वैदेशिक रोजगार : ठगीमा परिवारै संलग्‍न

वैदेशिक रोजगार : ठगीमा परिवारै संलग्‍न

विराटनगर : नेपाली युवालाई आकर्षक कमाइ हुने लोभ देखाउँदै वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिएर ठगी गर्ने धन्दामा परिवारै संलग्न रहेको एउटा घटना सार्वजनिक भएको छ। विदेशको चक्करमा डुबेको रकम फिर्ता र असुल गर्नेमाथि कारबाही हुनु पर्ने माग गर्दै पीडित युवाले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएपछि यो घटना बाहिरिएको हो। सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को एउटा परिवारले तीन वर्षदेखि १३ जनासँग ७० लाख रुपैयाँ ठगी गरेको खुलेको कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिए। ठगीको मुख्य योजना बनाउने ३३ वर्षीय आशीष काफ्ले ग्रिसमा छन्।

आफू विदेशमा बसे पनि टेलिफोन र सामाजिक सञ्जालमार्फत आफूसँग सम्पर्कमा रहेकालाई राम्रो कमाइका लागि इराक, पोर्चुगल, जर्मन, सिंगापुर, साइप्रस, ग्रिसलगायत देशमा पठाइदिने भन्दै तीन वर्षदेखि उनले ठगी गर्ने गरेको सञ्जेलले बताए। उनका अनुसार बाबु प्रजापति काफ्ले र आमा कविताले घरमा बसेर आफ्नो छोराले तत्काल विदेश पठाइदिने भन्दै झुक्याएर युवासँग रकम असुल्ने गरेको पनि पाइयो।

सात वर्षअघि ग्रिस गएका आशीषले उतैबाट लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेपछि कार्यालयले राजदूतावासमार्फत उनलाई नेपाल भिकाउने प्रक्रिया अघि बढाइसकेको छ। सञ्जेलले नेपाल झिकाएर उनीमाथि कानुनी कारबाही अघि बढाइने जानकारी दिए। उनले भने, ‘अरु पनि धेरै जनालाई ठगी गरेको भेटिएको छ। एक जनाबाट दुईदेखि १३ लाख रुपैयाँसम्म असुलेको पाइयो।’

पीडित युवाले आफूहरू ठगिएको प्रमाणसहितको उजुरी दिएपछि आशीषका बुवा प्रजापति काफ्लेलाई साउन ९ गते बिहीबार सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेर आइतबार श्रम कार्यालय विराटनगरमा बुझाएको छ। श्रमले काफ्लेलाई अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। कार्यालयले आमा कवितालाई पनि पक्राउ पुर्जी जारी गरेको छ। पैसा कमाइ हुने लोभ देखाएर गाउँघरका सोझासाझा युवासँग अवैध रूपमा असुल्ने गरको पाइएपछि परिवारलाई नै छानबिन र कानुनी कारबाहीको दायरामा तानिएको जानकारी सञ्जेलले दिए।

इराक, पोर्चुगल, जर्मनी, सिंगापुर, साइप्रस, ग्रिसलगायत देशमा पठाइदिने भन्दै तीन वर्षदेखि ठगी।

‘विभिन्न देश पठाउने भन्दै आशीषले नै पैसा उठाएको प्रमाण फेला परेको छ’, उनले भने, ‘नेपालमा रहेका बुवा र आमालाई पनि उठाउन लगाएका प्रमाण फेला परेका छन्।’ यो ठगी प्रकरणमा थप प्रमाण जुटाउने काम भइरहेको उनले बताए।

पीडितमध्येका गिरीराज सुवेदीले एक वर्ष अघि कवितालाई पाँच लाख रुपैयाँ दिएको र लामो समयसम्म विदेशको प्रक्रिया अघि नबढाउँदा आफू ठगिएको थाहा पाएको बताए। ‘अझै पनि छोराले जर्मन पठाइदिन्छ काहीँ उजुरी नगर्नु भनेर बुवा, आमाले भन्दैछन्’, उनले भने, ‘आशीष भने एक वर्ष अघिदेखि हामीबाट सम्पर्कविहीन छ।’ सुवेदीले पैसा फिर्ता माग्दा अहिलेसम्म कोही पनि पीडितको पैसा फिर्ता नदिएको बताए।

श्रम कार्यालयले काफ्ले परिवारको नाममा बराहक्षेत्र–६ चक्रघट्टिमा रहेको सात धुर जग्गा र चार तले घर तथा अन्य चलअचल सम्पत्ति रोक्का गरिदिएको छ। यो प्रकरणबारे यसअघि नै महेन्द्रनगर प्रहरी र नगरपालिका कार्यालयमा पटकपटक छलफल भइसकेको पीडितमध्ये उमेश पौडेलले बताए। ‘ठगी गर्नेलाई नै समर्थन गरेर हाम्रो समस्याबारे कोही कसैले वास्तै गरेनन्’, उनले भने, ‘प्रधानमन्त्री केपी ओलीदेखि राजनीतिक दलका नेतासम्मको नाम लिएर काफ्ले परिवारले हामी पीडितलाई धम्क्याउने र थर्काउने काम गरिरहेका छन्।’ पौडेलले प्रधानमन्त्रीदेखि ठूला व्यक्ति नै आफ्ना हातमा रहेका कारण कोही कसैले गुनासो र उजुरी गर्दैमा पैसा फिर्ता नदिने भन्दै खुलेआम रूपमा काफ्ले परिवारले ठगी गर्दा पनि सरोकारवाला पक्ष रमिते बन्ने गरेको गुनासो गरे।

