आराम गर्ने मौका उनले पाएका छैनन्। शरीरलाई आराम दिन आजभोलि महिनाको एकदुई ओटा मात्र म्युजिक भिडियोमा काम गर्न थालेको उनले बताए। ‘फिल्म पनि राम्रो स्क्रिप्टमा मात्र गर्दैछु,’ उनले भने।

चलचित्र प्रदर्शनको समय कलाकारको दौडधुप अझै बढ्छ। प्रचारप्रसारका विभिन्न कार्यक्रममा सहभागी हुनुपर्छ। मिडियालाई पनि त्यत्तिकै समय छुट्ट्याउनुपर्ने हुन्छ। ‘रामकहानी’, ‘ड्रिम गर्ल’ र ‘ब्ल्याक’को प्रचारप्रसार लगातार हुँदा आकाशलाई समय मिलाउनै गाह्रो भएको थियो।

व्यस्तताका बाबजुद पनि आकाश बिहानको समय जिम जान्छन्। कलाकार भएपछि शरीरको विशेष ध्यान राख्नुपर्ने उनको ठहर छ।

फिल्म र म्युजिक भिडियो खेल्न भ्याइनभ्याइ भए पनि आकाशले अझै चित्तबुझ्दो अभिनय गर्न पाएका छैनन् रे। ‘लभस्टोरी फिल्मबाट वाक्कदिक्क भइसकेँ,’ उनले भने, ‘अहिले घटिरहेका सामाजिक र संवेदनशील विषयवस्तुमा फिल्म गर्न चाहन्छु तर मौका पाएको छैन।’

नेपाली फिल्म इन्डस्ट्री उकालो लागेसँगै कलाकारहरूको पारि श्रमिक ह्वात्तै बढेको छ। तर, कलाकारहरूले मोटो रकम लिएसँगै अभिनयमा विविधता पस्कन सकेका छैनन्। दर्शकले अपेक्षा गरेअनुसारको काम गर्न नसक्नुमा आकाश भन्छन्, ‘फिल्म भनेको टिमवर्क हो। एक्लैको प्रयासले सम्भव हुँदैन।’ फिल्म नचल्दा कलाकारलाई मात्र दोष दिन नहुने उनको भनाइ छ।

आकाश अहिलेका चल्तीका हिरो हुन् तर उनी आफैंलाई भने त्यस्तो लाग्दैन रहेछ। भन्छन्, ‘अरूले देख्दा चलेको जस्तो देखिन्छु तर सोचेजस्तो छैन।’

आकाशको व्यस्तता फिल्म ‘रामकहानी’मा पूजा शर्मासँगको केमिस्ट्री हिट भएपछि झनै बढेको थियो। उनी फिल्म ‘सम्हालिन्छ कहिले मन’, त्यसपछिको पछिल्लो फिल्म ‘पोइ प¥यो काले’मा पनि पूजासँगै छन्। पछिल्लो फिल्ममा उनको भूमिका नितान्त भिन्न छ रे। भन्छन्, ‘फिल्ममा म हाउडे क्यारेक्टरको छु। जबकि वास्तविक जीवनमा म यसको बिलकुल विपरीत छु।’ फिल्ममा जस्तो भूमिकामा भए पनि आकाशलाई पूजासँगको जोडी फापेको छ।

आकाश र पूजाको जोडी दर्शकमाझ यति चर्चित भयो कि कमेन्टमा समेत उनलाई प्रायःले ‘आकु भेना’ भन्न थालेका थिए। सामाजिक सञ्जाल र मिडियामा यी दुई प्रेमसम्बन्धमा रहेको गसिप फैलिएपछि दुवैको परिवारमा तनाव बढेको थियो।

कामकै सिलसिलामा व्यस्त हुँदा आकाश परिवारसँग समय बिताउन खासै पाउँदैनन्। परिवारसँग नहुँदा उनी कहिलेकाहीँ एक्लो महसुस गर्छन्। भन्छन्, ‘अहिले त खाली समय गेम खेलेर र फिल्म हेरेर बिताउँछु।’

लभर ब्वाईको रूपमा दर्शकमाझ चिनिँदै आएका आकाशले ‘म त तिम्रै हुँ’ फिल्मबाट नेपाली फिल्ममा डेब्यु गरेका हुन्। त्यसपछि लगातार ‘तिमीसँग’, ‘ब्ल्याक, ‘रामकहानी’ र ‘ड्रिम गर्ल’मा उनको अभिनय रहेको छ। मिलन चाम्सको ‘वीरविक्रम–२’ बाट बाहिरिएका आकाश अहिले दुईटा फिल्मको छायांकन सकाएर बसेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.