धनगढीमा पनि खुल्यो कपडा बैंक

धनगढीमा पनि खुल्यो कपडा बैंक

धनगढी : सुदूरपश्चिमको राजधानी धनगढीको मुख्य बजारमा रहेको शिवपुरी धाम परिषद्मा कपडा बैंकको स्थापना गरिएको छ। सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष गोपाल हमालको परिकल्पनामा, उनका दुई भाई श्याम हमाल र देबेन्द्र हमालले धाम परिषरमा पक्की घर बनाएर स्थायी रुपमै कपडा बैंक सञ्चालनमा ल्याएका हुन्।

कपडा बैंकमा आफूसँग भएका कपडा दान गर्न सकिने छ भने कपडाको अभाव भएका ब्यक्तिले निःशुल्क रुपमा उक्त कपडा लैजान पाउने छ। विकास क्षेत्रीय संरचना भएका बेला सुदूरपश्चिम देशभरीकै गरिब विकास क्षेत्र हो। अहिले पनि सुदूरपश्चिम, कर्णाली प्रदेश पछिको गरिब प्रदेशको सूचीमा छ।

‘धनी र गरिब भन्दा पनि हामीले आफूसँग दिन पुग्नेले दान गर्ने र आवश्यकता भएकाले लैजाने गरी कपडा बैंकको सुरुवात गरिएका हो’ गोपाल हमालले भने। उनले मन्दिरमा पुजा गरेर मात्र धर्म नकमाइने बताउँदै सामाजिक रुपमा सेवा गरे मात्रै धर्म लाग्ने बताए।

एकसरो लुगा नहुनेले निःशुल्क लैजान पाउने र आफूसँग हुनेले दान गर्न पाउने अवधारणा अनुसार कपडा बैंकको स्थापना गरिएको उनी बताउँछन्। कपडा बैंकले, पुराना तर नच्यातिएका लुगाहरू, जुत्ता र अरु जुनसुकै पनि शरीरमा लगाउने बस्तु बुझेर आवश्यकता भएका ब्यक्तिलाई उपलब्ध गराउने छ।

हमाल परिवारले धनगढी उपहानगरपालिका–४ उत्तरबेहडीमा रहेको शिवपुरी धाम परिषरमा, चेन्जिङ रुम सहितको दुई कोठाको पक्की घर, कपडा राख्ने र्‍याकसहित बनाएर कपडा बैंक सञ्चालनमा ल्याएका हुन्। दान गर्नेले धाम परिषरमा दर्जनौं मन्दिर बनाएका बेला हमाल परिवारले भने फरक र नौलो कामको सुरुवात गरेको हो।

सोमबार नागपञ्चमीको अवसरमा कपडा बैंकको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओड र प्रदेश सभा सदस्य डिल्लीराज पन्तले संयुक्त रुपमा उद्घाटन गरे। ‘नगरका लागि यो नयाँ अवधारणा हो, यसलाई सबैले प्रचार प्रसार गरौं’, नगर प्रमुख नृपबहादुर ओडले भने। उनले आफूलाई फिट नभएका लुगा मात्रै होइन, नयाँ लुगा दिन चाहनेले पनि दान गर्न आह्वान गरे।

प्रदेश सभा सदस्य डिल्लीराज पन्तले भने भारतमाकपडा बैंक एकदमै ‘पपुलर’ रहेको बताउँदै धाम परिषरमा सुरु गरिएको पुण्य कामको प्रशंसा गरे। नागपञ्चमीको दिन सुरुवात गरिएको कपडा बैंकमा सोमबार मात्रै दर्जनौं ब्यक्तिले नफाटेका लुगा, झुल, जुत्ता सहितका सामान दान गरेका छन्।

‘आफूलाई अनफिट भएको लुगा, कसैलाई काम लाग्न सक्छ भनेर दान गरेको हुँ’, धनगढीका धनबहादुर शाहले भने, ‘यसमा सामान्य परिवारका ब्यक्तिले पनि दान गर्न सक्छन्।’

कपडा बैंक हरेक दिन बिहान ८ देखि १० बजे र बेलुकी ५ देखि ७ बजे तथा जाडो मौसममा बेलुकी ४ बजे देखि ६ बजे गरी दैनिक चार घण्टा खुला रहने छ। त्यो समयमा कपडा दान गर्ने र लैजानेको तथ्यांकका लागि एकजना कर्मचारीकोसमेत ब्यवस्था गरिएको छ।

शिवपुरी धाममा १०८ फिट अग्लो शिवलिंग सहित एक दर्जन भगवानका मन्दिर बनेका छन्। सांसद विकास कोष, स्थानीय तह, ब्यवसायीले दानबाटै धामलाई एक पर्यटकीय क्षेत्र बनाउन योगदान गरेका छन्।

‘धार्मिक गतिविधि र पर्यटक आइरहेको धाम परिषदरमा कपडा बैंकले यसको गरिमा बढाइ दिएको छ,’ शिवपुरी धामका व्यवस्थापन समितिका सचिव शिद्धराज पनेरुले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.