वर्ष ४४, कथा ४३
२०५१ सालमा ‘मौन जीवन’ उपन्यास लिएर नेपाली साहित्यमा झुल्किएकी नीलम कार्की ‘निहारिका’ गत वर्षको मदन पुरस्कार विजेता हुन् । शनिबार उनको ‘४३ कथा’ कथासंग्रह नेपाल प्रज्ञाप्रतिष्ठानमा विमोचन भएको छ । प्रस्तुत छ, उनीसँग समसामयिक विषयमा कृष्णराज सर्वहारीले गरेको संक्षिप्त कुराकानी ः
‘४३ कथा’ कथासंग्रहमा कस्ता कथा छन् ?
समग्रमा ४३ कथा मेरा पुरानै कथा हुन् । नीलमका कथा पढ्न धेरै संग्रह पल्टाइरहनुभएका पाठकहरूलाई ध्यानमा राख्दै एउटै संग्रहमा राख्न प्रयास गरिएको हो । ‘चीरहरण’, ‘हवन’, ‘बेली’ कथासंग्रहभित्रका छानिएको कथामा थप ६ वटा नयाँ कथा थपेर सांग्रिला बुक्सले ‘४३ कथा’ प्रकाशन गरेको हो । केही नजिकका साथीहरूले तपाईं ४४ वर्षमा टेक्नुभयो, ४४ कथा नै निकाल्नुस् भन्ने सल्लाह पनि दिए । तर एउटा कथालाई सहिद बनाइयो ।
तपाईंको बसाइ अहिले अमेरिकाको नर्थ क्यारोलाइनमा छ । अमेरिकी जीवन नेपाल जीवशैलीभन्दा निकै व्यस्त छ । लेखनलाई कसरी समय व्यवस्थापन गर्नुहुन्छ ?
वास्तवमा लेखनको मामिलामा म आमनेपाली लेखक महिलाभन्दा भाग्यमानी छु । प्रायः महिला लेखक साँझबिहानको घरधन्दा, अफिस, छोराछोरीको हेरविचारबाट उब्रिएको समय निकालेर लेख्छन् । तर अमेरिकामा म व्यस्त छैन । जेठो छोरा प्लस टु अनि कान्छो ६ कक्षामा पढ्छ । उनीहरूको पढाइको व्यवस्थापनबाहेक मेरो अरू खासै जिम्मेवारी छैन । चिकित्सक श्रीमान्ले अर्थोपार्जन गरिरहेकाले मैले कुनै काम पनि खोजेकी छैन । त्यसैले म पूर्णकालीन लेखक हुँ । बरु मसँग समय बढी भयो भनेर आफैं विद्यार्थी पो भएकी छुँ । हालै नेपाल संस्कृत विश्वविद्यालयबाट योगमायाको विषयबारे अध्ययनको लागि पीएचडीमा नाम निकालेकी छुँ ।
भनेपछि योगमायाबारे आख्यान लेखेर मात्रै पुगेन, अब पीएचडी नै गर्ने ?
हो, योगमाया उपन्यास लेख्दाखेरि नै यति धेरै अध्ययन गरेँ, जो उनका बारे पीएचडी गर्नका लागि पर्याप्त सामग्री थिए । यसलाई सामान्य सैद्धान्तिक ढाँचामा ढालेर पीएचडी किन नगर्ने भनेर ज्वाइन गरेकी हुँ । यसले ममा योगमायाबारे थप अध्ययनका लागि जिम्मेवारी थपिएको छ ।
योगमायालाई हालै शिल्पी नाटकघरमा नाटकका रूपमा पनि तीन साता प्रदर्शन गरियो । योगमाया उपन्यासलाई यस नाटकले थप प्रवद्र्धन गरेको हो ?
होइन, मदन पुरस्कार पाएपछि नै जुनसुकै कृति स्वतः चर्चित हुन्छ । त्यसबारे नाटक एउटा प्रस्तुति एउटा फरक पाटो मात्रै हो । बरु यसबीचमा योगमायाबारे फिल्म बनाउन चार जनाले मसँग प्रस्ताव राखिसके । यसको पटकथा मैले नै लेख्न पाउनुपर्छ भनेर सर्त राखेकी छु । तर पटकथा लेख्न समय छैन ।
अहिले केमा व्यस्त हुनुहुन्छ र ?
नयाँ उपन्यास लेखनका लागि खाका कोरेकी छु । आख्यानलाई जीवन्तता दिन हालै काठमाडौंसँग जोडिएको एक जिल्लाको गाउँ घुमेर आएँ । यो उपन्यास लेखनको काम सकिएपछि योगमाया पटकथाको काम अघि बढ्न सक्छ ।
मदन पुरस्कारको उत्कृष्ट सातको सूचीमा जम्मा एकजना महिला लेखक मात्र अटाएकी छन् ? यसमा तपार्इंको प्रतिक्रिया ?
मदन पुरस्कारमा पुरस्कारका लागि पठाइएका कति पुस्तक पुरुष लेखकका, कति महिला लेखकका थिए, त्यो त मलाई थाहा भएन । तर मलाई लाग्छ, महिला लेखकहरूले पुस्तक नै कम उपलब्ध गराए होलान् । तर मूल रूपमा पुस्तकको गुणवत्ता हेरिने हो, लिंग होइन । अन्य क्षेत्रमा झैं महिलालाई पुरस्कारमा पनि आरक्षण दिनुपर्छ भन्ने पक्षमा छैन ।