डोरी टाँगेर खोला वारपार
![डोरी टाँगेर खोला वारपार](https://annapurnapost.prixacdn.net/media/albums/flod-at-lubu-godawari-khola-dori-cover_20190806022145_6vuqZN5YPP.jpg)
ललितपुर : गतवर्ष असारमा लगातार पानी परेपछि लुभू-लामाटार सडकखण्डमा पर्ने गोदावरी खोलाले एउटा कार बगाएको थियो। कारधनीलाई सुरक्षित बाहिर निकालियो। तर कार निकाल्न सकिएन। महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठका अनुसार डोजरको सहायताले कार बाहिर ल्याउने प्रयास गरिएको थियो।
गत वर्ष जस्तै यस वर्ष पनि समस्या दोहोरियो। असार अन्तिम साता लगातार पानी परेपछि खोला वारपार गर्न सक्ने अवस्था भएन। डोरीको सहायताले बटुवालाई खोला तार्नुपरेको गुनासो श्रेष्ठले गरे। तारन्तार पुल बनाउनुपर्ने आवाज उठाउँदै आए पनि कसैले ध्यान नदिएको उनको आरोप छ। ‘जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘जेठमै बनिसक्नुपथ्र्यो तर अझै बन्ने सुरसार छैन।’ त्यस ठाउँमा बाढी आएपछि गतवर्ष डोजरमा राखेर खोला तारिएको दृष्टान्त उनले सुनाए।
पुल बनाउनुपर्ने ठाउँमा एउटा ह्युमपाइप राखेर त्यसैमाथि सडक बनाइएको छ। यतिबेला सवारी आवागमन एकतर्फी छ। डोरी लगाएर, एकतर्फी सडक खुलाएर लुभू, लामाटार, ढुंङीन, काभ्रेबाट आउने सवारी आउजाउ गरिरहेको बताए। पूर्व जाने सवारी पनि यताबाट चल्ने गर्छन्।
उक्त पुल बनाउने ठेक्का सडक डिभिजन कार्यालय ललितपुरले लगाएको थियो। शान्ति निर्माण सेवाका विनोद महर्जनले पुल बनाउने ठेक्का पारेका थिए। डिभिजन सडक कार्यालय ललितपुरका प्रमुख अमृतमणि रिमालका अनुसार १४ करोड रुपैयाँको लागतमा पुल निर्माणको ठेक्का दिइएको हो। यसै वर्ष पुल बनिसक्नुपर्ने थियो। तर म्याद थप्ने र अर्को वर्षसम्म निर्माण गरिसक्ने भनाइ रिमालको छ। ‘६० प्रतिशत काम भइसकेको छ’, उनले भने, ‘पुल बनाउनु सडक जस्तो सजिलो छैन, झन्झटिलो हुन्छ।’
रिमाल भन्छन्, ‘बर्खामा काम गर्न नमिल्ने समस्या भएकाले मुश्किलले ७÷८ महिना मात्र काम हुन्छ। डिभिजन प्रमुख भएर आएपछि काममा धेरै प्रगति भएको बताउँदै उनले भने, ‘करिब २५ मिटर तलबाट दुवैतिर ३२÷३२ फिटको पिलर बनाइसकेका छौं र फाउन्डेसनको काम सकिएको छ।’
काम थाल्ने बेलामा स्थानीयको विरोधले केही महिना काम हुन नपाएको उनले बताए। पुल बनाउने ठाउँ मन्दिर र दाहसंस्कार गर्ने ठाउँ भएकाले विवाद मिलाउन समय लागेको पनि उनले बताए। सडक एक मिटर माथि उचालेर ढलान गर्न पनि स्थानीयले विरोध गरेको बताए। कन्ट्रयाक्टरलाई निर्माणस्थलमा स्ट्यान्डबाई राखेको र ग्राभेल लगाएर बाटो बनाउँदै आएको उनको भनाइ छ।
डिभिजन प्रमुख रिमालको कुरामा कुनै सत्यता नभएको मेयर श्रेष्ठको दाबी छ। ‘डीजी पुलमा आएर बस्नु पर्यो’, उनले भने, ‘अनि पो कस्तो समस्या छ थाहा हुन्छ।’ प्रहरी राखेर काम गर्ने वातावरण मिलाएको र स्थानीयले विरोध नगरेको उनले बताए। स्थानीयले काममा अवरोध नगरेको तर सडक डिभिजन कार्यालयले ठेकेदारलाई बचाउ गरेको मेयरको आरोप छ। लुभूमा जस्तै ललितपुरमा कम्तीमा ६ वटा पुल बन्न बाँकी रहेका र सबै पुल अर्को वर्षसम्म बनिसक्ने डिभिजन प्रमुख रिमालले दाबी गरे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)