उच्च राजनीतिक संस्कार अभाव

उच्च राजनीतिक संस्कार अभाव

योग्यता र सीप नभएका सन्तानलाई जागिर खुवाउन नेताको भनसुन चाहिन्छ। अपराधीलाई जेलबाट छुटाउन नेताको फोन बिक्छ। नियम-कानुनले नमिल्ने कामकुरा गर्न अरूको केही चल्दैन उनै ठूला नेताको सहयोग चाहिन्छ। नेतासँग नजिक भएपछि, नेताको भक्त भएपछि, नेताको आफन्त भएपछि नाम र दाम सजिलै कमाइन्छ। यी र यस्तै राजनीतिक संस्कारमा हुर्किएको हाम्रो समाजले कसरी बुझ्न सकोस् ? राजनीति सबैभन्दा उत्तम नीति हो। नेता भनेका सबै असल हुन्छन्। नेताले खराब काम आफूले गर्दैनन् र अरूलाई पनि गर्न दिँदैनन्। नेताले आफ्नो भलो नहेरी देशको भलो मात्र हेर्छन्। व्यक्तिगत स्वार्थमा नेताहरू कदापि लाग्दैनन्। यस्तै राम्रा कामकुराको संस्कार हाम्रा राजनीतिकर्मीमा कहिले होला ?       

हामीमा खराब राजनीतिक संस्कार किन विकास भयो ? सबैलाई मन्त्री बन्ने रहर किन लाग्छ ? पदकै लागि, मन्त्री बन्नकै लागि मन्त्रालयको संख्या कहिलेसम्म बढाइरहने ? दुईचार महिनासम्म एउटा मन्त्री हुने अनि पुनः अर्कोलाई मन्त्री बनाउने परिपाटीले समृद्धि कहिले आउला ? मन्त्रालयमा मन्त्री फेरिएसँगै सचिव फेरिनुको अर्थ के होला ? मन्त्री भएपछि सधैं हतारहतार उद्घाटन, समापन, जलपानकै कामले प्रगति होला त ?        उन्नति होला त ?       

राजनीतिक संस्कार त यस्तो नहुनुपर्ने हो। देश चलाउने पाइलट, नीतिनियम बनाउने एजेन्ट उच्च संस्कारयुक्त हुनुपर्ने हो। उच्च नैतिक चरित्रले ओतप्रोत भएका भए सबै सर्वसाधारण नागरिकका मनमा आफैं आदरभाव प्रकट हुन्थ्यो होला। उच्च शिक्षा, नैतिक शिक्षा, व्यावहारिक सीप, क्षमता र दक्षताले भरिपूर्ण हुन सकेको भए सधैं कुर्चीकै लागि, पदकै लागि कुस्ती खेलिरहनुपर्ने थिएन। उपलब्धिविनाको जिल्ला भ्रमण र वैदेशिक भ्रमणले मुलुकको ढुकुटी रित्तिने थिएन। यहाँ त कामको प्राथमिकताभन्दा पनि जुन नेता जुन ठाउँमा घुम्न गएको छैन त्यही ठाउँमा नितान्त व्यक्तिगत स्वार्थका लागि दौडिने परिपाटी व्यापक छ।

राजनीति सर्व श्रेष्ठ नीति हो तर हामीकहाँ त्यो भन्ने वातावरण, तौरतरिका र संस्कार विकास हुन सकेन। यहाँ त राजनीतिक नेता उस्तै, कार्यकर्ता उस्तै मात्र नभई सर्वसाधारण नागरिकमा पनि राजनीतिक सोच, विचार र चिन्तनमा समस्या छ।

