स्थानीय तहको राजश्व लक्ष्यभन्दा कम
बैतडी : जिल्लाका १० वटै स्थानीय तहले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेका छैनन्। राजश्व संकलनको न्यून लक्ष्य राखेका तहले लक्ष्यलाई समेत भेटाउन सकेका छैनन्।
स्थानीय सरकारको रुपमा रहेका तहले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसक्दा स्थानीय सरकार सञ्चालनमै कठीनाइ उत्पन्न हुने देखिन्छ। केन्द्रीय बजेटको भरमा सञ्चालन भइरहेका स्थानीय तह राजश्वका श्रोत पहिचान गर्नमै अलमलमा परेका देखिन्छन्।
स्थानीय सरकारले न्यून राजश्व संकलन गर्नु संघीयताका लागि राम्रो नभएको जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक मानबहादुर चन्दले बताए। उनले सरकार भन्ने बित्तिकै आफैमा स्वाधीन, स्वावलम्बी हुनुपर्ने हो। तर स्थानीय सरकार केन्द्रीय बजेटकै भरमा छन्। त्यसैले उनीहरुले लोककल्याणकारी कार्यक्रम पनि सञ्चालन गर्न सकिरहेका छैनन्।'
कतिपय स्थानीय तहले तोकेको भन्दा निकै काम राजश्व संकलन गरेका छन्। ३० लाख राजश्व संकलनको लक्ष्य लिएको सिगास गाउँपालिकाले ८ लाख मात्रै राजश्व संकलन गर्न सकेको छ। राजश्वका श्रोतहरु कम र राजश्वको अनुमान बढी गरिएका कारण न्यून राजश्व संकलन भएको गाउँपालिकाका लेखा जगदीश कलौनीले बताए। उनले समान्य मालपोत,घरकर बाहेक राजश्वका अन्य श्रोतहरुको पहिचान हुन नसकेको बताए।उनले भने, 'त्यसैले राजश्व लक्ष्यअनुसार संकलन हुन सकेन् ।'
जिल्लाको पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकाले पनि लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको छैन्। गत आर्थिक वर्षमा ७३ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले ४६ लाख १३ हजार मात्रै राजश्व संकलन गरेको छ।
यस्तै, डिलाशैनी गाउँपालिकाले पनि गत आर्थिक वर्षमा २६ लाख ६० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ७ लाख ८७ हजार मात्रै संकलन गर्न सकेको गाउँपालिकाका लेखापाल भानदेव जोशीले बताए।
यस्तै दोगडाकेदार गाउँपालिकाले ५५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ४४ लाख मात्रै संकलन गरेको छ। यस्तै पञ्चेश्वर गाउँपालिकाले ८० लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ६० लाख मात्रै संकलन गरेको छ।
पाटन नगरपालिकाले भने लक्ष्यको हाराहारीमा राजश्व संकलन गरेको छ। २५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले २४ लाख ९७ हजार राजश्व संकलन गरेको छ।
यस्तै शिवनाथ गाउँपालिकाले पनि लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेन् । १५ लाख राजश्व संकलनको लक्ष्य लिएको गाउँपालिकाले १३ लाख मात्रै संकलन गरेको प्रमुख प्रशासकीय अधिृकत धु्रव दयालले बताए।
जिल्लाको मेलौली नगरपालिकाको पनि राजश्व संकलन न्यून मात्रामा भएको छ। गत आर्थिक वर्षमा ५९ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ९ लाख मात्रै संकलन गरेको छ। जिल्लाको सुर्नया गाउपालिकाले भने लक्ष्यको हाराहारीमा राजश्व संकलन गरेको छ। ५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको गाउँपालिकाले लक्ष्य पूरा गरेको लेखापाल भवानीप्रसाद भट्टले बताए। जिल्लाको पुरचौंडी नगरपालिकाले २५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्य अनुसार राजश्व संकलन नभएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !