रित्ता कुर्सी, कर्मचारी फुटसलमा मस्त
काठमाडौं : आइतबार नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुग्दा ११ बजिसकेको थियो। रत्नपार्क वितरण केन्द्रमा सेवाग्राहीको भीड लाग्न थालिसकेको थियो। महसुल काउन्टर भरिभराउ थियो। सर्वसाधारणले टोकन प्रणालीबाट व्यवस्थित रूपमा महसुल बुझाइरहेका थिए। सेवाग्राहीलाई बस्ने पर्याप्त कुर्सी राखिएको थियो। दिउँसोसम्मै भीड थियो।
कार्यालयको एउटा कुनामा क्यान्टिन रहेछ। सरकारी पोसाकमा तीन जना कर्मचारी कुनै विषयमा डिलिङ गरिरहेका थिए। हामीले मिडियाबारे कुरा गर्न थालेपछि उनीहरू जर्याकजुरुक उठेर हिँडे। हामी नो-लाइट शाखामा जाँदा पहिला जस्तो छिनछिनमै बत्ति जाने समस्या नरहेको उपभोक्ताको प्रतिक्रिया पायौं। एकजना वृद्ध घरमा विद्युत्को लाइन काटिएको समस्या लिएर भौंतारिइरहेका थिए। एक फन्को कार्यालय घुमेपछि बल्ल गुनासो राख्ने ठाउँमा पुगे। र समस्या राखे। कर्मचारीले उनलाई एउटा फारम भर्न लगाए, अनि वृद्ध फर्किए।
मिटर जल्ने समस्या धेरै
कार्यालयमा मिटर जलेर आउने सेवाग्राही धेरै भेटिए। मिटर जलेको समस्या लिएर आएका गणेश श्रेष्ठले जरिवाना तिरेर पनि मिटर नपाएको गुनासो पोखे। उनले जलेको मिटरबापत् २१ हजार रुपैयाँ तिरिसकेका थिए। ‘बिहानदेखि आएको। यता जान्छु, उता जान्छु कर्मचारी छैन मात्र भन्छन्,’ उनले भने, ‘कसलाई के भन्ने। दुई÷तीन दिनपछि आउ भन्छन्।’ उनले मिटर जलेर ३ दिनदेखि अन्धकारमा बस्नु परेको पीडा सुनाए।
मारमा सेवाग्राही
विद्युत्सम्बन्धी कुनै काम गर्न घरमा कर्मचारी बोलाउनुभयो भने सेवाग्राही आफैंले ती कर्मचारीलाई ल्याउने लैजाने व्यवस्था गर्नुपर्छ। यस्ता गुनासा धेरै सेवाग्राहीले हामीसँग व्यक्त गरे। ‘केही समस्या भए कर्मचारीलाई बोलाउँदा हामीलाई लिन आउनुस् भन्छन्, अनि हामीले नै कार्यालयसम्म पुर्याइदिनुपर्छ,’ मिटर जलेको समस्या लिएर नक्सालबाट आएका अर्का सेवाग्राही शम्भु भुजेलले भने, ‘प्राधिकरणको परिसरभरी गाडी राख्ने ठाउँ पनि छैन तर हामीले उनीहरूलाई ल्याउने लैजाने गर्नुपर्छ।’ शुक्रबारदेखि नै मिटर परिवर्तनको लागि रत्नपार्क कार्यालय धाइरहेका उनी आइतबार पनि काम हुनेमा ढुक्क थिएनन्।
‘शुक्रबार बिहान सवा ८ बजे नारायण चौर नागपोखरीस्थित घरमा मिटर जलेको थियो। त्यही दिनदेखि आइरहेको छु,’ उनले भने, ‘पैसा पनि बुझाइसकें तर मिटर जोड्ने मान्छे जाँदैनन्।’ मिटर जल्ने, सर्ट हुने समस्या पछिल्लो समय विकराल रहेको स्वयं विद्युत्का कर्मचारीहरू नै बताउँछन्।
रित्ता कुर्सी, कर्मचारी फुटसल खेल्दै
