नवलपरासीमा २७ लाख मूल्य बढीको अवैध सामान बरामद
परासी : नवलपरासीमा २७ लाख बढीका अवैध सामान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले बर्दघाट नगरपालिका–११ गैडहा भन्ने भित्री सडकको छेउमा राखेको अवस्थामा उक्त सामान बरामद भएको जनाएको छ ।
बरामद भएको सामानको मूल्य २७ लाख १९ हजार ९८४ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए । बरामद सामानमा ४७ वटा कार्टुनमा राखिएका २३ हजार ५ सय पिस मोबाइल टेम्पर ग्लास र ३२ कार्टुनमा राखिएका ९८४ प्याकेट हुक्कामा प्रयोग गरिने विभिन्न फ्लेवर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी)रामबहादुर केसीले कोही पनि नबस्ने खाली घरबाट सामान बरामद भएको बताए। पछिल्लो समय नवलपरासीका विभिन्न स्थानबाट प्रहरीले अवैध सामान पक्राउ गर्ने कार्यलाई भने तिव्रता दिएको छ।
प्रतिक्रिया दिनुहोस !