उच्च राजनीतिक चेतनाको विकास नभएसम्म मुलुकले समृद्धि हासिल गर्न सक्दैन। यहाँ त राजनीतिक संस्कारको अभाव छ। अधिकांशमा असल नेतामा हुनुपर्ने गुण निकै कम छ। नेता भएपछि, मन्त्री भएपछि जे पनि गर्न सकिन्छ, जे पनि गर्न पाइन्छ, सबैथोक कमाउने बेला भनेको यही हो भनेर बुझिन्छ। गम्भीर फौजदारी अभियोगका सजाय पाएकाहरूसमेत मन्त्री बन्नबाट अछूतो छैनन्। हरेक पार्टीका नेताहरूले आफू र आफ्नो पार्टीले गरेका गल्तीहरू स्विकार्ने बानी नै छैन। आफू र आफ्नो पार्टीले गरेको सबै राम्रो हुने, असल हुने अनि अर्कोले र अर्को पार्टीको सरकारले राम्रो गरेको भए पनि राम्रो भन्न नसक्ने निकै निकृष्ट मानसिकताले जरा गाडेको छ।

कार्यकर्ता आफ्नो कामकुरा सबै गुमाएर तिनै ठूला नेताहरूका पछाडि लागेर चाकरी र चाप्लुसी गर्नमै व्यस्त छन्। बिहानदेखि बेलुकीसम्म तिनै नेताको पछि लागेर तिनैलाई दाता, परमेश्वर झैं मान्छन्। नेताको मन पर्ने हुन सके नपढे पनि योग्यता, ज्ञान, सीप र क्षमता नभए पनि राम्रो जागिर पाइन्छ, छिट्टै धनी बन्न सकिन्छ भन्ने चेतनाको स्तर छ। तिनै नेता र कार्यकर्ताका अन्धभक्त हाम्रो समाजका सोझासीधा नागरिक चुनावको बेलामा नेताले गरेको भाषणलाई शतप्रतिशत सही सम्झेर आफ्नो अमूल्य मतदान गर्छन्। कुन राम्रो, कुन नराम्रो, कुन नेता ठीक हो, कुन बेठीक भन्ने राजनीतिक सोच, विचार सर्वसाधारण नागरिकमा विकास हुन सकेको छैन।

यहाँ त जुन पाटीको जति मतको सरकार बने पनि सरकारले विकासका नाममा खासै केही गर्न सकेको छैन। प्रतिपक्षले राम्रा काममा त सरकारलाई सहयोग गर्न सक्नुपर्ने हो तर उल्टै सरकारकै खेदो खन्ने र खुट्टा तान्ने प्रचलन छ। यस्ता राजनीतिक सोच, विचार, चिन्तन र पद्धतिले कहिले विकासको फट्को मार्ने ?       

कुरा र भाषणमा प्रगतिले छलांग मार्ने तर वास्तविकतामा सामान्य तुइनमुक्त पनि गर्न नसक्ने यति कमजोर किन भए नेताहरू ?        आफ्नो र आफ्नाको मात्र पेट भर्ने-भराउनेभन्दा चार हात पर पुगेर सिंगो मुलुकको विकास गर्ने चेतना किन आउँदैन हाम्रा नेताहरूमा ?        विदेशीले जे दिए पनि भिखारीले झैं हात थाप्ने, आफ्नो मुलुकका अथाह सम्भावनालाई वास्ता नगरी बस्न सक्ने कसले बनायो ?        पुँजीवाद, समाजवाद र साम्यवादका सपना देख्दै र देखाउँदै आफू सरकारमा पुगेपछि आफ्नो मात्रै दुनो सोझाउने किन हुन्छन् नेताहरू ?        आफूले बनाएको नीति, नियम आफैंले नमान्ने हो भने किन बनाउनु ?

