कश्मीरबारे बोल्न हतार नगरौं

कश्मीरबारे बोल्न हतार नगरौं

काठमाडौं : सुन्दर र स्वतन्त्र राज्यको पहिचानमा रमाएका कश्मीरीको छुट्टै पहिचान सोमबारदेखि सकिएको छ । कश्मीरलाई स्वतन्त्र राष्ट्र बनाउने सपना बाँडेर राजनीति गर्नेको दिन पनि सकिएको छ । तर त्यहाँका जनताको भविष्य झन् अन्योलग्रस्त बन्न पुगेको छ ।

जम्मु कश्मीर र लद्दाखमा अब गभर्नर रहँदैनन् । लेफ्टिनेन्ट गभर्नरबाट प्रशासनिक काम अघि बढ्नेछ । आफ्नो राज्यको झन्डा गुमाएका कश्मीरी यतिबेला सडकमा निस्कन सकेका छैनन् । उनीहरूका पक्षमा बोलिदिने विश्व समुदायको स्वर पनि मत्थर छ । पाकिस्तानलाई ‘अल वेदर फ्रेन्ड’ भन्दै आएको चीनले आफूसँग जोडिएको लद्दाखबारे मात्र बोलेको छ । उदाउँदो शक्ति र विश्व बजारको हिस्सा बोकेको भारतीय यो कदमबारे अन्य शक्ति मुलुक पनि मौन छन् ।

भारतले कश्मीरको झन्डा झिकेर तिरंगा फहराइसकेको छ । त्यहाँ दिल्लीको प्रत्यक्ष शासन लागू भइसकेको छ । यसअघि त्यहाँको संविधान केन्द्रमा निहित थिएन । केन्द्रले पारित गरेका विषय (सुरक्षा, सञ्चार र कूटनीतिबाहेक) त्यहाँको संसदले पुनः निर्णय लिनुपर्ने प्रावधान थियो । छुट्टै संविधानले राज्य चल्दै आएकाले पनि स्वतन्त्र हुने आस कश्मीरीमा थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बलियो सरकारले हतारमा लिएको यो निर्णयले दक्षिण एसियाली मुलुकलाई राष्ट्रको नेतृत्वले लिने रणनीति सिकाइदिएको छ ।

मोदीले भारतीय जनता पार्टीको चुनावी घोषणापत्रमा लेखेको प्रतिबद्धता पूरा गरिदिएका छन् । कश्मीरका जनतालाई आहत भए पनि मोदीको निर्णय क्षमताको प्रशंसा भएको छ ।

प्रश्न उब्जिएको छ भारतले कश्मीरका विषयमा किन यति हतारमा निर्णय लियो ? संसद्को बजेट अधिवेशन एक दिन बढाएर फटाफट कश्मीरसम्बन्धी निर्णय लिएको देखिन्छ । संसद्मा पारित हुँदै गर्दा राष्ट्रपति रामनाथ कोविन्दाबाट छाप लगाउने काम हुनुले मोदी सरकारले कश्मीरबारे कति हतारमा निर्णय लियो भन्ने प्रस्ट हुन्छ ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले जम्मु कश्मीरको घटनाले विश्व राजनीति र सम्बन्धको गठजोडमा तरंग ल्याएको बताए । ‘भारतको आत्मविश्वास र निर्णय गर्ने क्षमता देखिएको छ । पाकिस्तानको मौनता रहस्यमय छ,’ पाण्डेले भने । उनका अनुसार यस क्षेत्रमा देखिने राजनीतिक जोडघटाउ सहज छैन । कश्मीरको विषय आन्तरिक भए पनि त्यसको तरंग यस क्षेत्रमा परिरहने देखिन्छ । हुन पनि कश्मीरी तीन चिरा परेर तीन देशमा विलीन छन् । अधिक भाग भारतमा छ । भारतले यसलाई दुई चिरा पारेको छ । लद्दाखमा बौद्ध धर्मालम्बी धेरै छन् । जम्मु हिन्दु बहुल छ भने कश्मीरमा मुस्लिम धेरै छन् । ९० प्रतिशत मुस्लिम रहेको जम्मु कश्मीरलाई केन्द्र शासित बनाउन नयाँदिल्लीले अन्तिम उपाय लगाएको देखिन्छ ।

छिमेकी देशले आफ्नो अखण्डता र स्वाधीनतालाई बलियो बनाउन लिइरहेका नीति र चालिरहेका पाइलाबाट नेपालले अखण्डता, स्वाधीनता र स्वाभिमानका लागि बलियो गरी उभिनुपर्छ भन्ने औचित्य स्थापित भइरहेको छ ।

पूर्वरक्षामन्त्री भीम रावलले ट्विटमा लेखेका छन्, ‘परामुखापेक्षी छटपटाउने हुन् कि ? ’ उनले पनि भारतले आफ्नो राष्ट्रलाई बलियो बनाउन र विदेशीको चंगुलमा पर्न नदिन मात्र होइन नेतृत्वको मुलुकप्रतिको भावलाई कसरी अघि बढाएका छन् सिक्न सुझाएको बताएका छन् ।

प्राध्यापक श्रीधर के खत्री भने त्यहाँको जनताको प्रतिक्रियाबाट मात्र यस क्षेत्रको शान्तिको मूल्यांकन गर्न सकिने बताए । उनले मोदीको यो निर्णय निकै बोल्ड भएको बताए । उनले भने, ‘भारतको आन्तरिक मामिला भएकाले यसको प्रभाव दक्षिण एसियाली क्षेत्रमा पार्छ । हामी भने यसमा पर्ख र हेरको नीतिमा रहनुपर्छ ।’

कूटनीतिक जानकार मिलन तुलाधरले सरकारले अहिले नै यो वा त्यो भनिहालेर वक्तव्यमा दिन नहुने बताए । उनले भने, ‘यो भारतको आन्तरिक मामिला हो । यसले दक्षिण एसियाको राजनीतिसमेत जोडिएको हुनाले अहिले हतार गर्न हुँदैन ।’

पूर्वराजदूत डा. दिनेश भट्टराईले पनि यस विषयमा सरकारले अहिले बोल्न नहुने बताए । उनले भने, ‘जसरी तिब्बतको विषयमा हामी मौन छौं । कश्मीरको मामिलामा पनि मौन बस्नुपर्छ ।’ जम्मुकश्मीर भारतको आन्तरिक विषय भएकाले नजिकबाट नियाल्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘भारतीय नेतृत्वले लिएको निर्णयले मुलुकप्रति उनीहरुको इमानदारी झल्किन्छ ।’ यसबाट हाम्रो नेतृत्वले सिक्न जरुरी रहेको भट्टराईले बताए ।

जम्मु कश्मीरलाई डा. केआई सिंहले मात्र भारतको अभिन्न अंग भनेका छन् । त्यसपछि नेपालका अन्य प्रधानमन्त्रीले कश्मीर मामिलामा केही बोलेको पाइँदैन । त्यसैले अहिले पनि नेपालले सोचेर मात्र आफ्नो धारणा राख्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.