प्राधिकरणको वार्षिकोत्सव रहेछ। प्राधिकरणले विभिन्न अतिरिक्त क्रियाकलाप गरिरहेकोले सेवाग्राहीको काम गर्न छाडेर कर्मचारी त्यतातिर व्यस्त रहेछन्। हामी पुग्दा थोरै मात्र कर्मचारी भेटिए। केही फुटसल खेल्न गएका, कोही हेर्न। उता कर्मचारी नभेटेपछि सेवाग्राहीको बिजोग। जनकपुरको मिथिलानगर नगरपालिकाबाट विद्युत् मिटर प्रोग्रामिङ गर्न आएका दुई युवा निकै आक्रोशित मुद्रामा हामीसँग आए। साँझ नै फर्किने गरी हवाईजहाजको टिकट लिइसकेका उनीहरू कर्मचारी नभेटेपछि आक्रोशित बनेका रहेछन्। ‘कति पटक फोन गरिसकेँ, आज काम हुँदैन, भोलि आउनुस् भन्छन्,’ नगरपालिकाका कर्मचारी जितेन्द्रकुमार महतोले भने, ‘आज काम हुँदैन, भोलि आऊ, म फुटसल खेलिरहेको छु भनेर फोन काटे।’
दुई वटा बोरिङबाट तीन गाउँमा सिँचाइ गर्नुपर्ने उनले बताए। ‘गाउँमा खडेरी छ, पानी नभएर खेत रोपिएको छैन, यहाँ बोरिङको मिटर प्रोग्रामिङ गर्न आउँदा कर्मचारी फुटसलमा व्यस्त छन्,’ उनले प्रश्न गरे, ‘गेम त बिदाको दिन या बिहान बेलुका खेले हुँदैन ? ’
कीर्तिपुर अमृतनगरबाट आएकी एक महिला भेटिइन्। कार्यालय प्रमुख थिरकुमार खत्रीले उनलाई आफ्नो कार्यकक्षमा बोलाए। बिग्रिएको कनेक्टर बोकेर आएकी शारदा पाण्डेले पटक पटक कनेक्टर बिग्रिने गरेको समस्या सुनाइन्। ‘मैले त्यो समान कति किन्ने, साह्रै दु :ख दियो, ४ पटक भइसक्यो किनेको, बिग्रेको बिग्य्रै गर्छ,’ उनले भनिन्, ‘प्रत्येक पटक कर्मचारीले भनेकै ठाउँबाट कनेक्टर किन्छु महिना दिन नपुग्दै बिग्रन्छ, फेरि नयाँ किन्न लगाउँछन्। किन्यो फेरि बिग्रन्छ। यो त अति नै भयो।’
विद्युतको कर्मचारीले एउटा कनेक्टरको ४ सयसम्म लिने गरेको उनले बताइन्। पहिला आफूले १ सय ७५ रुपैयाँमा कनेक्टर किनेको उनले कार्यालय प्रमुखसँग गुनासो गरिन्।
कार्यालय परिसरभरी गाडी नै गाडी
विद्युत् प्राधिकरणको प्रधान कार्यालय गाडी नै गाडीले भरिएको थियो। महँगा गाडीले भरिएको प्राधिकरणको दृश्यले विद्युत्का कर्मचारीको गाडी मोह प्रष्ट हुन्छ। प्राधिकरणको केन्द्रीय कार्यालय अगाडिपट्टी नै झन्डै सयको संख्यामा गाडी पार्किङ गरिएका थिए। कार्यालयको पछाडि पनि उत्तिकै संख्यामा गाडी थिए। ‘यहाँका सबै कर्मचारी गाडी चढ्छन् कि क्या हो, गाडी देखेर अचम्भित हुँदै एक सेवाग्राहीले भने, ‘कर्मचारीभन्दा बढी गाडी देखिन्छन्।’
सुधारको प्रयास
रत्नपार्कस्थित वितरण केन्द्र प्रमुख थिरकुमार खत्रीले पुराना मिटर भएका कारण बिग्रिने गरेको बताए। उनले मिटर अभावमा ग्राहकलाई पुर्याउन नसकिएको बताए। उनले पहिला जस्तो लोडसेडिङको समस्या नरहेको बताउँदै मिटर अभाव रहेको स्वीकार गरे। ‘स्टोरमा छैन, पुरानै दिएर भए पनि काम चलाइरहेका छौं,’ उनले भने। उनले मागअनुसार मिटर पुर्याउन नसकिएको बताए। उनले रत्नपार्क देशभरीकै विद्युत बेच्ने पहिलो कार्यालय भएको बताए।
