तरकारीमा बिचौलिया रजगज : बारीमा किलोको ६०, बजारमा २४०

तरकारीमा बिचौलिया रजगज :  बारीमा किलोको ६०, बजारमा २४०

रूपन्देही : गैडहवा–७ छत्रपुरका राम उजागिर मल्लाहको बारीमै साउन पहिलो सातासम्म बोडी थियो। उनले डेढ कट्ठामा फलेको बोडी थोक व्यापारीलाई प्रतिकिलो ५० देखि ६० रुपैयाँमा बेचे। त्यसमा प्रतिक्विन्टल सय रुपैयाँ ढुवानी खर्च उनले तिर्नुपर्‍यो।

त्यही बोडी बुटवल बजारमा भने एक पाउ (२५० ग्राम)कै ६० रुपैयाँमा बिक्री भयो। उपभोक्ताले प्रतिकिलो २ सय ४० रुपैयाँमा खरिद गरेका थिए। गैडहवा र बुटवलको दूरी २० किलोमिटर मात्रै छ। बारीबाट उठाइने तरकारी भण्डारण गर्नु पनि पर्दैन। बिचौलियाले अचाक्ली नाफा खाँदा किसान र उपभोक्ता मारमा परेका छन्।

बुटवलको कृषि उपज तथा थोक बजार केन्द्रका अनुसार साउन २ गते बोडीको थोक मूल्य प्रतिकिलो १ सय ३५ रुपैयाँ थियो। किसानको बारीबाट थोक बजारमा जाँदा दोब्बरभन्दा बढी, त्यहाँबाट उपभोक्ताको भान्छामा पुग्दा पनि त्यस्तै अवस्था छ। भारतबाट आएको तरकारीमा विषादी परीक्षण, बाढीपहिरोलगायत बहानामा तरकारीको मूल्य केही दिन अकासिएको थियो। केही घटे पनि उपभोक्ताले सूपथ मूल्यमा पाउन सकेका छैनन्।

गैडहवा–७ का राधेश्याम केवटले एक बिघामा तरकारी खेती गरेका छन्। लौका, काक्रो, भिन्डी, भन्टालगायत तरकारी लगाएका छन्। उनले लौका ३२ रुपैयाँ किलोमा थोक व्यापारीलाई बिक्री गरेका छन्। बुटवलको बजारमा ८० रुपैयाँसम्म बिक्री भयो। आइतबार ६० रुपैयाँमा झरेको छ। ‘भाउमा किसान मरेका छन्’, उनले भने, ‘भाउ फिक्स हुन्न। हामीले तरकारी लगेपछि व्यापारीले एकता बनाउँछन्। आफूअनुकूल भाउ तोक्छन्।’

व्यापारीले किसानसँग उधारोमै कारोबार गर्छन्। कहिलेकाहीं त तोकिएको भाउ नपाइने केवटको गुनासो छ। ‘थोक व्यापारीले हाम्रो तरकारी किलोको ५० रुपैयाँमा किन्छन्। पछि भारतबाट माल आयो भन्दै घटाएर हामीलाई ३० रुपैयाँ दिन्छन्’, उनले भने, ‘भाउ तोकिसकेपछि पनि हामीलाई घटाएर दिन्छ।’ भारतबाट तरकारी नआएर स्थानीय उत्पादन कम भयो भने व्यापारीले आफूखुसी भाउ बढाउने गरेको उनले बताए। ‘अन्तबाट तरकारी आएन भने हामीसँग ५० मा किनेर उनीहरूले डेढ सयमा पनि बेच्छन्’, उनले भने, ‘सामान आयो भने हाम्रो भाउ खसालेर दिन्छन्।’ व्यापारीले किसानलाई धम्क्याएर तरकारी सस्तोमै उठाउने गरेको गुनासो उनको छ।

गैडहवाकै हरिहर तरकारी कृषक समूहका अध्यक्ष धर्मराज कोहार भने आफूले उब्जाएको तरकारी आफैं उपभोक्तासम्म पुर्‍याउँछन्। ‘भिन्डी र घिरौला आफैं बेच्दा ६० रुपैयाँमा दिएको थिएँ’, उनले भने, ‘थोक व्यापारीले ३० रुपैयाँमा मागेका थिए।’ कोहारले भिन्डी, घिरौला, भन्टा, लौकालगायत तरकारीको खेती गरेका छन्।

गैडहवाका पिप्रहवा, बर्गदैया, बलुहवा र इचावल तरकारी बढी हुने क्षेत्र हो। यो वडाका ७० प्रतिशत स्थानीयले तरकारी खेती गर्ने गरेको वडा सदस्य जगन्नाथ केवटले बताए। ‘परिवारका सबै सदस्य बिहानदेखि दिनभर तरकारी बारीमा हुन्छन्। दुःख गर्छन्’, उनले भने, ‘कुनै बेला त किसानले राम्रै भाउ पाउँछन्। कहिले त जताततै उत्पादन बढी भएर भाउ पाउँदैनन्। त्यस्तो अवस्थालाई एउटा यहाँ चिस्यान केन्द्र चाहिएको छ। किसानले त्यही माग गरेका छन्।’

थोक व्यापारी भने किसानसँग बढी नाफा नलिएको दाबी गर्छन्। बुटवलको कृषिउपज तथा थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीले किसानसँग किनेभन्दा ८ प्रतिशत मुनाफा राखेर बेच्ने गरेको बताए। ‘किसानसँग थोक व्यापारीले लिँदा ५ देखि ८ रुपैयाँ नाफा लिन्छौं। त्यसमा ढुवानी र मजदुर खर्च जोड्छौं’, उनले भने, ‘समग्रमा ८ प्रतिशत मुनाफा राखेर थोक व्यापारीले कारोबार गर्ने गर्छन्।’

थोक व्यापारीभन्दा पनि खुद्रा व्यापारीले बढी नाफा राखेर बेच्ने गरेको दाबी उनले गरे। थोक र किराना व्यसायको नाफा अन्तर १५ प्रतिशतसम्म हुनु जायज मानिने उनको भनाइ छ। किराना व्यापारीले २० देखि ५० रुपैयाँ बढी नाफा लिने गरेका छन्। बजार अनुगमन गर्ने कुनै पनि निकाय सक्रिय छैनन्। त्यसको मार उत्पादक र उपभोक्तामा परेको छ। बजार अनुगमन भएको छैन। त्यही मौकामा बिचौलिया र व्यापारीले किसान र उपभोक्ताको ढाड सेक्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.