वास्तवमा यी र यस्तै हजारौं प्रश्नहरू एकपछि अर्को उम्रिन्छन् हाम्रो मथिंगलमा। दिनहुँ ठूला नेताहरूले गरेका कामकुराले हामीले उनीहरूमा निहित राजनीतिक चेतनाको स्तर मूल्यांकन गर्न सक्छौं। सचिव पदका कर्मचारी करारमा भर्ना गर्नुपर्छ भनी उनीहरू नै संसद्मा चर्काचर्की गर्छन्। कहिले लोकसेवा आयोगलाई छिटो विज्ञापन गर्न भन्छन्। लोकसेवा आयोगले खुरुक्क भनेको मानेर विज्ञापन गर्‍यो। फेरि तिनै नेता भन्छन्- हैन, यो समावेशी सिद्धान्तसँग त्यति मिलेन अब विज्ञापन बदर गर भनेर तिनै धम्की दिन्छन्। सामान्य कुरा नमिलेको भए सल्लाह गरेर मिलाए भइहाल्यो नि। विज्ञापनमा संशोधन गरे भयो। विज्ञापन नै बदर गर्ने÷गराउने कुराको अर्थ के ?        

लोकसेवा आयोगको विज्ञापन बदर गरेपछि सबै स्थानीय तहमा आफ्ना मान्छेलाई फटाफट करारमा भर्ना गर्न खोजेको त होइन ? रेलको भाडामा दस पैसा वृद्धि गरेको बेलामा रेल दुर्घटना हुँदा भारतका रेलमन्त्रीले राजीनामा दिनुपरेको थियो। त्यस्तै आफ्नो समयमा भएका ससाना गल्ती स्विकार्दै पदबाट राजीनामा दिने राजनीतिक संस्कार धेरै विकसित मुलुकमा व्यापक छ। हामीकहाँ यस्तो किन हुन सक्दैन ?        भ्रष्टाचार मुद्दामा मुछिएका हुन् कि ज्यानमाराको कैद सजाय पाएका हुन्, उनीहरूलाई नै मतदान गरेर जिताउने संस्कार हामीभित्र किन विकास भयो ?        सामान्य गल्ती गर्दा पनि एउटा सर्वसाधारणले कैदको सजाय पाउने तर नेता भनेपछि ज्यानमाराले कैद सजाय नपाएर मन्त्री बन्न पाउने छुट कसले कसरी बनायो ?        यी र यस्ता कामकुरा सबै खराब राजनीतिक संस्कारका उपज हुन्।

जापान, पाकिस्तानलगायत विश्वका धेरै मुलुकले नेता र सांसद हुन निश्चित योग्यता प्रणाली अपनाएका छन्। हाम्रोजस्तो गाईजात्रे चलन निकै कम मुलुकमा होला। सरकार टिकाउनकै लागि मन्त्रालय फुटाल्ने र जोड्ने, एकदुई महिनामै मन्त्री फेर्ने चलन सायद अन्य मुलुकमा नहोला। संवैधानिक निकायका प्रमुखहरूमा राम्रो छवि भएका आउन नसक्नु पनि दुर्भाग्य हो। दलीय भागबन्डाबाट आउनु त्यसमा पनि भ्रष्ट चरित्र भएकाहरूले नै पालो पाउनुले हाम्रो राजनीतिक संस्कारलाई उदांग पारेको छ।

राजनीतिक सोच, विचार र चिन्तनमा सबैको सोच बदलिनु आवश्यक छ। राजनीतिलाई असल नीति बनाउन सबैले आआफ्नो ठाउँबाट सक्दो प्रयास गर्नु जरुरी छ। हामीमा पनि राजनीतिमा सामान्य रूपमा भए पनि योग्यता प्रणाली अपनाउन सके राम्रो हुने थियो। नीति, नियमभन्दा बाहिर गएर गर्न नहुने कामकुरा नेताहरूले नगर्ने-नगराउने प्रण गर्नु आवश्यक छ। नेताले नराम्रा काम आफूले पनि गर्दैनन् र अरूलाई पनि गर्न दिँदैनन् भन्ने वास्तविकता बनाउन सके मात्र आम नागरिकमा राजनीतिप्रतिको सोच बदलिन सक्छ। उच्च राजनीतिक संस्कारले मात्रै समृद्धिको ढोका खुला हुन सक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.