कूटनीतिक अनुभवमा ‘परराष्ट्रका पात्र’
काठमाडौं : पूर्वपरराष्ट्रसचिव डा. मदनकुमार भट्टराईको पुस्तक ‘परराष्ट्रका पात्र’ सार्वजनिक भएको छ। यो कृति काठमाडौंमा विमोचन गरिएको छ। कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसहित डा. शंकर शर्मा, डा. रीता थापालगायतको उपस्थिति थियो।
नेपालको परराष्ट्र नीति विभिन्न कालखण्डमा कसरी तय भयो, कुन नेता वा मन्त्रीको काम गर्ने शैली कस्तो थियो ? त्यसले परराष्ट्र सम्बन्ध सञ्चालनमा कस्तो असर पार्यो भन्ने विषय पुस्तकले समेटेको छ। यो पुस्तकमा विदेश अड्डाका प्रमुख सञ्चालक तथा विदेश नीतिका स्रष्टाबारे चर्चा गरिएको प्रकाशक किताब पब्लिसर्सले जनाएको छ।
बीपी, गिरिजाप्रसाद र मातृकाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, ऋषिकेश शाहलगायत कूटनीतिज्ञ र राजनीतिज्ञबारे विश्लेषण छ। जैसीकोठा र मुन्सीखानाजस्ता प्रारम्भिक वैदेशिक अड्डादेखि त्यसका सञ्चालकबारे पनि थुप्रै नयाँ तथ्य पुस्तकमा समेटिएको छ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पुस्तकले कूटनीतिक इतिहासको झलक मात्र नभई विभिन्न आरोहअवरोहको झल्को दिने बताए। पूर्वराजदूत डा. शर्माले परराष्ट्र मन्त्रालय जैशीकोठा र कौशीखानाको पृष्ठभूमिबाट यहाँसम्म कसरी आइपुग्यो ? ककसले के भूमिका निर्वाह गरे भन्नेबारे पुस्तकमा राम्रोसँग विवेचना गरिएको बताए।
‘नेपालको कूटनीतिक इतिहास बुझ्न चाहने जो कसैले पनि परराष्ट्रका पात्र पुस्तक पढ्नै पर्ने हुन्छ’, उनले भने। कूटनीतिक क्षेत्रमा महिलाको संख्या न्यून रहेकामा डा. थापाले चिन्ता व्यक्त गरिन्।
लेखक डा. भट्टराईले पुस्तकमा केही तथ्यगत र भाषागत त्रुटि रहेको र यसलाई सुधार गरिने बताए। उनले भारतको कोलकातास्थित जादवपुर विश्वविद्यालयबाट नेपाल–भारत सम्बन्धमा विद्यावारिधि गरेका छन्।
भारतको वैदेशिक सेवाका विभिन्न पक्षको मूल्यांकन गरी उनले ‘महाविद्यावारिधि’समेत गरेका छन्। सन् १९७७ को लोकसेवा आयोग परीक्षामा प्रथम स्थान हासिल गरी उनी परराष्ट्र मन्त्रालयको शाखा अधिकृतका रूपमा सेवा प्रवेश गरेका थिए। उनी सन् २००९–११ मा परराष्ट्रसचिव थिए।
उनी सन् २०१६–१८ मा राष्ट्रपतिका परराष्ट्र मामिला एवं कूटनीतिसम्बन्धी सल्लाहकार बने। जर्मनी र जापानमा राजदूतको जिम्मेवारी सम्हालिसकेका उनए कूटनीतिअघि अध्यापन गर्थे। सोही समय उनले दी राइजिङ नेपालमा रहेर पत्रकारिता पनि गरेका थिए।