श्रीमतीसँग मिलेर पैसा उठाउने धन्दामा संलग्न रहेका प्रजापतिले पनि श्रम कार्यालयमा भने आफ्नो कमजोरी स्वीकार गरेका छन्। उनले ग्रिसमा रहेका छोरोसँग भने आफ्नो सम्पर्क नभएको दाबी गरे।

कुनै व्यक्तिलाई विदेश पठाउन आधिकारिक म्यानपावर दर्ता गरेर इजाजत लिनु पर्नेमा अनुसन्धान गर्दा काफ्ले परिवारले दर्ता गरेको नपाइएका कारण वैदेशिक रोजगार ऐन आकर्षित हुने श्रम अधिकृत सञ्जेलको भनाइ छ। वैदेशिक रोजगार ऐन २०६४ को दफा १० ले पनि मेनपावरको इजाजत नलिइकन कसैलाई विदेश पठाउने वा सोसँग सम्बन्धित काम गर्न रोक लगाएको छ। यदि गरेमा निजलाई सोही ऐनअनुसार तीनदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीनदेखि सात वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

२० लाख उठाएर सम्पर्कविहीन

विराटनगर : वैदेशिक रोजगारीमा स्पेन पठाइदिने भन्दै एउटा पारिवारिक नाता भित्रका ६ जनासँग २० लाख रुपैयाँ उठाएर विराटनगर महानगरपालिका–११ पिचराका २४ वर्षीय रोशन        श्रेष्ठ गैली एक वर्षदेखि सम्पर्कविहीन बनेका छन्।

सुनसरीको इटहरीस्थित कान्छीचोकमा समेत बसोबास रहेका उनी २० लाख १८ हजार पाँच सय रुपैयाँ उठाएर फरार बनेका हुन्। धेरै वर्ष आफू स्पेन बसेर फर्किएको र त्यहाँबाट ६ जनाका लागि भिसा लिएर आएको भन्दै उनले रकम असुलेर ठगी गरेको पीडितको गुनासो छ। उनको ठगीमा पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का हेमबहादुर माझी, टेकबहादुर माझी, विनोद माझी, अरुण माझी, झापा भद्रपुर नगरपालिका–३ की सीमा तामाङ र इलाम करफोकका अदित तामाङ छन्।

पीडितह एउटै पारिवारिक नाताभित्रका हुन्। पीडितले गैली विरुद्ध श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका छन्। उनीहरूलाई कार्यालयमा लिएर झापा बुद्धशान्तिका लोकबहादुर माझी आएका थिए। उनले सबै जना आफ्ना भतिजा, नाति र नातिनी पर्ने बताए।

उजुरीमाथि अनुसन्धान गर्ने क्रममा एकै पटक ठूलो रकम ठगी गरेर गैली फरार भएको पुष्टि भएको कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए। उनले आफ्ना विभिन्न नाम राखेर गैलीले वैदेशिक रोजगारीमा जान खोज्नेलाई ठगी गर्दै हिँड्ने गरेको पत्ता लागेको जानकारी दिए। ‘ठगीको पर्याप्त प्रमाणसहितको उजुरी परेपछि अनुसन्धान थालिएको छ’, सञ्जेलले भने, ‘गैलीका नाममा पक्राउ पूर्जी जारी गर्दै देशभरीका प्रहरी कार्यालय र विभिन्न सरकारी निकायमा पठाइसकिएको छ।’ भागेर विदेश जान सक्ने सम्भावनालाई ध्यानमा राख्दै त्यसतर्फ पनि रोक लगाइएको सञ्जेलको भनाइ छ।

लोकबहादुरका अनुसार सबैलाई बैंक र आईएमईमार्फत रकम जम्मा गर्न लगाएका थिए। ललितपुर–१४ मा बुवा श्रवणकुमार गैलीले सञ्चालन गरेको स्प्रिङ नेपाल ह्युमन रिसोर्स प्राइभेट कम्पनी नामक मेनपावरबाट रोशन गैलीले नक्कली भिसा र अन्य डकुमेन्ट बनाएर सर्वसाधारणलाई ठग्ने गरेको लोकबहादुरले बताए। नक्कली कागजात बनाउने गरिएको म्यानपावर कम्पनीमाथि पनि छानबिन हुनुपर्ने माग पीडितको छ।

लोकबहादुरले दुई महिनाभित्र विदेश पठाउने भन्दै २०७५ साउनमा सबैसँग गैलीले पैसा उठाएको बताए। आधा पैसा यहीँ र आधा स्पेन पुगेर काममा लागेपछि दिनु भन्दै एक जनासँग साढे तीन लाख रुपैयाँसम्म उठाएको उनको भनाइ छ।

‘स्पेन लैजाने भन्दै काठमाडौं बोलाएर सबैको मेडिकल गर्ने काम पनि भयो’, उजुरीमा भनिएको छ, ‘मेडिकल गरिसकेपछि श्रम गर्न भन्दै बोलाएर स्पेन लैजान्छु भन्ने व्यक्ति नै गायव बने।’ लोकबहादुरका अनुसार स्पेन पुग्ने प्रलोभनमा परेर ठगिएका ६ जनानै कोरिया जान परीक्षा दिने तयारी गर्दै थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.