पाटनको बजेट ५४ करोड ६ लाख
बैतडी : जिल्लाको पाटन नगरपालिकाले चालु आर्थिक वर्षका लागि ५४ करोड ६ लाख १८ हजार बराबरको बजेट पारित गरेको छ। आठौं नगरसभामा नगर उपप्रमुख सरस्वती कोलीले पेश गरेको बजेट सर्वसम्मतिले पारित गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले बताए।
बजेटले चालु आर्थिक वर्षमा पनि भौतिक पूर्वाधार विकासमा जोड दिएको उनले बताए।नगरसभाले आर्थिक विकास तर्फ १ करोड, सामाजिक विकास तर्फ ६ करोड, पूर्वाधार विकास तर्फ ९ करोड विनियोजन गरेको छ।
यस्तै शिक्षातर्फ १ करोड ४५ लाख, स्वास्थ्य तर्फ ६१ लाख, कृषि,सिंचाइ खानेपानी तर्फ झण्डै दुई करोड बजेट विनियोजन गरिएको छ।यस्तै पर्यटन क्षेत्रको विकासका लागि ६ लाख बजेट विनियोजन गरिएको छ।
नगरबासीको चाहना अनुसार विकास निर्माणलाई तीव्रता दिने हिसाबले बजेट आएको नगर प्रमुख केशवबहादुर चन्दले बताए ।उनले भने, 'पाटन नगरबासीका समस्यालाई सम्बोधन गर्ने हिसाबले हामीले बजेट ल्याएका छौं। बजेटले नगरको समृद्धिमा सहयोग पुर्याउने हाम्रो आशा छ।'
नगरपालिकाले विगतका केही कार्यक्रमलाई समेत निरन्तरता दिएको छ। नगर स्वयंसेवक शिक्षकका लागि यो वर्ष पनि एक करोड ४५ लाख विनियोजन गरिएको छ।कामका लागि भारत जाने नेपालीको बीमा गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइएको नगरप्रमुख चन्दले बताए।
यस्तै दलित, महिला र पिछडिएका वर्गको उत्थानका लागि बजेटमा कार्यक्रम समावेश गरिएको नगरपालिकाले जनाएको छ । यसअघि गत असार ३१ गते बसेको नगरसभामा सहमति हुन नसक्दा बजेट पारित हुन सकेको थिएन्।
प्रतिक्रिया दिनुहोस !