उनले गुनासोका लागि कार्यालयबाहिर आफू लगायतका कर्मचारीको फोन नम्बर नै राखिदिएका छन्। ‘ग्राहकले मलाई सीधै फोन गर्न सक्नु हुन्छ, मैले सार्वजनिक रूपमा मेरो नम्बर राखेको छु,’ उनले भने, ‘समस्या परेमा मलाई डाइरेक्ट फोन गर्नुहोला, मबाट हुने समस्या समाधान गर्छु।’
उनले कर्मचारीले मिटर छैन भनेर अल्झाइराखेका एक ग्राहकलाई हाम्रै अगाडि पुरानो मिटर दिए। ‘तपाईंहरू भएर दिएको होइन नि, केही समयका लागि भए पनि अन्धकारमा नबस्नुहोस् भनेर राहतका लागि दिएको हुँ,’ उनले प्रष्टीकरण दिए, ‘सेवाग्राहीलाई दु :ख दिने नियत हाम्रो छैन। कुनै कर्मचारीले त्यस्तो गरे तत्काल कारवाही हुन्छ। ढुक्क हुनुस्।’
कार्यालय प्रमुख खत्रीले विद्युत्कै कर्मचारीले दु :ख दिएकी शारदा पाण्डेको समस्या कीर्तिपुरका शाखा प्रमुखलाई अवगत गराए। ‘त्यहाँ गएर हाकिमलाई भेट्नुहोला, तपाईंलाई दु :ख दिने कर्मचारीलाई उनले ठीक पार्छन्,’ कीर्तिपुर शाखा प्रमुखको फोन नम्बर र नाम लेखेर एउटा कागज दिँदै खत्रीले भने, ‘अब तपाईंको समस्या समाधान हुन्छ।’
छिट्टै स्मार्ट फेज ल्याउँदै गरेको उनले जानकारी दिए। उनले रत्नपार्क र महाराजगन्जमा स्मार्ट सेवा लागू हुने बताए। ‘स्मार्टमा गएपछि सबै मिटरको रिडिङ यहीँबाट हुन्छ,’ उनले भने।
ठूलो परिमाणमा नभए पनि फाटफुट मिटर जल्ने समस्या आइरहने गरेको प्राधिकरणका वितरण विभाग प्रमुख हरेराज न्यौपानेले बताए। उनका अनुसार ४०÷५० वर्ष पुराना मिटर भएकाले जल्ने गरेको छ। नयाँ मिटर कहिलेकाहीँ प्राविधिक कारणले जल्छन्। ग्राहकले बढी लोड लिएको अवस्थामा पनि मिटर जल्ने गरेको उनको भनाइ छ। ‘दुई÷चार केस आइरहन्छन्, यत्रो ठूलो परिमाणमा आएको जस्तो मलाई लाग्दैन,’ उनले भने।
प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले कति जलेका छन् भन्ने यथार्थ विवरण नरहेको बताइन्। ‘जल्यो भने हामी परिवर्तन गरिदिन्छौं,’ उनले भनिन्, ‘कति जलेका छन् भन्ने तथ्यांक चाहीँ हामीसँग छैन।’
किन जल्छन् मिटर
प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्ले प्रमुख रूपमा तीन कारणले मिटर जल्ने गरेको बताउँछन्। प्राविधिक कारण जसमा भोल्टेज घटबढ हुँदा मिटर जल्छ। अर्को, पुराना मिटर धेरै भएकाले ति बिग्रिएर आगो लाग्छन्। साथै ग्राहक स्वयंले पनि नियतवश मिटर जलाउने गरेका छन्।
गुणस्तरहीन मिटर
पछिल्लो दिन विद्युत प्राधिकरणले गुणस्तर कमजोर भएको चाइनिज मिटर प्रयोग गरिरहेको छ। अहिले ९० प्रतिशत विद्युत् मिटर चाइनिज प्रयोग हुने गरेका छन्। नेपालमा ल्याएका चाइनिज मिटरको गुणस्तर कमजोर रहेको विद्युत् प्राधिकरण स्रोत बताउँछ। गुणस्तर कमजोर भएका मिटरको प्रयोगले जल्ने, आगलागी हुने समस्या देखिएको छ। कर्मचारी स्वयंको मिलेमतोमा मिटर जलाइएका उदाहरण सुनिने गरेका छन्। ठुल्ठूला कम्पनी, व्यापारिक प्रतिष्ठान मिटर जलाउन कर्मचारीले सिकाइदिने गरेका छन्।